मलाई ट्वाइलेट जान साथी चाहिन्छ, तपाईंलाई नि ?
चितवन । विषय उठानको निर्णय गर्नुअघि अलमलमा पर्छु । यस्तो सानो विषयमा पनि के कुरा गरिरहेको होला भन्ने टिप्पणी धेरैजसो आउँछ । अझ आफ्नै भोगाइ बाँड्दा ‘महिलावादी’को ट्याग भिर्नुपर्ने जोखिम पनि छ । आफ्नो भोगाइ र परिवर्तन गर्न सकिने विषयमा ‘वाद’को ट्यागलाई इग्नोर गरेर आफू र आफू जस्ता समुदायले भोग्दै आएका विषयमा बहस चलाउनु आवश्यक पनि छ ।
वादका चर्चा छोडेर मूल विषयमै लागौं । करिब ३ महिना पहिला व्यक्तिगत कामले काठमाडौं थिएँ । त्यो बेला मेरो महिनावारी भयो । महिनावारीमा रगत बग्ने चक्र नसकिँदै काम सकेर चितवन फर्किनुपर्ने थियो । गाडी लाग्ने भएकाले गाडीको यात्रा मेरो लागि हरेक पटक कष्टदायी नै हुन्छ । त्यसमाथि महिनावारीको दोस्रो दिन । दुई घण्टा बढी प्याड टिक्दैन ।
सार्वजनिक बसको यात्रा गरेर चार घण्टाको बाटो गाडीले यात्रु कुर्ने समय, ट्राफिक, खाजा समय हिसाब गर्दा चितवन–काठमाडौं यात्रा करिब ६ देखि ८ घण्टासम्मको हुन्छ । करिब ५ बजे कलंकीमा चितवन आउने बस चढिसकेको थिएँ । बसले अझै एक घण्टा यात्रु कुर्ने अवस्था बुझेपछि महिनावारी प्याड फेर्न कलंकी चोेकमा रहेको सार्वजनिक शौचालय गएँ ।
भित्र छिर्नुअघि नै बान्ता आउला जस्तो ट्वाइलेटको गन्धले हुरुक्कै बनायो । सलको एक छेउ मुखमा कोचेर हातमा पोको पारेर लगेको प्याड फेरें । प्याड त फेरियो, तर फाल्ने ठाउँ छैन । न पानी नै छ । ब्यागमा एउटा प्लाष्टिक थियो । त्यसैमा प्याड पोको पारें । बाहिर निस्किएँ । महिनावारीमा प्रयोग गरेको प्याड प्लाष्टिकमा पोको पारे पनि फाल्ने ठाउँ भेटिएन । पसलका अगाडि राखिएका कार्टुनमा लगेर फ्यात्त फाल्ने आँट आएन । महिनावारी रगत भएको प्याड ह्याण्ड ब्यागमा नै बोकेर बसमा फर्किएँ । अन्ततः घरै आएरमात्रै फाल्ने ठाउँ पाएँ मैले ।
मेरो सार्वजनिक शौचालय प्रयोग गर्दाको दिक्कलाग्दो अनुभूतिलाई यथार्थमा देखाउने एउटा अध्ययन काठमाडौं उपत्यकामा दुई वर्षअघि भएको रहेछ । उपत्यकाका चार शहर काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमि नगरका सार्वजनिक शौचालयको एउटा सर्भे भएको रहेछ ।
देशको संघीय राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका चार स्थानीय तहका ११५ सार्वजनिक शौचालय समेटिएको अध्ययनको मूल पक्ष- नेपालका महिलामैत्री शौचालय, काठमाडौं उपत्यकाका चार नगरपालिकाको अध्ययन थियो ।
यो अध्ययनपछि प्राप्त नतिजामा सार्वजनिक शौचालयमा भित्रबाट लगाउने चुकुलसमेत नभएको प्रतिवेदनमा उल्लेख छ । त्यतिमात्रै होइन, महिलाका लागि चाहिने महिनावारी प्याड (शौचालय आसपास किन्नसमेत नपाइने) उपलब्ध नभएको, पानी नभएको, फोहोर व्यवस्थापनको कमजोर अवस्था रहेको अध्ययनमा उल्लेख छ । अध्ययन प्रतिवेदनअनुसार सबैजसो शौचालयको अवस्था अति नाजुक छ ।
कहाँ राख्ने झोला ?
हाम्रा सार्वजनिक शौचालयमा प्याड फाल्नेमात्रै समस्या होइन, यात्रा गर्ने अवस्थामा महिलाहरुले भोग्नुपर्ने अर्को पनि अप्ठेरो छ ।
सामान्यतया सार्वजनिक यात्राका क्रममा पुरुषहरु शौचालय प्रयोगका हकमा आत्मविश्वासी देखिन्छन् । अझ सार्वजनिक साधनको यात्रामा शौचालय जान पुरुषलाई खासै अप्ठेरो देखिँदैन, तर महिलाहरु प्रायः एउटा साथी लिएर जान रुचाउँछन् । महिलाहरु ट्वाइलेट जाने बेला किन साथी खोज्छन् ? कहिल्यै यो विषयलाई मिहिन रुपमा याद गर्नुभएको छ ?
अझ पुरुषहरुलाई कमजोर करार गर्नुपर्यो भने सार्वजनिक रुपमा भन्ने गर्छौं- कस्तो ट्वाइलेट जान पनि साथी खोज्ने केटी मान्छे जस्तो ! हो महिला साथी नभइ ट्वाइलेट जान सक्दैनन्, तर किन ? कहिल्यै यो तरिकाले हामी सोच्ने गर्छौं त !
हुन त ‘जाबो’ ट्वाइलेटको बारेमा पनि को सोचिबस्छ ? अझ नेतृत्व तहमा बस्नेलाई, देश बनाउँछु भन्नेलाई ट्वाइलेटबारे सोचेर बस्ने कहाँ फुर्सद, तर वर्षौंदेखि नेपाली महिलाले सार्वजनिक यात्रामा साथी लिएर शौचालय जाने भएकाले महिलाका हकमा ट्वाइलेट पनि एक्लै जान सक्दैनन् भन्ने टिप्पणी किन सुनिँदै आएको होला ?
महिलाहरु साथीविना हिँड्न सक्दैनन्, कमजोर आत्मविश्वासका हुन्छन् भन्ने दृष्टिकोणबाट हुने आलोचना बाल्यकालदेखि सुनिँदै आएको हो । यो विषयमा महिला हुनुको भोगाइ थाहा पाउनुस् है त ! सार्वजनिक यातायातमा होस् वा व्यक्तिगत यातायातको साधनमा, जहिल्यै यात्रा गर्दा मलाई सार्वजनिक शौचालय जाने बेला झोला राख्ने ठाउँले अलमल पार्छ, अनि खोज्नुपर्छ साथी । आफू ट्वाइलेट बसुञ्जेल बोकाउनुपर्छ उसलाई झोला ।
अझ हातमा झोला पनि छैन र साथी पनि साथमा छैनन् । एक्लै सार्वजनिक शौचालय जानुपर्ने भो भने महिला दिदीबहिनीहरु भन्नुस् त, तपाईंहरु कहाँ राख्नुहुन्छ हातको मोबाइल ? महिलाको शरीरको प्रकृतिले नै पुरुष जस्तो उठेर शौच गर्न सम्भव छैन । हिजोआज हामी पाइन्ट त लगाउँछौं, तर फोन गोजीमा राखेर दिसापिसाब गर्न मिल्दैन, खस्छ । मसँग दुइटा उपाय हुन्छ । एउटा- मुखमा च्याप्ने, अर्को- छातीमा राख्ने ! मोबाइल असाध्य फोहोर हुनेमध्ये एउटा डिभाइस हो, त्यसैले मुखमा च्याप्न घीन लाग्छ । म अधिकांश समय दोस्रो उपाय अपनाउँछु ।
सुन्दा हाँसो लाग्दो पनि होला, तर सार्वजनिक शौचालय जानुपर्दा आफ्नै सामान व्यवस्थापनको तनाव भोग्नुपर्ने महिलाको मानसिक अवस्था कति दिक्कलाग्दो होला ? अनुमान गरौं त !
यसको समाधान छैन त ?
सार्वजनिक शौचालय यस्तै त हो, हामीलाई यस्तै पनि लाग्न सक्छ, तर सानो र कम खर्चमा व्यवस्थापन गर्न सकिने विषय हो यो । नेपालभित्रै केही स्थानमा अभ्यास पनि छ । जस्तो त्रिभुवन विमानस्थल, परराष्ट्र विभागलगायत केही ठाउँको शौचालयमा यी विषय सम्बोधन भएका छन् । बाहिर बस्ने वा जानेहरुलाई त यो छलफलको विषय नै लाग्दैन । जहाँ विकास प्रक्रियामै यस्ता साना लाग्ने विषय समेटिन्छन्, त्यो छलफलमा ल्याउनुपर्ने कुरै भएन ।
नेपालमा महिला पुरुष सराबरी मोबाइल बोक्न थालेको धेरै भएको छैन । तर, आफ्नो सामान राखेर झोला बोक्ने त पुरानै चलन हो । यसको व्यवस्थापनको लागि महिला शौचालयमा (आवश्यक भए पुरुषमा पनि) हलुका झोला झुण्ड्याउन मिल्ने हुक हालिदिन सकिन्छ । नयाँ वा भएकै शौचालय व्यवस्थापनको लागि पन ठूलो खर्चको विषय होइन ।
शौचालयमा हामीले बाथरुममा साबुन राख्न प्रयोग गर्ने जस्तो मोबाइल अटाउने एउटा सानो पाता ठोकिदिन सकिन्छ । ट्वाइलेटमा पसेपछि त्यही मोबाइल राखेर महिलाहरु दिसापिसाब गर्न सक्छन् । त्यसपछि तपाईंले भन्ने गरेका झोला कुरुवा साथी लिएर महिलाले शौचालय जानै पर्दैन । अर्को महिनावारीको प्याड व्यवस्थापन गर्ने र पानीको व्यवस्था त आधारभूत विषय हुन् ।
सन् २०२२ मा नेपालमा गरिएको अध्ययनमा जम्मा २५ प्रतिशत शौचालयमात्रै बत्ती, पानी र महिनावारी सामग्री उपलब्धता र व्यवस्थापनको हिसाबले सन्तोषजनक पाइएको थियो ।
अव्यवस्थित शौचालय महिलाको सार्वजनिक टिप्पणीसँग पनि जोडिँदै आउने गरेको छ । हामीलाई पनि फरक चेतबाट नहेरेकाले होला सामान्य झैं लाग्छ, तर यो विषय महिलाको होइन, विकासको चेतसँग छुटेको विषय हो । विकास भनेको पूर्वाधारसँगै चेतना पनि हो । शौचालय व्यवस्थापन विकासमात्रै होइन, चेतनाको अभिन्न अंग हो ।
जसरी मानिसले सभ्यताको विकासक्रमसँगै खुला ठाउँ छोडेर तोकिएको ठाउँ हुँदै व्यवस्थित स्थानमा दिसापिसाब गर्न थाल्यौं, यसरी यसको व्यवस्थापन पनि चेतनासँग जोडिएको छ । समाजमा महिला, पुरुष, अन्य लैंगिक समूह तथा विशेष शारीरिक अवस्थाका मानिस पनि छन् । उनीहरुप्रति हामी कस्तो दृष्टिकोण राख्छौं, उनीहरुलाई हामी व्यक्ति, समाज, राज्यले कसरी मूल प्रवाहीकरण गरिरहेको छ भन्ने प्रस्ट देखाउने विषय सार्वजनिक शौचालय हो ।