के गृहस्थ मानिससँग ऋषि मन हुनसक्छ ?
सबै मानिससँग मन त हुन्छ नै । मानिस फरक भए जस्तै उनको मनको अवस्था पनि फरक फरक हुने गर्छ । उमेरअनुसार मनको अवस्था पनि फरक हुन्छ नै । त्यसैगरी मानिसको जीवनशैलीअनुसार मन पनि बदलिने भइ नै हाल्यो ।
के गृहस्थ मानिससँग ऋषि मन हुनसक्छ ? यसको उत्तर खोज्न सर्वप्रथम ऋषि मन अर्थात भिक्षु मन के हो भन्नेबारेमा खोतल्नुपर्छ ?
गीताको कर्मयोग खण्डमा श्रीकृष्णले अर्जुनलाई मन र यसको स्वभावका बारेमा सविस्तार बताएका छन् । यसमा शरीर, मन, बुद्धि र आत्माको स्वभावका बारेमा छ । इन्द्रियहरूलाई मनले नै चलाउँछ । मन नै सम्पूर्ण इन्द्रियका क्रियाकलापको केन्द्रविन्दु हो । यही मनलाई बुद्धिले नियन्त्रण गर्नसक्छ । यही गीताको १४औं अध्यायमा प्रकृतिका तीन गुण सत, रजो र तमो गुण जोसँग मानव जोडिएकै हुन्छ, तर कुन गुण आफूमा लिने भन्ने विषय स्वयं व्यक्तिको प्रयासमा भरपर्छ भनेर पुनः मनलाई नै यसमा जोडिएको छ । जो सतगुण हासिल गर्न लाग्छ, उक्त व्यक्ति असल हुन्छ भनिएको छ । यस्ता व्यक्तिमा सांसारिक विषयमा आशक्ति अनाशक्ति कम हुन्छ । सायद यही सत गुण भएको मन नै ऋषि मन अर्थात भिक्षु मन हो भन्न सकिएला ।
बुद्धले पनि माइन्डफूल अर्थात सचेत अवस्थाको बारेमा बताउनु भएको छ । मानिस भएपछि सुखदुःख हुन्छन् नै । दुःख छ, दुःखको कारण छ र सोको समाधान पनि छ भन्ने आशय बुद्धको छ । बुद्धका अनुसार यी सबैको निराकरण मानिसले नै गर्ने हो । यस धारणाबमोजिम पनि मानिसले सकारात्मक सोच लिएर आफ्ना कर्म अगाडि बढाउन सक्छ, असल बन्न सक्छ । बुद्धले त गृहस्थ जीवनबाट पनि बुद्ध मार्ग अवलम्बन गर्न सकिने बताउनु भएको छ ।
पूर्वीय दर्शनमा आधारित भइ लेखिएका धेरै पुस्तकमा ऋषि र ऋषि मनका बारेमा उल्लेख गरिएको पाइन्छ । महाभारतमा यस्त थुप्रै पात्र छन् । पश्चिमा मुलुकहरूमा मनोविज्ञान र मानवीय स्वभावका बारेमा लेखिएका पुस्तकहरूमा यस्ता मानवीय स्वभावका बारेमा चर्चा गरिएको पाइन्छ । पश्चिमा समाजमा धार्मिक दस्तावेजमा पनि मानवीय अझ अहिले आएर मोटिभेसनल पुस्तक एवं वक्ताहरूले यसमा धेरै जोड दिएको पाइन्छ ।
व्यक्तिले ऋषि मन बनाउन सक्ने रहेछ । आखिर यो कसरी सम्भव छ त ?
यस्तो मन हुन वा बनाउन घरबार त्यागेर आश्रममै बस्नुपर्ने हो वा घर गृहस्थमा रहेर पनि बनाउन सकिन्छ ? गेरूवस्त्र लगाएरमात्र ऋषि मन भएको बनिने हो कि साधारण मानिस भएर पनि ऋषि मन बनाउन सकिन्छ ? सांसारिक भएर पनि यस्तो मन बनाउन सकिन्छ कि सकिँदैन ? कि हिन्दू दर्शनले वर्गीकरण गरेको कलियुगमा यस्तो मन बनाउने कार्य सम्भव नै छैन त ?
सँगै यो पनि महत्वपूर्ण छ कि ऋषि मन अर्थात भिक्षु मन बाहिरी आवरणको आधारमा हेर्ने हो कि भित्रैबाट आउनुपर्ने हो ? साथै यसको मापन कसरी गर्ने होला ? शास्त्र एवं विज्ञले मानिसको मन बदलिन तीन वटा मार्ग सुझाएका छन ।
ऋषि मनले अहिले अगाडि देखिएका विषयमात्र नभएर अलि परको विषयसमेत हेर्न घचघच्याउँछ । अहिलेका खराब र असलका बारेमा सोचेर निर्णय गर्नुमात्र भन्दो रहेनछ । यसका परिणामका बारेमा पनि सोच्नुपर्छ भन्छ ।
पहिलो- अध्ययन गरेर नै आफूलाई बदल्ने । सोच्ने तरिका बदल्ने । जति धेरै मात्रामा अध्ययन गर्दै गयो संसार बुझ्ने र व्याख्या गर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ । हिजो सही भनिएको विषयमा संसय पैदा हुन जान्छ । यसरी व्यक्तिले आफैंलाई परिमार्जन गर्दै जाने गर्छ । यो भनेको मनको अवस्था बदलिने नै हो ।
दोस्रो- ध्यान र आत्म चिन्तनमा लाग्ने । यस विधिबाट शुरूमा आफैंलाई चिन्ने अनि विस्तारै बदलिने । बुद्धले यी दुवै मार्ग अवलम्बन गरे । अझ दोस्रो मार्ग बढी प्रयोग गरे ।
तेस्रो- गुरू थापेर उनको आदेशबमोजिमका कार्यहरू गर्दै अगाडि बढ्ने अनि बदलिने ।
माथिका पहिलो र दोस्रो मार्गमा हिँड्न व्यक्ति अन्तरआत्माबाट नै तयार हुनुपर्छ । अर्थात परिवर्तन हुन आफैंभित्रबाट तयार हुनुपर्छ । तेस्रो मार्ग अवलम्बन गर्न बाहिरी प्रयास आवश्यक हुन्छ ।
यस आलेखमा अध्ययन गरेर मानिसले आफूलाई बदल्न सक्छ भन्ने विषय उठाउन खोजिएको छ । यसका लागि व्यक्तिले अध्ययन गर्नुपर्छ । व्यक्तिले आफूलाई अध्ययनमा पूर्णतः समर्पण गर्नुपर्छ । मन परिवर्तन गर्न सहयोगी हुने पुस्तक अध्ययन गर्नुपर्छ, जुन पायो त्यही पुस्तक पढेरमात्र पुग्दैन ।
व्यक्ति स्वयंलाई बदल्ने कार्यमा सहयोगी हुने धेरै पुस्तक बजारमा उपलब्ध हुन सक्छन् । तीमध्ये सन् २०२० मा प्रकाशित जय शेट्ठीको ‘थिङ्क लाइक अ मङ्क’ पुस्तकले उठाएका विषयहरूमा यहाँ चर्चा गर्न खोझिएको छ । जय शेट्ठीले यस पुस्तकमा मङ्क माइन्ड अर्थात ऋषि मनका बारेमा चर्चा गरेका छन् । अर्थात बोलेका छन् । साथै मङ्की माइन्डका बारेमा पनि उल्लेख गरेका छन् ।
जय शेट्ठी लेखकमात्र नभएर एक चर्चित मोटिभेसनल स्पीकर पनि हुन् । उनी सामाजिक सञ्जालमा प्रशस्त खोजिने पात्रमा पर्छन् । उनले यूट्युबमा राखेको भिडियोमा मात्र ७ अर्ब, फेसबुकमा २ करोड ६० लाख र इन्स्टाग्राममा ६० लाखभन्दा बढी भ्यूअर छन् । अझ यो बढ्दो क्रममा छ । फोर्ब्स म्यागजिनले ३० वर्षमुनिका अर्थात फोर्ब्स अण्डर ३० मा यिनको नाम समावेश गरेको छ ।
जय सेट्ठीले सामाजिक सञ्जालका यस्ता कार्यक्रमहरूमा जीवनको उद्देश्य के ? मानसिक स्वास्थ्य, मानवीय सम्बन्ध, वेयल विइङ् आदि जस्ता विषयमा बोलेका छन् । चर्चित सेलिब्रेटीहरुसँग बहस चलाएका छन् । उनीहरूको अनुभव बाहिर ल्याएका छन् ।
विगतमा नराम्रा कर्मको असर परलोकका लागि जम्मा भएर बस्छन् भन्ने थियो । यसले गर्दा मानिस अलि बढी अनुशासित थिए । गर्न नहुने भनिएका कर्म गर्न मानिसले डर मान्थे । अहिले परलोकको डर छैन । यही बुझियो र बुझाइयो ।
पूर्वीय दर्शनमा देवतालाई राम्रो देखाउन उनीहरूका कर्मका बारेमा मात्र नभइ राक्षस अर्थात दानवका नकारात्मक कर्महरूलाई बाहिर ल्याइएको छ । उनीहरूका खराब कर्मका बारेमा धेरै मात्रामा चर्चा गरिएको पाइन्छ । एउटा पक्षलाई राम्रोमात्र भनेर नपुगेर नै हुनसक्छ । गर्न नहुने खालका खराब कर्मका बारेमा पनि चर्चा गरिएको छ । उनले यस पुस्तकमा ऋषि मनका बारेमा बताउन मङ्की माइन्डको स्वभाव बताएका छन् । सायद उनले देखाउन खोजेको मङ्की माइन्ड पनि पूर्वीय दर्शनमा उल्लेख गरिएको राक्षसी मन र व्यवहार जस्तै हुनसक्छ ।
पुस्तकमा उल्लेख गरिएको मङ्क माइन्ड र मङ्की माइन्डको विशेषता साच्चिकै रमाइलो छ । यिनीहरू एकापसमा विपरीत स्वभावका लाग्छन् । यी दुई ध्रुवमा रहेका वस्तु जस्ता छन् । अहिलेको भाषामा भन्दा बाइनरी सम्बन्धको रूपमा रहेका हुन्छन् । अघिल्लो अर्थात मङ्क माइन्डले राम्रो र असल कामको प्रतिनिधित्व गर्छ भने दोस्रो अर्थात मङ्की माइन्डले खराब चरित्रको चित्रण गर्छ ।
ऋषि मनले अहिले अगाडि देखिएका विषयमात्र नभएर अलि परको विषयसमेत हेर्न घचघच्याउँछ । अहिलेका खराब र असलका बारेमा सोचेर निर्णय गर्नुमात्र भन्दो रहेनछ । यसका परिणामका बारेमा पनि सोच्नुपर्छ भन्छ । अहिलेका आवश्यकता मात्रले तानिँदा अलि पर रहेको वा पछि आउनसक्ने परिणाम जुन आवश्यक छ, सो छुट्न पनि सक्छ । व्यक्तिले नजिकको मात्र हेर्न हुँदैन ।
यही मनलाई भौतिक सुख सुविधामात्र सबैथोक होइन है भनेर पढाउने पनि यही ऋषि मन नै रहेछ । यही क्रममा यसले आत्मिक सुख सुविधा पनि छन् है भन्ने सन्देश दिने गर्छ । यसले त घुमाउरो भाषामा परलोकको विषयमा पनि सोच है भने जस्तो लाग्छ । भलै अहिले परलोकको बारेमा सबैमा पहिलाको जस्तै समान धारणा नहुन पनि सक्छ । परलोक हेर्ने र सोको लागि काम गर्ने नेपाली समाजको विगतमा मूल चरित्र नै थियो । हिजोको समाज त्यसैबाट निर्देशित थियो । यसबाट समाजमा लोकोक्ति नै बनेको थियो । यस लोकमा गरेको कर्मले परलोकमा सुखदुःख पाउने हो भन्ने ।
विगतमा नराम्रा कर्मको असर परलोकका लागि जम्मा भएर बस्छन् भन्ने थियो । यसले गर्दा मानिस अलि बढी अनुशासित थिए । गर्न नहुने भनिएका कर्म गर्न मानिसले डर मान्थे । अहिले परलोकको डर छैन । यही बुझियो र बुझाइयो । मानिस परलोकसँग डराउन छोडे । अनि हाकाहाकी कुकर्ममा लागे । सायद धेरै मानिसमा मंकी माइन्ड हावी छ अहिले पनि । जयले मानिसका खराब कर्मलाई मङ्की माइन्डका बारेमा त बताएका छन्, तर परलोकमा के हुने विषयका बारेमा बोलेका भने छैनन् ।
पुस्तक संवादको भाषामा लेखिएको छ । यसको सबल पक्ष भनेको पुस्तक पढ्दै जाँदा पाठक स्वयं लेखकसँगै हिँड्न थाल्छन् । अर्थात् लेखकले पाठकलाई सँगै हिँडाउछन् । पुस्तकमा थुप्रै उदाहरण छन्, चित्र छन्, डायग्राम छन्, व्यवहारिक उपायहरु सुझाएका छन् । यसले पनि पुस्तक रुचिकर बनाएको छ । पुस्तकमा अरुका भनाइलाइ पनि यथेष्ठ स्थान दिइएको छ । पुस्तक तयार गर्ने क्रममा लेखकले धेरै दस्तावेज अध्ययन गरेको महसुस हुन्छ ।
पूर्वीय दर्शनको महत्व आजको युगमा पनि उत्तिकै मात्रामा छ भनेर बताएका छन् । पढ्दै जाँदा पूर्वीय दर्शनलाई अरूले कसरी प्रयोग गर्न सकेका होलान भने जस्तो लाग्छ, जुन यहाँ फरक ढंगले हेर्ने गरिन्छ ।
पश्चिमा ज्ञान र सिद्धान्तको बोलवाला भएको पश्चिमा समाज र समयमा पनि लेखकले पूर्वीय दर्शनका हिन्दू र बौद्ध दर्शनका सद्विचारलाइ प्रशस्त मात्रामा पुस्तकमा उठाएका छन् । अझ भनौं, पुस्तकको केन्द्रीय पक्षको रूपमा यिनै दर्शनलाई राखिएको महसुस हुन्छ । यहाँ क्रिश्चियन र इस्लाम दर्शनलाई स्थान नदिएको भने होइन है ! उनले त पुस्तकमा ‘पूर्ण विश्व’को अवधारणा प्रयोग गरेका छन् । पुस्तकमा वेद, वेदान्त र वैदिक व्यक्तित्व विकास पनि समावेश गरिएको छ । यसले पुस्तकको ओज अझ अरु बढाएको छ । पुस्तकमा भागवत गीता र वेदबाट धेरै उदारण ल्याइएका छन् । पूर्वीय दर्शनको महत्व आजको युगमा पनि उत्तिकै मात्रामा छ भनेर बताएका छन् । पढ्दै जाँदा पूर्वीय दर्शनलाई अरूले कसरी प्रयोग गर्न सकेका होलान भने जस्तो लाग्छ, जुन यहाँ फरक ढंगले हेर्ने गरिन्छ ।
पुस्तकमा राखिएको चित्र, डायग्राम त्यस रुपमा नै किन राखिएको होला भन्ने लाग्छ, तर सँगै यो पनि छ कि हजार शब्दले भन्दा एउटा चित्रले बढी व्यवहारिक रूपमा व्याख्या गर्न सक्छ भन्ने । भनाइको मतलब तस्विरमा सुधार्ने ठाउँ छ जस्तो लाग्छ । नभए किन त्यस्तो भन्नेबारेमा लेखकले थप बताइदिएको भए हुन्थ्यो ।
पुस्तक जय सेट्ठीले आफूले अनुभव गरेका विषयहरुको सँगालो हो भन्दा फरक पर्दैन । १८ वर्षका भिक्षुको प्रवचन सुनेर मोहित भएको किशोर सोही भिक्षुको पछि लागेर हिँड्दै डुल्दै गएपछि उक्त युवक आफैं मंक माइन्ड भएको सांसारिक मंक बन्यो जस्तो लाग्छ ।
बजारमा थुप्रै पुस्तक छन्, तर यही पुस्तक किन पढ्ने भन्ने पनि हुनसक्छ ! यस अथाह ज्ञानको भण्डारमा कति पुस्तक छन् कति ? व्यक्तिले आफूलाई थाहा भएको पुस्तकका बारेमा नै बताउन सक्ने हो । आफूलाई छोएको पुस्तक पढ्ने हो । यसले ज्ञानको खोजीमा आत्मचिन्तनमा सहयोग गर्नसक्छ जस्तो मानेर पढ्दा हुन्छ भन्न खोजिएको मात्र हो ।
पुस्तकमा अरुका अनुभव हुन्छन्, तिनबाट सिक्न सकिन्छ । यस्ता अनुभवले आफ्नो ज्ञान र अनुभवलाई थप तिखार्न सहयोग गर्नसक्छ । यसकारण पनि पुस्तक पढ्नैपर्छ । यो पुस्तक व्यक्तिको जीवन जिउने कला सिक्न पढदा राम्रै हुन्छ । महत्वाकांक्षा, अहम, घमण्ड र तनावलाई कम गरी जीवनलाई खुसी, शान्त, उद्देश्यमूलक र संयम एवं सरल बनाउन यस पुस्तक एक पटक पढ्दा राम्रै हुन्छ । सामाजिक सञ्जालमा तीखा वाण चलाएर अरुलाई घाउ बनाएको महसुस गर्ने समूहले एक पटक यो पुस्तक पढे, मैले के गरिरहेको छु र केका लागि गरिरहेको छु भन्ने भाव मनमा आउन सक्छ । अनि रिलाइजेशन नै मन बदल्न काफी उपयोगी बन्नसक्छ ।
व्यक्तिले आफ्नो लागि गर्नुपर्ने कर्म त सबैले गर्छन् । अरुका लागि सहयोग गर्ने निःस्वार्थ समूह पनि यस धर्तीमा थिए, छन् र अबका दिनमा पनि रहन्छन् नै । समयअनुसार यिनको सङ्ख्यामा बदलाव आउला, तर समाजमा यस्ता व्यक्तिको अस्तित्व हिजो पनि थियो र अहिले पनि छ नै । सत्य युगका जस्तै ऋषि मन भएकै पात्र त अहिले खोजेर पाउन के सकिएला र ? तर, कलियुगमा पनि ऋषि मन भएका मानिस हुन्छन् है भन्नमात्र खोजिएको हो । पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिर यस्ता मानिस पाउन सकिन्छ । सायद यिनकै कर्मका कारण समाज अगाडि बढेको हुनसक्छ । यी भए मंक माइण्ड भएका पात्रहरू, तर यहाँनेर के पनि बिर्सन हुँदैन भने यही समाजमा मङ्की माइण्ड भएका थुप्रै पात्रहरू पनि हुन्छन् है । अझ यिनको सङ्ख्या अधिक नै छ ।
सामाजिक सञ्जालमा तीखा वाण चलाएर अरुलाई घाउ बनाएको महसुस गर्ने समूहले एक पटक यो पुस्तक पढे, मैले के गरिरहेको छु र केका लागि गरिरहेको छु भन्ने भाव मनमा आउन सक्छ । अनि रिलाइजेशन नै मन बदल्न काफी उपयोगी बन्नसक्छ ।
सामाजिक सञ्जालमा त्यहीका सेलिब्रेटीसँग जोडिएर नाम कमाएका जय सेट्ठीले पुस्तकमा चाहिँ सामाजिक सञ्जालको बेफाइदा बढी मात्रामा देखाएका छन् । पुस्तक अध्ययन गर्दा उनी आफू बदलिएको महसुस गर्न सकिन्छ, तर उनी स्वयंले के कति समय सामाजिक सञ्जालका लागि दिन्छन् होला भन्ने चाहिँ पुस्तकमा भेटिँदैन । उनकै जीवनमा त्यहाँ उल्लेख गरिएको सामाजिक सञ्जाल प्रयोगका समय कति बदलिएको होला ?
उनले मन वा स्वभाव बदल्न असल व्यक्तिसँग समय बिताउने, असल स्वभाव भएका मानिससँग जीवन बिताउन खोज्ने, रुटिनमा काम गर्ने, बिहान छिटो उठ्नुपर्ने, बिहान फ्रेस हुन बेलुकाको रुटिन पनि स्वच्छ हुनुपर्छ भनेर यस्तै ससाना उपाय सुझाएका छन्, जसलाई चाहने हो भने सजिलैसँग प्रयोग गर्न सकिन्छ । उनले हरकामको लागि फरक फरक स्थान चाहिन्छ । सधैँ एकै समयमा उठ्न सक्ने हो भने फाइदाजनक हुन्छ भनेका छन् ।
समाजमा हरेक मानिस एकापसमा जोडिएका छन्, तर जोड्ने तत्व के भन्नेमात्र हो । यदि मानिसलाई मानवीय पक्षले जोडेमा यो संसार धेरै शान्त हुन्थ्यो । स्वार्थले जोडिएको समाज र विश्व बढी प्रतिस्पर्धा र तनावमा छ । रवीन्द्रनाथ टेगोरले राष्ट्रियताभन्दा मानवता माथि हुन्छ, त्यसै भनेका होइनन् । यी सब कामका लागि सकारात्मक सोच चाहिन्छ । यो पूर्वशर्त हो । अत्यन्त तनावमा रहेको मानिसलाई बाहिरबाट बदल्न सजिलो छैन, तर भित्रबाट बदल्न यस्तै पुस्तक पढ्दा फाइदै पुग्नसक्छ ।
यदि सांसारिक भएर मंक माइण्ड बनाउन सक्ने भए मानिसहरू किन गृहस्थ जीवन त्यागेर हिँडे त ? साँच्चिकै गृहस्थ जीवनमा नै मंक माइण्ड बनाउन सकिने भए कतिले गेरुवस्त्र नै किन रोजे त ? के गेरु वस्त्र लगाएर घर दरबार त्यागेकाहरुको मनमा काम, क्रोध, लोभ, मोह, डर आदि थिएन होला त वा अबका दिनमा पनि हुँदैन त ? उमेर पुगेकाहरु त घर गृहस्थ, सामाजिक, सार्वजनिक जीवनबाट विरक्त लागेपछि यस्ता जीवनमा लागे वा यस्ता बन्न पुगे भन्न सकिएला । उनीहरुलाई विद्यमान जीवनशैलीप्रति वैराग्य लागेर नै यो बाटो रोजेका हुन् भन्न सकिएला । मानिसमा जब वैराग्य उत्पन्न हुन्छ, अनि शान्तिको खोजीमा निस्कन्छ । मानिस तर सानैदेखि घरबार त्यागेर हिँड्नेहरूमा के सोचले काम गरेको होला ?
हिन्दू दर्शनमा बाल्यवस्थामा अध्ययन गर्ने, २५ देखि ५० वर्षसम्म गृहस्थाश्रम अर्थात घरजम गरेर बस्ने, ५० वर्षपछि वान प्रस्थान र ७५ वर्षपछि सन्न्यास ग्रहण गर्ने भन्ने विचार व्यवहारिकै रहेछ कि क्या हो ? यसलाई अहिले पनि मनन गर्दा उपयुक्त रहेछ जस्तो देखिन्छ । अझ युवा पुस्तालाई यसबारेमा बताउन सके फाइदै हुनसक्छ । उमेरले एउटा विन्दु पार गरेपछि सार्वजनिक जीवनबाट अवकाश लिनुपर्ने भए जस्तै पारिवारिक जिम्मेवारीबाट पन्छिनुपर्ने हो कि ? यस संस्कारले हरेक पुराना पुस्ता आत्मचिन्तनमा लाग्न पाउँछन् भने नयाँ पुस्ताले जिम्मेवारी पनि लिँदै काम गर्दै जान्छन् । समाजको रथ मजाले अगाडि गुडन पाउँछ ।
पुनः मंक माइण्डतिरै फर्कौं । के मानिसले यति सजिलै मोह त्याग्न सक्लान् र ? भनिन्छ संसार अडेकै मायाले हो । मानिस यही मायामोहको जालमा छ । मानिसलाई यही चाहेको जालोबाट बाहिर निकाल्न सक्ने हो विश्व व्यवस्था फरक हुन सक्थ्यो होला । ऋषिमुनिहरुले आफूलाई यसबाट अलग राख्न सक्थे भनिन्छ । त्यति बेलाको अवस्था फरक थियो होला । खानपिन, रहनसहन फरक थियो होला । आजको २१औं शताब्दीमा मानिसलाई भौतिक सुख सुविधाभन्दा पर राख्न सम्भव होला र ? यस्ता दार्शनिक प्रश्हरूको बारेमा यस पुस्तकले आत्मचिन्तन गर्न सघाउँछ ।
हिन्दू दर्शनमा बाल्यवस्थामा अध्ययन गर्ने, २५ देखि ५० वर्षसम्म गृहस्थाश्रम अर्थात घरजम गरेर बस्ने, ५० वर्षपछि वान प्रस्थान र ७५ वर्षपछि सन्न्यास ग्रहण गर्ने भन्ने विचार व्यवहारिकै रहेछ कि क्या हो ? यसलाई अहिले पनि मनन गर्दा उपयुक्त रहेछ जस्तो देखिन्छ । अझ युवा पुस्तालाई यसबारेमा बताउन सके फाइदै हुनसक्छ ।
मानवीय जीवनका सुखदुःख निरपेक्ष विषय होइनन् । यी त सापेक्षित हुन्छन् नै । यो समयको सापेक्षिततामा भन्दा पनि मानिसको सोचमा सापेक्षित हुने रहेछ । हिजो जेलाई सुख मानियो, आज त्यसलाई दुःख मानिँदैछ । आफन्तका बारेमा महिनौंसम्म खबर नआउँदा पनि पर्खेर बस्न सक्ने नेपाली समाज अहिले केही मिनेट अझ भनौं सेकेन्डमा ओर्लिसक्यो । यसका लागि व्यक्तिले सेकेन्ड सेकेन्डमा मोबाइलमा औंलाले थिच्न पुग्छ । सूचना पाउन आफैंसँग किचकिच गरिरहन्छ । छिनछिनमा खबर आएन भने छटपटी वा बेचैनीमा पुग्छ ।
हिजोको दिनमा महिनौंसम्म कुर्न सक्ने मानिस आज किन यति कमजोर बनेको होला ? केले मानिसलाई यति कमजोर बनाएको होला ? के हिजोका दिनमा बाध्यताले गर्दामात्र त्यस्तो भएको हो ? त्यसो भए के अहिले मानिसले चाहेको सबै चिज पाएको छ त ? यी सबै मानिसका सोचमात्र हुन् कि यसमा अरू केही पनि छ ? के मानिसको मन नै सबैथोक हो त ? के यस्तो मनलाई नियन्त्रणमा राखेर विगतको जस्तै बनाउन सकिन्छ ? यसैगरी के मनलाई तन्काएर धेरै परसम्म पनि लैजान सकिन्छ ? आखिर मनको नियन्त्रणबाट वस्तुप्रतिको आशक्ति अनाशक्ति घटाउन सकिन्छ भनेर विज्ञहरूले पनि त भनेकै छन् । यही मनलाई घटाएर वा बढाएर वा तन्काएर मंक माइण्ड बनाउन सकिने जस्तो भयो त ! जय शेट्ठीले पनि यस्तै यस्तै तर्क गरेका छन् यस पुस्तकमा ।
अहिले पनि मानिसले सामाजिक नम्स, मानक एवं मापदण्ड त बनाएकै छन् त ! उक्त मापदण्डभन्दा फरक व्यवहार भएमा त्यसलाई अहिले पनि असामाजिक भनिन्छ । त्यसलाई गर्न नहुने काम भनिन्छ । कतै मानिसको मन पनि यही सामाजिक बन्धनबाट नियन्त्रित र निर्देशित हुने त होइन ? यस्तै गरेर भौतिक वस्तु, विलासिताका वस्तु वा सामानप्रति मानिसको मनलाई पनि यस्तै उपायहरूबाट नियन्त्रण गर्न सकिन्छ त ?
मंक माइण्ड आवरणमा होइन, सारमा खोज्नुपर्ला । आवरणले मनोवैज्ञानिक रुपमा मंक माइण्ड बनाउने कार्यमा सहयोग गर्न सक्छ होला वा यसमा गति प्रदान गर्न सक्छ होला । आवरण कारक अवश्य पनि होइन, तर सहयोगी भने हुनसक्छ । मंक माइण्डको कारक भनेको आफ्नो सोच, मनोवृत्ति र विचारलाई कसरी सकारात्मक बनाउने भन्ने नै हो । यसका लागि पुस्तक उपयुक्त हुनसक्छ । सँगै गुरुको आवश्यकता पनि पर्नसक्छ । साधना चाहिन्छ, अभ्यास पनि चाहिन्छ । मंक माइण्ड हासिल गर्न नसकिने भन्ने होइन, तर सजिलो चाहिँ पक्कै छैन ।
जय शेट्ठीको थिङ लाइक अ मङ्क भन्ने पुस्तकको कभर पेजमै प्रत्येक दिन शान्ति र उद्देश्यका लागि दिमागलाई तालिम दिने पुस्तक हो भनेर उल्लेख गरिएको छ । पुस्तक तीन भागमा बाँडिएको छ । यी तीन भागअन्तर्गत जम्मा ११ वटा पाठ छन् ।
अब पुस्तकको पहिलो भागमा जाऔं । यसलाई अब जाऔं अर्थात लेट गो शीर्षक दिइएको छ । जसअन्तर्गत जम्मा चार वटा लेख समावेश छन् । पहिलो शीर्षक पहिचान (आइडेन्टिटी), दोस्रो नकारात्मक (नेगेटिभिटी), तेस्रो डर (फियर) र चौथो सोच (इन्टेन्सन) रहेको छ । पहिलो भागको अन्तमा मेडिटेसन वा योगाभ्यासका बारेमा लेखिएको छ । यसमा सासप्रस्वासका चरण दिइएको छ । पाठकले ती चरण आफैं पनि अभ्यास गर्न सक्छन् ।
हिजो जेलाई सुख मानियो, आज त्यसलाई दुःख मानिँदैछ । आफन्तका बारेमा महिनौंसम्म खबर नआउँदा पनि पर्खेर बस्न सक्ने नेपाली समाज अहिले केही मिनेट अझ भनौं सेकेन्डमा ओर्लिसक्यो । यसका लागि व्यक्तिले सेकेन्ड सेकेन्डमा मोबाइलमा औंलाले थिच्न पुग्छ । सूचना पाउन आफैंसँग किचकिच गरिरहन्छ । छिनछिनमा खबर आएन भने छटपटी वा बेचैनीमा पुग्छ ।
पुस्तकको दोस्रो भाग वृद्धि वा विस्तार (ग्रो) शीर्षकमा छ । यसअन्तर्गत जम्मा चार वटा लेख छन् । चार वटा लेखमा उद्देश्य (परपज), समय तालिका (द टाइम), दिमाग (द माइण्ड) र अहम (इगो) रहेका छन् । भाग दुईको अन्तमा योगाभ्यासको चरणमध्ये अन्तरदृष्टि (भिजुअलाइज)सम्बन्धी अभ्यास दिइएको छ ।
तेस्रो भाग दिनु (गिभ)सँग सम्बन्धित छ । यसअन्तर्गत कृतज्ञता (ग्राटिच्युड), सम्बन्ध (रिलेसनशीप) र सेवा (सर्भिस) समावेश गरिएका छन् । यस भागको अन्तमा योगाभ्याससम्बन्धी तेस्रो चरण मन्त्र (चान्ट)सम्बन्धी प्रक्रिया उल्लेख गरिएको छ ।
देवेन्द्रराज पाण्डेले आफ्नो ‘एक ज्यान दुई जुनी’ भन्ने पुस्तकमा अमेरिकी लेखक मार्क ट्वेनको उद्धरण लिएर ९० वर्ष उमेर पुगेको व्यक्तिको जस्तो अनुभव १९ वर्ष उमेरमा प्राप्त गर्न सके मानव जातिले के गथ्र्यो होला भनेर प्रश्न राख्नुभएको छ । पूर्वीय दर्शनमा यस्तो अनुभव कम उमेरमै पाउन सकिन्छ भने जस्तो देखिन्छ । सिद्धार्थ गौतम २५ वर्षको उमेरमै शान्तिको खोजीमा निस्के त ! राजा उत्तमपादका छोरा ध्रुव पनि बाल्यकालमै शान्तिको खोजीमा तपस्या गर्न निस्के । परासर ऋषिका पुत्र व्यास र व्यास पुत्र शुकदेव पनि जन्मनासाथ तपस्या गर्न हिँडे । मंक माइण्डका लागि उमेरमात्र पनि होइन कि त ? एक पटक सोच्नैपर्छ होला ।
मंक माइण्ड सजिलै प्राप्त हुने होइन नै । यसका लागि साधना, त्याग, तपस्या आवश्यक पर्ने रहेछ । जसले घरगृहस्थी छोडेर साधन गर्न हिँडे, उनीहरुले शान्ति मार्ग र गन्तव्य पहिचान गरे । कतिले यसलाई लिपिबद्ध गरे भने कतिले आफूसँग मात्र राखे, अरुलाई हस्तान्तरण गर्न भ्याएनन् वा हस्तान्तरण गरेनन् । शान्तिको खोजीको चरण मानिसले आफूसँग रहेको अथाह शक्तिलाई चिन्नुपर्ने रहेछ । जब व्यक्तिले आफूलाई चिन्नसक्छ, त्यसपछि अरुलाई चिन्न सजिलो पर्ने रहेछ । यही मनलाई परिवर्तन गर्नकै लागि जय शेट्ठी पनि घरबार छोडेर भारत आए, आश्रममा दिन बिताए । मंकको संगतमा बसे । अनि उनमा त्यस्तो खालको सोच आयो । उनको जीवनी आफैंमा अचम्म पार्ने खालको छ ।
‘थिङ्क लाइक व मङ्क’ पुस्तक पनि आफूलाई चिन्नमा केन्द्रित छ, तर उद्देश्य चाहिँ शान्ति प्राप्त गर्नु नै हो । यसमा शेट्ठीले मंक माइण्ड लिएर शान्ति प्राप्त गर्न विविध उपाय सुझाएका छन् ।
कतिलाई लाग्न सक्ला, मनले चाहेको कुरा सजिलै सिक्न सकिन्छ । सिक्ने कार्य त्यति सजिलो छैन । सिक्ने भनेको गरिआएको व्यवहार बदल्नु हो, व्यवहार निर्माण गर्नु हो, साधना गर्नु हो । त्यही भएर सिक्न गुरु चाहिन्छ भन्ने गरिएको हो । गुरुले देखाएको बाटोबाट नै जीवनको अगाडिको यात्रा बढाउनु पर्छ । केही नयाँ प्रवर्तन गर्न इलन मस्कसँग सिक्न सकिएला, बोलीमा निख्खार ल्याउन मोटिभेसन स्पीकरसँग सिक्दा हुन्छ, माइन्डलाई तालिम दिन मनोविज्ञानवेत्ता उपयुक्त हुन सक्छन् । माइन्डमा शान्ति सिर्जना गर्न निश्चित उद्देश्यमा केन्द्रित बनाउन मंक गुरु बन्नसक्छन् भन्छन् जय शेट्ठी ।
