मधेश सरकारबाट नेकपा एसलाई हटाउने तयारी, मुख्यमन्त्रीले राखे आकस्मिक पत्रकार सम्मेलन
जनकपुरधाम । विश्वासको मत लिन लागेका मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेकपा एकिकृत समाजवादी (नेकपा एस)लाई सरकारबाट हटाउने तयारी गरेको छ ।
मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा विश्वासको मत लिने प्रदेशसभा सचिवालयको कार्यसूची छ । त्यसअघि नै अहिले मधेश भवनमा मुख्यमन्त्री सिंह आकस्मिक पत्रकार सम्मेलन राखेका हुन् ।
केन्द्रमा सत्ता उलटफेर भएर नेकपा एमाले–नेपाली काँग्रेसको गठबन्धन बनेको छ । जनमत पार्टीका सिंहलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन एमाले र काँग्रेसले उनलाई विश्वासको मत दिने भएका छन् ।
स्रोतका अनुसार एमाले र काँग्रेसको आग्रह अनुसार मुख्यमन्त्री सिंहले नेकपा एसलाई सरकारबाट हटाउने भएका छन् । पत्रकार सम्मलेनमै उनले यसबारे केही घोषणा गर्ने बुझिएको छ ।
नेकपा एसबाट दलका नेता गोबिन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली उर्जा, सिंचाई तथा खानेपानी मन्त्री छन् ।
मन्त्री लुंगेलीले प्रदेश सरकारबाट आफूहरुलाई हटाउन सक्ने बताइन् । उनले भनिन्, ‘हामीले मुख्यमन्त्री बनाएका छौं । हाम्रो दलको समर्थन छ । तर हटाउन लागेको कुरा थाहा भएन । हटाउन सक्नुहुन्छ ।’