‘क्यान्सर सर्भाइभर’ मुकुलको रास्वपामा ‘सर्भाइभल’ को प्रश्न
अस्तिसम्म रविकै दाहिने हात थिए, एकाएक किन बिच्किए ?
काठमाडौं । पछिल्ला केही दिनहरूमा रास्वपा महामन्त्री डा. मुकुल ढकालका अभिव्यक्ति र रवैया पार्टीका धेरै नेता-कार्यकर्ताका निम्ति विस्मयपूर्ण छ । उपसभापति डा. स्वर्णिम वाग्लेले हिजो बैठकपछि पत्रकारहरूसँग भने, ‘उहाँले असामान्य, असहज र अप्राकृतिक व्यवहार देखाउनुभयो, मैले चिनेको डा. मुकुल ढकाल यस्तो होइन ।’
पार्टीको बैठक लाइभ गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै विरोधस्वरूप ढकाल दिनभरि मुखमा मास्क र कालो टेप लगाएर बसेका थिए । आफूले बनाएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा उनी चुइँक्क एक शब्द बोलेनन् । धेरैजसो केन्द्रीय सदस्यहरूले प्रतिवेदनको भन्दा पनि महामन्त्रीको कार्यशैलीको आलोचना गरे । साँझतिर आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन ढकाललाई सबैको दबाब पर्यो । तर, उनी फन्किएर हिँडिदिए । बाहिर पत्रकारसँग कडा स्टेटमेन्ट दिए, ‘ममाथि बैठकमा ह्यारेसमेन्ट भयो ।’
महामन्त्री ढकाल सीधै पार्टी सभापति रवि लामिछानेविरुद्ध खनिए । रविका विरोधीहरूले जस्ता शब्दहरूले उनलाई प्रहार गर्दै आएका छन्, ती शब्दहरू हिजो रास्वपा महामन्त्रीले प्रयोग गरे । रविलाई असक्षम करार गरिदिए । सभापतिले आफ्नो असक्षमता ढाकछोप गर्न महामन्त्रीमाथि दोष थोपर्न खोजेको आरोप लगाए । यस्तो आक्रामक प्रस्तुतिपछि पार्टीले मध्यरातसम्म बैठक लम्ब्याएर मुकुललाई पदबाट निलम्बन गरिदिएको छ ।
०००
रास्वपामा अस्ति भर्खरसम्म सभापति रवि लामिछानेका ‘दाहिने हात’ मानिन्थे मुकुल । रास्कोट अस्पताल निर्माण अभियानदेखि (यो अभियानका मुख्य पहलकर्ता उनी आफैँ हुन्) रविसँग जोडिएका उनी पार्टी निर्माणमा ‘डे वान’ देखि नै संलग्न थिए । तर, रविको ओझेलमा परेर उनलाई आफ्नो पृथक् पहिचान बनाउन मुस्किल भइरहेको थियो । रास्वपामा महामन्त्री एउटा शक्तिशाली पद भए पनि पार्टीबाहिर धेरैले उनलाई रविका एक सहयोगीका रूपमा मात्र चिन्थे ।
रविले पनि मुकुललाई अथाह विश्वास र संरक्षण समेत गर्दै आए । राजनीतिक अनुभवहीनताका बाबजुद सुरुमै प्रवक्ता र त्यसपछि महामन्त्रीजस्तो प्रभावशाली पद दिन तयार भए । महामन्त्रीमाथि प्रश्न उठ्दा जवाफ रविले दिन्थे । मुकुलमाथि प्रहार हुँदा रविले छाती थाप्थे । पार्टीभित्रका आलोचकको शब्दमा भन्ने हो भने रविले मुकुललाई ‘टाउकोमै टेकाएर राखेका’ थिए ।
मुकुलले हिजोका दिनसम्म रविलाई आदर्श पात्र मानेर निरन्तर टेवा दिए । तर, रवि उनले सोचेजस्तो सफल हुन सकेनन् । निरन्तर विभिन्न विवादमा परिरहे । रविको व्यक्तिगत लोकप्रियताको जगमा खडा भएको पार्टी उनको क्रेज घटेसँगै अधोगतिमा लाग्न थाल्यो । मुकुल विरक्त बन्दै गए । यही विरक्ति भावले उनलाई पछिल्लो समय मानसिकरुपमा खलबलाएको हुन सक्छ ।
त्यसो त मुकुलले पनि सभापतिप्रतिको बफादारी सम्भव भएसम्म निभाउँदै आएका हुन् । पार्टीप्रति उनको निष्ठा र समर्पणमा प्रश्न उठाउने ठाउँ छैन । पार्टी सञ्चालनमा उनको कठोर मिहिनेतलाई पनि सायदै कसैले नकार्न सक्छन् । रास्वपाको बीजारोपण पाँचजनाको कोर टीमबाट भएको थियो, जसमा थिए- रवि, डीपी अर्याल, विपीन आचार्य, दीपक बोहरा र डा. मुकुल ढकाल । यो कोर टीमबीच छुट्टै आत्मीयता, विश्वास र पारिवारिक वातावरण अहिलेसम्म कायम छ ।
अहिले मुकुलले देखाएको व्यवहार र प्रस्तुति थुप्रैका लागि आश्चर्यजनक भए पनि काेर टीमका लागि भने नौलो होइन । आफूहरूले मुकुललाई यस्तै रुपमा झेल्दै आएको पार्टीका एक पदाधिकारी बताउँछन् ।
‘उहाँको शैली पहिल्यैबाट अपरिपक्व र अराजनीतिक हो । आफूले जे भन्यो त्यही हुनुपर्छ, जसरी भन्यो त्यसरी हुनुपर्छ भन्ने मनोमालिन्यता एवं अधिनायकवादी चरित्र उहाँमा छ । अरूका कुरा सुन्ने र सबैलाई समेट्न सक्ने फराकिलो छाती कहिल्यै देखाउनु सक्नुभएन । तर, उहाँका सबल पक्षहरूलाई हेरेर अवगुणहरूलाई नजरअन्दाज गर्ने प्रयास गरियो,’ ती पदाधिकारीले भने ।
रविले काखी च्यापेको भएर पनि मुकुलविरुद्ध खुलेर उत्रिने हिम्मत कसैले गरेनन् । यो बीचमा रवि र मुकुलको सम्बन्ध चिसिएको, दूरी बढेको भेउ कसैले कहिल्यै पाएनन् । मुकुलले आफूप्रति यति धेरै आगो बोकेर बसेका छन् भन्ने सायद रविलाई पनि लागेको थिएन कि ?
पार्टी स्रोतका अनुसार मुकुल अलिकति बाउँठिन थालेको चाहिँ गत वर्ष जेठबाट हो । उनले ‘नयाँ युगको संकल्प’ नाममा एउटा राजनीतिक दस्ताबेज तयार गरेर पार्टीबाट पारित गराउन खोजेका थिए । तर, रास्वपाको सचिवालयले यो दस्ताबेज केन्द्रीय समितिमा छलफल लैजानु नै उपयुक्त नहुने भनेर सीधै खारेज गरिदियो । मुकुलले पार्टीभित्र खेपेको यो पहिलो झट्का थियो, किनकि यसअघि उनका कुनै पनि प्रस्ताव र प्रतिवेदन हुबहुजस्तै पारित हुने गरेका थिए । यद्यपि, त्यसबेला मुकुलले यसलाई ठूलो मुद्दा बनाएनन् ।
रास्वपा गत फागुनमा प्रचण्ड सरकारमा सहभागी भयो । पार्टी सरकारमा जाने कुरामा मुकुलको कुनै असहमति थिएन । चारजना मन्त्री चयनको प्रक्रियामा उनी आफैँ संलग्न थिए । तर, बिस्तारै मन्त्रीहरूको कार्यसम्पादनप्रति उनी असन्तुष्ट बन्न थाले । रास्वपाले सरकारमा गएर पफर्ममेन्स देखाउन नसकेको गुनासो गरे ।
मुकुलले पनि सभापतिप्रतिको बफादारी सम्भव भएसम्म निभाउँदै आएका हुन् । पार्टीप्रति उनको निष्ठा र समर्पणमा प्रश्न उठाउने ठाउँ छैन । पार्टी सञ्चालनमा उनको कठोर मिहिनेतलाई पनि सायदै कसैले नकार्न सक्छन् ।
खासमा मुकुल पार्टीका चार मन्त्रीहरूको लगाम आफ्नो हातमा राख्न चाहन्थे । उनीहरुलाई समन्वय मात्र नभएर कमाण्ड नै गर्न खोजेका थिए । व्यवहारिकरुपमा त्यो सम्भव भएन । पार्टीका मन्त्रीहरूले साप्ताहिकरुपमा आफूलाई ब्रिफिङ गर्नुपर्ने नियम उनले बनाए पनि मन्त्रीहरूले पालना गरेनन् । मन्त्रालयका दैनन्दिन कुराहरूमा पनि सचिवालयमार्फत हस्तक्षेप गर्न थालेपछि झिँजो मान्दै मन्त्रीहरूले महामन्त्रीलाई भाउ दिन छोडे । यो मुकुललाई सैह्य भएन । त्यसपछि उनले मन्त्रीहरूले काम गर्न नसकेको सार्वजनिक टिप्पणी गर्न थालेका हुन् ।
गत वैशाखमा भयो- उपचुनाव । रास्वपाको क्रेज खस्किएको छ वा छैन भनेर जाँच्ने लिट्मस टेस्ट पनि थियो यो । चुनावमा रास्वपाका उम्मेदवार मिलन लिम्बू चौथो भए । खासमा रास्वपाले उम्मेदवार चयनमा नै ब्लन्डर गरेको थियो । पार्टीमा योग्य उम्मेदवार हुँदाहुँदै ‘जसरी पनि चुनाव जित्ने’ भनेर पार्टीको एजेन्डा भन्दा विपरीत विचार बोकेका व्यक्तिलाई खडा गरियो । उनले जमानत पनि जोगाउन सकेनन् ।
यही उपचुनावदेखि पार्टीमा मुकुलको फरक रवैया प्रकटरुपमा देखिन थालेको एक केन्द्रीय सदस्य बताउँछन् । पार्टीको उम्मेदवार चयनमा मुकुल आफैँ प्रमुख भूमिकामा थिए । तर, के कति कारणले हो उनी चुनावमा निष्क्रिय बनिदिए । इलाममा पार्टीको स्थिति कमजोर रहेको अनुमान उनले गरिसकेका थिए । चुनावी अभियानमा इलाम एक पटक पुगे, तर कुनै पनि सभामा भाग लिएनन् । उनलाई वक्ताको सूचीमा राखिँदा पनि बोल्न अस्वीकार गरेका थिए ।
चुनावी हारपछि उनले यसको कारकतत्व मन्त्रीहरूलाई ठहर्याए । नेपाल प्रेससँगको अन्तरवार्तामा उनले भनेका थिए, ‘सरकारमा गएर पनि पर्फमेन्स देखाउन सकिएन, त्यसैले जनताले हाम्रो घण्टी बजाइदिए ।’ मुकुलले आफ्नै पार्टीप्रति आलोचनात्मक दृष्टिकोण राखेर दिएको सम्भवतः यो पहिलो अन्तरवार्ता थियो ।
यो पनि पढ्नुहोस्: ‘सरकारमा गएर आशा जगाउन सकिएन, इलामका जनताले हाम्रो घण्टी बजाइदिए’
चुनावी नतिजाबारे छलफल गर्न बसेको रास्वपा बैठकले समीक्षा प्रतिवेदन लेख्न महामन्त्रीलाई जिम्मेवारी दियो । महामन्त्री ढकालले प्रतिवेदन लेख्नुअघि देश दौडाहा गर्ने प्रस्ताव राखे । पार्टीले यसलाई स्वीकार गर्यो । ग्रासरुटमै गएर आफ्ना कार्यकर्ता र जनताको भावना बुझेर आउँछु भन्दा पार्टीले नकार्ने कुरा पनि थिएन ।
एक महिना लगाएर ३८ जिल्ला पुगेका मुकुलले सोचेजस्तो माहोल पाएनन् । पार्टी कार्यकर्ताहरूले आफूलाई जुनरुपमा स्वागत गर्छन् भन्ने ठानेका थिए, त्यो अपेक्षा पूरा भएन । कतिपय जिल्लामा उनले आलोचना र विरोधको सामना पनि गर्नुपर्यो । उनी निराशाको भारी बोकेर फर्किए । यो निराशा उनको प्रतिवेदनमा छचल्किएको छ ।
महामन्त्री डा. ढकालले प्रतिवेदन पार्टीमा बुझाउनुअघि यसका केही अंशहरु नियतवश मिडियामा चुहावट गरेका थिए । हुन त पारदर्शीताको वकालत गर्ने पार्टीले आफ्नो समीक्षा प्रतिवेदन मिडियामा आउँदा आपत्ति मान्नुपर्ने विषय थिएन । त्यसमाथि सभापतिले नै प्रतिवेदन हुबहु सार्वजनिक गर्ने प्रतिबद्धता जनाइसकेका छन् । तर, महामन्त्रीले नै अर्को चुनावमा पार्टीले राष्ट्रिय मान्यता पाउन कठिन रहेको निष्कर्ष निकाल्दै मिडियाबाजी गर्दा त्यसले पार्टी पङ्तिमा फैलिने निराशा र जनमानसमा पर्ने प्रभावको पाटो पनि छ । साथै, महामन्त्री ढकालको यो निष्कर्ष दुराशयपूर्ण र अतिरञ्जित रहेको विश्लेषण पनि नेताहरूले गरिरहेका छन् ।
समीक्षा यात्रामा जाँदा पार्टी कार्यालयमा सभापतिको हातबाट दही खाएर धूमधामले बिदाई भएका महामन्त्री ढकालले प्रतिवेदन भने गृह मन्त्रालयमा गएर बुझाउनुपर्यो । गृहमन्त्री तथा पार्टी सभापतिसँग वान टु वाट बैठकमा उनले डेढ घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए ।
जे होस, यो प्रतिवेदनले महामन्त्री ढकाललाई एकाएक चर्चा र विवादमा ल्याइदिएको छ । यसअघि पार्टीभित्र सर्वेसर्वाजस्तै भए पनि पार्टीबाहिर उनी खासै परिचित हुन सकेका थिएनन् । अहिले उनी मिडियाका लागि हट केक बनेका छन् । तर, उनको राजनीतिक यात्रा भने संकटको भुमरीमा फसेको छ । सामाजिक सञ्जालमा एउटा तप्काकाे वाहवाहीले उनको हौसला बढाएको देखिन्छ । तर, दीर्घकालीन हिसाबले हेर्दा उनले निकै क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।
मुख्य त मुकुलमाथि के प्रश्न उठ्छ भने यदि पार्टी तीव्र रूपले अधोगतिमा गएको हो भने त्यसको एक प्रमुख हिस्सेदार उनी स्वयम् हो कि होइनन् ? यदि गणेश कार्कीले यस्तो प्रतिवेदन लेखेर मिडियाबाजी गरेको भए अस्वाभाविक नहुन सक्थ्यो, जसले निरन्तर पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् । तर, मुकुल त रास्वपाका असन्तुष्ट वा विद्रोही नेता होइनन् । हिजोका दिनसम्म पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँडसम्ममा उनी पूर्णरुपमा हाबी थिए । रास्वपाका मुख्य संस्थापन भनेकै मुकुल हुन् । यदि उनले प्रतिवेदनमा यथार्थ चित्रण नै गरेका हुन् भने त्यसकाे मुख्य जिम्मेवारी आफैंले लिन तयार हुनुपर्छ, अरुमाथि दोष थोपर्दै हिँड्न सुहाउँदैन । पार्टीभित्र छलफल नगरी आफूखुसी प्रतिवेदनबारे बोल्दै हिँड्नु पनि ठीक भएन ।
एक महिना लगाएर ३८ जिल्ला पुगेका मुकुलले सोचेजस्तो माहोल पाएनन् । पार्टी कार्यकर्ताहरूले आफूलाई जुनरुपमा स्वागत गर्छन् भन्ने ठानेका थिए, त्यो अपेक्षा पूरा भएन । कतिपय जिल्लामा उनले आलोचना र विरोधको सामना पनि गर्नुपर्यो । उनी निराशाको भारी बोकेर फर्किए । यो निराशा उनको प्रतिवेदनमा छचल्किएको छ ।
रास्वपाभित्र मुकुलले कसैको मन जित्न सकेका रहेनछन् भन्ने पनि देखियो । ५२ सदस्यीय केन्द्रीय समितिमा कम्तीमा ५१ जनाले उनीमाथि कारबाहीको निर्णयमा हस्ताक्षर गरेका छन् । एकाधबाहेक कसैले पनि उनको बचाउ गर्न खोजेनन् । यतिबेला मिडिया र सामाजिक सञ्जालमा पाइरहेको क्षणिक चर्चा र सहानुभूतिबाट आत्ममुग्ध नभईकन मुकुलले आफ्नै राजनीतिको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने भएकाे छ । यदि राजनीतिमा लामो रेसको घोडा हुन चाहन्छन् भने आफूलाई पदीय मर्यादा र अनुशासनको एउटा सिमानाभित्र कैद गर्नैपर्छ ।
रास्वपाले अहिले मुकुललाई ७ दिनको लागि निलम्बन गरेको छ । मुख्य कारबाही भने हुनै बाँकी छ । अनुशासन आयोगले ७ दिने स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको निर्णय लिइयो । यो हतारो पार्टीले नगरेको भए पनि हुन्थ्यो । हुन त रविले सकेसम्म प्रक्रियासम्मतरुपमा नै जान जोडबल गरेका थिए । तर, सिंगो केन्द्रीय समिति नै उनलाई अब एक छिन पनि महामन्त्री मान्न नसक्ने स्थितिमा देखियो ।
०००
अन्त्यमा, मुकुलको कोणबाट पनि सोचौँ । उमेरले युवा नै छन् । केही गर्छु भन्ने हुटहुटी बोकेर राजनीतिमा आएका हुन् । शैलीमा प्रश्न उठाउने धेरै ठाउँ भए पनि उनको नियतमा सायद खोट छैन ।
क्यान्सरजस्तो घातक रोगलाई जितेर आएका मुकुलले जीवनमा गर्न बाँकी धेरै छ । एकदमै अनुभवहीनताको स्थितिबाट महामन्त्रीजस्तो चुनौतीपूर्ण पद सम्हाले । प्रवक्ता र महामन्त्री भएर उनले राजनीति सुरु गरेका हुन् । त्यसैले कमीकमजोरीहरू भए होलान् । छोटो समयमा धेरै कुरा सिकिसकेका छन् । आफूलाई परिपक्व एवं परिष्कृत गरेर लैजान धेरै समय उनीसँग छ । केही हदसम्म बौद्धिक पनि छन् । कुनै पनि विषयवस्तुलाई गहिराइमा गएर बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्छन् ।
मुकुलले हिजोका दिनसम्म रविलाई आदर्श पात्र मानेर निरन्तर टेवा दिए । तर, रवि उनले सोचेजस्तो सफल हुन सकेका छैनन् । निरन्तर विभिन्न विवादमा परिरहे । रविको व्यक्तिगत लोकप्रियताको जगमा खडा भएको पार्टी उनको क्रेज घटेसँगै अधोगतिमा लाग्न थाल्यो । मुकुल विरक्त बन्दै गए । यही विरक्ति भावले मुकुललाई पछिल्लो समय मानसिकरुपमा खल्बलाएको हुन सक्छ ।
हिजो उनले भनेका छन्, ‘मैले रवि लामिछानेले देश बनाउँछ भनेर साथ दिएको हुँ । उहाँलाई नेता होइन, राजनेता बनाउन खोजेको थिएँ । तर जानेर–नजानेर उहाँ विभिन्न चंगुलमा फस्नुभयो ।’
मुकुलले अब के गर्छन् भन्ने जिज्ञासा धेरैलाई छ । अहिलेसम्म उनले रास्वपा त्याग्ने मनस्थिति बनाएको बुझिँदैन । अर्को पार्टी प्रवेश गर्ने कुनै योजना सुनाएका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति उनको व्यक्तिगत अनुराग प्रकट हुँदै आएको छ । भोली बालेनले पार्टी खोले भने त्यसमा मिसिने एउटा सम्भावना रह्यो । तर, कुनै पनि पार्टीमा लागेर उनले यो स्पेस पाउन कठिन छ, जुन रास्वपामा पाइरहेका थिए ।
अझै पनि समय घर्किसकेको भने छैन । मुकुलले आफ्ना कमिकमजोरीहरुको रियलाइजेसन गरेर अनुशासन आयोगलाई चित्तबुझ्दो स्पष्टीकरण बुझाए भने सायद पार्टीले पनि कठोर कारबाहीको निर्णय नलिन सक्छ । होइन, मेरो गोरुको बाह्रै टक्का जस्तो प्रवृत्ति देखाए भने रास्वपामा टिक्न उनलाई कठिन हुने छ ।
मुकुल र भीम रावलको ताल एउटै रहेछ !
सहकारी ठगको पेलानमा छ अनि उखानले केपी को पेलनमा रावल परे जस्तै । जसले जे भने नि रास्वापा को क्रेज पहिला जे थियो इलामको चुनावले घटेछ भन्ने देखायो, अब अर्को चुनाव सम्म जाँदा यो ग्राफ अझ घट्ने देखिन्छ । यसको मुख्य दोष छवि लामिछानेको अनेक काण्ड नै हो । केही मन्त्री, संसद्को काम कारबाही भने नराम्रो भन्न सकिन्न ।
ताताे न छाराे