मंक माइण्डको कारक भनेको आफ्नो सोच, मनोवृत्ति र विचारलाई कसरी सकारात्मक बनाउने भन्ने नै हो । यसका लागि पुस्तक उपयुक्त हुनसक्छ । सँगै गुरुको आवश्यकता पनि पर्नसक्छ । साधना चाहिन्छ, अभ्यास पनि चाहिन्छ । मंक माइण्ड हासिल गर्न नसकिने भन्ने होइन, तर सजिलो चाहिँ पक्कै छैन ।
आममानिसले आफूलाई अरुको आँखाबाट हेर्छ । अरुले के भन्छ भनेर चिन्तित हुन्छन् । मंक माइण्डले त्यसो भन्दैन भन्छन् जय । उनका अनुसार आफूलाई आफ्नै आँखाबाट हेर्ने कोसिस गर । बाहिरी आवरण होइन, भित्र हेर । धूलो लागेको ऐनामा धूलो पुछेपछि मात्र तस्विर राम्रो देखिन्छ । व्यक्तिले आफूले आफैंलाई हेर्न र चिन्न मनको धूलो हटाउनु पर्छ, विकार हटाउन पर्छ । एक व्यक्ति कति समय बाच्ला ? विकसित मुलुकमा भए औसतमा ८५ वर्ष वा सोभन्दा बढी बाच्ला, तर नेपालमा भने सरदरमा ७१ वर्ष बाच्ला । यसो हेर्दा यो ७० वर्ष लामो जस्तो लाग्न सक्छ ? के हामीले यही ७१ वर्षमध्ये हालसम्म बिताएको समय वा वर्ष के कसरी बिते भनेर हेरेका छौं त ? जयका अनुसार एउटा मानिस आफ्नो जम्मा आयुको सरदर ३३ वर्ष सुतेर बित्छ, जसमध्ये ७ वर्ष सुत्ने प्रयास गर्दा बित्छ । हाम्रो बाँकी रहेको समयको आधा वा सोभन्दा बढी यसरी नै बित्ने होला है ? एक पटक यसमा पनि सोच्ने कि ?
जब शेट्ठी विजनेश स्कुलमा पढ्दै गर्दा सेल्फलेसनेस र न्यूनतमबाट जीवन निर्वाह गर्नेबारेमा प्रवचन दिन भारतबाट युकेमा बोलाइएका गौराङ दास भिक्षु अर्थात साधुसँग भेट्न पुग्छन्, उनको जीवन त्यही प्रवचनबाट बदलिन शुरू हुन्छ । जय यी गुरूसँग यति प्रभावित भए कि युकेमा ती गुरू जहाँजहाँ प्रवचन दिन जान्छन्, जय पनि उनी सँगसँगै हिँड्न थाले । जय ती गुरूसँगै भारत आएर सोसाइटी अफ कृष्ण कन्सिअसनेस (हरे कृष्ण आन्दोलन अभियान)ले दिने तालिममा सहभागी भए । मुम्बई नजिकैको आश्रममा जम्मा ३ वर्ष जयले मंक एवं सन्तहरुसँग बिताए ।
उनले १८ वर्षको उमेरमा भारतमा बस्न शुरु गरी ३ वर्ष आश्रममा बिताए । त्यस समयमा उनी पूरै भारत र युरोप घुमे । अनुभव पनि हासिल गरे ।
जय आश्रममा बस्दा बिहान ४ बजे उठ्ने, हरेक दिन चिसो पानीले नुहाउने, योगाभ्यास गर्ने र खाना लिने समय तालिका पालना गरे, जसलाई अहिले पनि प्रयोग गर्छु भनेर लेखेका छन् । उनले अहिले पनि चार घण्टाभन्दा बढी समय योगाभ्यास गर्छन् । दिनको आधा समय बैयक्तिक विकासमा बिताउँछन् भने बाँकी आधा दिनको समय अरुलाई सहयोग गरेर बिताउँछन् ।
‘थिङ्क लाइक अ मन्क’ पुस्तक प्राचीन ज्ञानले भरिएको जयको अनुभवको सँगालो हो । यसको उद्देश्य पाठकलाई मंक माइण्ड विकास गर्नमा सहयोग गर्नु जस्तो देखिन्छ । वैयक्तिक विकासका अवरोधकका रुपमा रहेका नकारात्मक सोच हटाउने र वास्तविक उद्देश्यतर्फ डोर्याउन सहयोग गर्नु देखिन्छ । तनाव घटाउने, स्व-अनुशासन बढाउने र असल मान्छेसँग सम्बन्ध कायम गर्ने सल्लाह उनी दिन्छन् ।
व्यक्तिको संगतले कति फरक पर्छ भन्नेबारेमा त जय आफैंले भनेका छन् । कलेजमा रहँदा गौरङ दासको प्रवचन सुन्न अर्को साथीले कर गरेर लगेको बताएका छन् । त्यही दिनको घटनापछि जय आफैं मंक बन्ने बाटोमा लागे र मंक माइण्ड भएको बन्न पुगे । जयले पुस्तकमा एट्याचमेन्ट र डिट्याचमेन्टका बारेमा राम्रोसँग बताएका छन् । पहिलो कुनै कार्य वा घटना निश्चित प्रक्रियाबाट हुन्छ भन्ने चाहना हो भने दोस्रो केही घटना राम्रो तरिकाबाट घट्छ भन्ने सोच राख्नु हो । पहिलोले आफू एकदम जान्ने भ्रम सृजना गर्छ । दोस्रोले फरक तरिकाबाट सोच्न सिकाउँछ ।
जय स्वयं विद्यालयबाट ३ पटक निष्काशन भएको व्यक्ति हुन् । लागुपदार्थको अनुभव, धेरै जनासँगको अनैतिक सम्बन्ध आदि जस्ता यिनै विशेषता भएका व्यक्ति रहेछन् जय विद्यालयकालमा । १८ वर्षको उमेरपछि भने उनमा परिवर्तन आयो, जसको श्रेय उनी गुरू गौराङ दासलाई दिन्छन् । उनले १८ वर्षपछि गरेको कर्म बुबाआमाको अपेक्षाभन्दा फरक थियो । उनीमाथि ठूलो मानसिक दबाब थियो, तर उनले आफ्नो मनले मागेको कुरा गरे । केही चिज त्याग गरे अनि अर्काे चिज पाए । आखिर संसारमा केही त्याग पनि केही पाउनकै लागि त हो !
जीवनको उद्देश्य के हो ? अबको २० वर्षपछि व्यक्तिले चाहेको के हो ?
कतिलाई लाग्न सक्ला, मनले चाहेको कुरा सजिलै सिक्न सकिन्छ । सिक्ने कार्य त्यति सजिलो छैन । सिक्ने भनेको गरिआएको व्यवहार बदल्नु हो, व्यवहार निर्माण गर्नु हो, साधना गर्नु हो । त्यही भएर सिक्न गुरु चाहिन्छ भन्ने गरिएको हो ।
मानिस जानेका कुरा व्यवहारमा कार्यान्वयन गर्न चाहँदैनन् या आडम्बरी भएर बस्छन् । अहिले धेरैले शाकाहारी बन्नु राम्रो हो भन्छन्, तर आफू चाहिँ हुन सक्दैनन् । धूमपान र मद्यपान गर्न हुँदैन भन्छन्, तर त्यसलाई छोड्न सक्दैनन् । जयका मनले चाहेका यस्ता काम गर्न साधना चाहिन्छ, प्रयास चाहिन्छ, स्वअनुशासन चाहिन्छ । मनबाट यस्ता साना काम गर्ने हो भने यो संसार अहिले भन्दा फरक हुन सक्थ्यो, तर यी भनिएका साना काम गर्न त्यति सजिलो छैन है ! जयलाई पनि मंक बसाइबाट बाहिर आउँदा आश्रममा सिकेका कुराहरु कसरी कार्यान्वयन गर्ने भन्ने समस्या थियो । समस्याभन्दा पनि उसको मनमा डर थियो, शङ्का थियो, तर उनले त्यसलाई इमानदारीपूर्वक पालना गरेर नै आफू बदलिन सके । मनलाई बदल्न सके ।
गीताको दोस्रो अध्याय श्लोक ६२ मा
ध्यायतो विषयान्पुंसंः सङ्गस्तेपूवजायते । सङ्गात्सञ्जायते कामः कामात्क्रोधोडभिजायत्ते ।। क्रोधाद् भवति सम्मोहः सम्मोहाव्स्मृति विम्रमः स्मृति भ्रशात् बुद्धि नाशाात्प्रठास्यति ।।
अर्थात- इन्द्रियका विषयहरुको चिन्तन गर्दागर्दै मानिस तिनै विषयमा आशक्त हुन्छ, यस्तो आशक्तिबाट काम उत्पन्न हुन्छ र कामबाट क्रोध उत्पन्न हुन्छ । क्रोधबाट पूर्ण मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित भएपछि बुद्धि नाश हुन्छ, जब बुद्धि हराउँछ, मानिस यो संसार रुपी कुवामा फेरि खस्छ ।
मानिस कता हिँड्ने भन्ने यात्रा त अरूले होइन कि यही मनले नै तय गर्ने त रहेछ । यसका लागि स्वमूल्याङ्कन चाहिन्छ भन्छन् जय । उनले सरल उपाय सुझाएका छन्- हरेकले समय पालना, सामाजिक सञ्जालको प्रयोग र पैसाको प्रयोगबारेमा आफ्नो स्वभावको अडिट गर्ने । उनी त जीवनकै अडिट गर्नु आवश्यक छ भन्छन्, जहाँ अन्तरमनको आवाज सुन्न सकिन्छ । जीवनलाई अरूको आँखाबाट होइन कि शुरूमा आफ्नै आँखाबाट हेर्ने अडिट ।
यो पुस्तक पेशागत र आचरणगत रुपमा वैयक्तिक विकास गर्न पनि सहयोगी छ । मंक माइण्ड लिएर सोच्नमात्र होइन कि व्यवहार गर्न पनि पुस्तकले सहयोग गर्न सक्छ ।
मानिसलाई कुनै पनि पुस्तकले एकै दिनमा परिर्वतन गर्न सक्छ भन्ने होइन । पुस्तकले बाटो देखाउनेमात्र हो, उत्प्ररेणा जगाउने हो, परिवर्तन गर्न गराउन घचघच्याउने मात्र हो । यस पुस्तकले पनि कसरी शान्त रहने, सोच अर्थात् मनोवृत्तिमा कसरी परिवर्तन गर्ने, प्रेमभाव कसरी विकास गर्ने, सकारात्मक सोच र प्रवृत्ति एवं स्पष्टता जस्ता विशेषताहरु कसरी विकास गर्ने भन्नेसम्बन्धी धारणा विकास गर्न सहयोग गर्नसक्छ । बाँकी पाठककै जिम्मामा ।
(डा. लम्साल नेपाल सरकारका सचिव हुन् ।)