मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने, कांग्रेस छलफलमा – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने, कांग्रेस छलफलमा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिने भएकाले आज विहान ११ बजे प्रदेशसभा बैठक डाकिएको छ । सत्ता गठबन्धन हेरफेर भएकाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने वा नदिने विषयमा दलदहरु छलफलमा छन् ।

जेष्ठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री सिंह आज संसद फेस गर्न लागेका हुन् ।

केन्द्रमा एमाले-माओवादी गठबन्धन बन्दा जनमतका सिंह मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । सत्ता समिकरण उलटफेर भएर एमाले(कांग्रेस गठबन्धन बनेपछि मुख्यमन्त्री सिंह विश्वासको मत पाउनेरनपाउने अन्यौल देखिन्छ ।

एमाले र नेकपा एस मुख्यमन्त्री सिंहलाई निरन्तरता दिने पक्षमा उभेका छन् । एमाले मधेश संसदीय दलले सिंहलाई विश्वासको मत दिने निर्णय गरेको दलका नेता सरोज कुमार यादवले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले सत्ता समिकरण बदलिएपनि मुख्यमन्त्री सिंहलाई नै निरन्तरता दिने पक्षमा एमाले रहेको बताए । उनले कांग्रेस पनि सकारात्मक रहेको दावी गरे ।

एमाले-कांग्रेस गठबन्धन बनेपछि मधेश प्रदेशको नेतृत्व मधेश केन्द्रीत दललाई दिने भद्र सहमती गरिसकेको छ । यो सहमतीपछि मधेशको नेतृत्व पाउन मधेशी दलहरुबीच जुहारी नै चल्यो ‌। जसपा नेपाल र लोसपा पनि नयाँ गठबन्धनको सरकारमा सामेल हुने निर्णय गरिसकेका छन् ।

एमालेले भने जनमतकै नेतृत्व स्वीकार्न तयार भइसकेपछि कांग्रेस पनि सहयोग गर्न तयार हुने सम्भावना छ । कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा छलफल गर्न दलको बैठक राखेको बताए ।

नेपालप्रेसको जिज्ञासामा उनले भने, ‘आज विहान १० बजे दलको बैठक राखेका छौं । कोही जनमतको नेतृत्वलाई नै निरन्तरता दिने पक्षमा होला । कोही नहोला । त्यसैले बैठकबाटै निर्णय लिन्छौं ।’

आज बस्न लागेको प्रदेशसभा बैठकमा आगामी बजेटमाथि छलफल र मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी कार्यसूची तय गरिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री सिंह बजेट पारित गरेर विश्वासको मत लिने सोचमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर