क्यानको स्पष्टीकरणबारे पाठक भन्छन्- नाङ्लो ठटाएर हात्ती तर्साउन खोजियो – Nepal Press

क्यानको स्पष्टीकरणबारे पाठक भन्छन्- नाङ्लो ठटाएर हात्ती तर्साउन खोजियो

छुम्बीलाई क्यान प्रवक्ता बनाउने निर्णयमा असन्तुष्ट समूहको तीव्र विरोध, राखेपका प्रतिनिधिलाई प्रवक्ता नमान्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक शुक्रवार १२ घण्टासम्म चल्यो, जसले १३ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकमा संघको संस्थापन पक्ष र असन्तुष्ट समूहबीच निकै रस्साकस्सी चलेको थियो ।

बैठकले असन्तुष्ट समूहका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूले क्यानको आधिकारिक निर्णयहरू विपरीत मिडियामा अभिव्यक्ति दिएको र क्यान नेतृत्वविरुद्ध भ्रमपूर्ण प्रचारबाजी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

क्यान उपाध्यक्ष रोशन सिंह, बोर्ड सदस्य दुर्गाराज पाठक, बोर्ड सदस्य माधव कर्माचार्य र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोधी आवश्यक प्रक्रिया अगाडि बढाउने क्यानको विज्ञप्तिमा उल्लेख छ ।

बोर्ड सदस्य पाठकले नेपाल प्रेससँग कुरा गर्दै निर्णयको आलोचना गरेका छन् । यो स्पष्टीकरणको कुनै औचित्य र अर्थ नरहेको उनको तर्क छ ।

पाठकले भने, ‘हामीले बोर्ड बैठकमा नै आफ्ना सबै कुराहरू राखिसकेका छौँ । अहिले स्पष्टीकरण भनेर हल्ला पिटाइएको छ, त्यसको कुनै अर्थ छैन । यो नाङ्लो ठटाएर हात्ती तर्साउने चेष्टा मात्र हो ।’

आफूहरूले मिडियामा कुनै पनि तथ्यहिन कुराहरू नबोलेको र प्रत्येक अभिव्यक्तिमा अहिले पनि अडिग रहेको पाठकको भनाइ छ ।

उनले थपे, ‘हामीले बोलेका कुन कुरा चाहिँ असत्य साबित भएका छन् ? प्रधानमन्त्री कार्यालयले नै तीन जनालाई निलम्बन गरेको होइन ? हामीले त्यो पत्र लेखेका हौँ ? विश्वकपमा भएका अनियमितताका कुराहरू मिडियाले प्रमाणसहित बाहिर ल्याएका छन् । यसमा जवाफ दिनुपर्ने होइन ? बैठकमा हामीले उहाँहरुलाई स्पष्टीकरण सोधेका हौँ । तर, आफ्नो कमजोरी ढाकछोप गर्नलाई हामीमाथि दोष थोपर्न खोजिएको छ ।’

उनले आफूलाई अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नभएको पनि बताए । तर, यस्तो मिडियावाजीले क्रिकेट संघलाई बदनाम गर्ने समेत उनको भनाइ छ ।

‘हामी निर्वाचित भएर आएका होइनौँ ? निर्वाचित केन्द्रीय सदस्यले फरक मत राख्नै नपाउने ? यो निरङ्कुशता होइन ?’ उनले आक्रोशित बन्दै प्रश्न गरे ।

प्रवक्ता नियुक्तिको विरोध

क्यानको प्रवक्तामा छुम्बी लामालाई मनोनयन गर्ने निर्णयप्रति पनि पाठकले आपत्ति जनाएका छन् । तर, यो निर्णयमा असन्तुष्ट समूहले तीव्र विरोध जनाएका छन् । राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिको रूपमा आएका व्यक्तिलाई प्रवक्ता बनाउन नमिल्ने असन्तुष्ट समूहको तर्क छ ।

गत वर्ष असोजमा भएको साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएपछि क्यानले औपचारिकरुपमा प्रवक्ताको जिम्मेवारी कसैलाई दिएको थिएन । सचिव पारस खड्काले नै क्यानका आधिकारिक सूचना र जानकारीहरू मिडियामा सम्प्रेषण गर्ने गरेका थिए । हिजोको बोर्ड बैठकले पारससँग निकट छुम्बीलाई प्रवक्ता बनाएको हो ।

अघिल्लो कार्यक्रममा प्रवक्ताको जिम्मेवारी निभाएका क्यान बोर्ड सदस्य दुर्गाराज पाठकले बैठकको निर्णय अनुचित रहेको भन्दै आफूहरूले नोट अफ डिसेन्ट लेख्ने बताए ।

उनले भने, ‘निर्वाचित बोर्ड सदस्यहरूबाट प्रवक्ता नियुक्त गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । राखेपका प्रतिनिधिलाई क्रिकेट संघको प्रवक्ता मान्न सकिँदैन ।’

क्यानका अधिवेशनमा उम्मेदवार नदिएका लामालाई गत चैतमा राष्ट्रिय खेलकुद परिषदले क्यानको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । राखेपले दुईजनालाई आफ्नो प्रतिनिधिको रूपमा क्यानको बोर्डमा पठाउन सक्ने व्यवस्था छ । लामा अघिल्लो कार्यकालमा पनि मनोनीत केन्द्रीय सदस्य थिए । त्यसअघि उनले क्यानमा चिफ अपरेटिङ अफिसरको भूमिका समेत निभाइसकेका छन् ।

पाठकले भने, ‘उहाँ बोर्ड बोर्ड मेम्बर नै होइन । क्यानको निर्णय प्रक्रियामा उहाँको कुनै पनि भूमिका हुँदैन । उहाँलाई मतदानको अधिकार पनि छैन । राखेप प्रतिनिधिको रूपमा बैठकमा सहभागी हुन सक्ने मात्रै हो । अध्यक्ष र र सचिवको विश्वासको मान्छे प्रवक्ता हुनुपर्छ भन्ने तर्क गरियो । व्यक्तिको विश्वासको मान्छे हुने कि संस्थाको भन्ने प्रश्न हामीले उठाएका छौँ ।’

आफूसहित चार जनाले बोर्ड बैठकमै नोट अफ डिसेन्ट लेख्न खोजेको भए पनि माइन्यूट उपलब्ध नगराइएको पाठकले बताए । ‘हामीलाई माइन्यूट दिइएको छैन, तर मैले मौखिकरुपमा जानकारी गराइसकेको छु,’ उनले भने ।

पाठकका अनुसार उपाध्यक्ष रोशन सिंह, सदस्य माधव कर्माचार्य र अर्जुन पौडेलले विभिन्न निर्णयमा असहमति जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर