कांग्रेस-एमाले सहमति र भूराजनीति – Nepal Press

कांग्रेस-एमाले सहमति र भूराजनीति

नेपालमा संसदको पहिलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले सत्ता साझेदारीका लागि गरेको सहमतिले नयाँ राजनीतिक तरंग र बहस पैदा गरेको छ । संसदीय अभ्यासमा रहेका मुलुकमा पहिले र दोस्रो दल मिल्नु त्यति सहज होइन । त्यसमा पनि दुई फरक विचार बोक्ने र ‘नेक टु नेक’को पोजिसनमा रहेका परिचित प्रतिस्पर्धी एक ठाउँमा आउनुले देशभित्र र देश बाहिर पनि चर्चा पाएको छ । यो परिवर्तनले अहिले सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डलाई ‘पोलिटल सक’ नै भएको छ भने यो परिवर्तका पछाडिको आन्तरिक र बाह्य तथा भूराजनीतिक कारणहरु पनि खोजिन थालेका छन् ।

मंसिर २०७९ को संसदीय निर्वाचनपछि कमजोर तेस्रो दल हुनुका बाबजुद प्रचण्ड १८ महिनादेखि प्रधानमन्त्री छन् । उनको अस्थिर चरित्र र ‘उथलपुथल’ले संघदेखि प्रदेशसम्म निम्त्याएको भद्रगोलले जनतामा निराशा छाएको थियो, तर अहिले दुई ठूला दल एक ठाउँमा आउने अवस्थामा प्रचण्डकै उथलपुथलले मात्रै काम गर्‍यो वा यो अवस्था आउन उनी कतैबाट प्रयोग भए भन्ने प्रश्न पनि उठेका छन् ।

गत फागुनपछि २०८४ को चुनावसम्मै मिलेर सरकार चलाउने एमाले-माओवादी र साना दलको सहमतिअनुसार अगाडि बढिरहेको अवस्थामा प्रधानमन्त्री दाहालको भारत भ्रमणलगत्तैका अभिव्यक्ति, कांग्रेस-एमाले नेताहरुले गरिरहेका दाबी र नेपथ्यमा भएका छलफल र चलखेलले आन्तरिकभन्दा बाह्य चलखेलको भूमिकाले दुई दललाई एक ठाउँमा ल्याउन सहयोग गर्‍यो कि भन्न सकिन्छ । त्यसकारण यस लेखमा केही आन्तरिक कारणको पृष्ठभूमिमा यसबीचमा भएका बाह्य चलखेल र चाहना, नयाँ समीकरण बनेपछिका सम्भावना र भूराजनीतिक जतिलताबारे चर्चा गरिएको छ ।

खासगरी देशभित्रको राजनीतिक परिवर्तन हुँदा आन्तरिक कारण प्रधान हुन्छ र हुनुपर्ने हो । सिद्धान्ततः देशको आन्तरिक राजनीतिक मामला वा परिवर्तन देशभित्रकै कारणले हुन्छ, तर नेपालको विगतको अभ्यास, नेताको चरित्र, गतिविधि र मनोविज्ञानका कारण बाह्य चलखेल पनि सबैजसो परिवर्तनमा जोडिएर आउँछन् । अहिलेको परिस्थिति पनि त्योभन्दा बाहिर राखेर विश्लेषण गर्दा विषय अपूरो हुन्छ ।

सिद्धान्ततः देशको आन्तरिक राजनीतिक मामला वा परिवर्तन देशभित्रकै कारणले हुन्छ, तर नेपालको विगतको अभ्यास, नेताको चरित्र, गतिविधि र मनोविज्ञानका कारण बाह्य चलखेल पनि सबैजसो परिवर्तनमा जोडिएर आउँछन् । अहिलेको परिस्थिति पनि त्योभन्दा बाहिर राखेर विश्लेषण गर्दा विषय अपूरो हुन्छ ।

मूल विषयमा प्रवेश गर्नुअघि थोरै २०७९ मंसिरको चुनावपछिको चर्चा गरौं । उक्त चुनावमा सरकारमा सहभागी दलहरु कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन र नेकपा एमाले (तराईमा जनता समाजवादी र केही क्षेत्रमा राप्रपासँग गठबन्धन गरेर) प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनको नतिजाबारे धेरै चर्चा गरिरहनु परेन ।

कांग्रेससँग गठबन्धन गर्दा पनि पराजय भोगेको र ३२ सीटमा सीमित भए पनि पूर्वसहमति भन्दै प्रचण्डले प्रधानमन्त्री हुने आकांक्षा राखे, तर कांग्रेस उनलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलसँग मिलेर सरकार बनाए । एमालेलगायत दलसँग सरकार बनाए पनि उनलाई कांग्रेसले समेत विश्वासको मत दियो । उक्त घटनाले एमालेलाई झस्कायो । त्यसपछि दुई महिनापछि भएको राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेर एमालेसँगको साझेदारी तोडे । प्रचण्ड राष्ट्रपतिको चुनावमा कांग्रेससँग मिलेनन् मात्रै एमालेलाई राष्ट्रपति बनाउन नहुने बाह्य शक्तिको खेलामा उनी प्रयोग भए । त्यसपछि उनले कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने र प्रदेशमा पनि सोहीअनुसार सरकार बनाए ।

सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एमालेलाई रोक्ने बाह्य शक्तिको चाहना पूरा गरिदिए । त्यसपछि विदेश भ्रमण पनि दक्षिणी छिमेक भारतबाट गर्ने भनेर चीनमा भएको बोआओ फोरमको कार्यक्रममा गएनन् । भारत भ्रमणमा जाँदा कम्युनिष्ट नेताको गेरुवस्त्र अवतार कसलाई खुसी पार्न लगाए भन्ने कुरा त छिपेको छैन ।

उत्तर छिमेक चीन भ्रमण भने अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर त्यतैबाट गए । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार भएपछि आफ्ना चासो र समझदारीहरु कार्यान्वयन हुने आश गरेको चीनलाई उनले निरास बनाइरहे । गत भदौमा चीन भ्रमण गरेका उनले सन् २०१७ मै हस्ताक्षर भएको र कार्यान्वयनमा जान नसकेको बेल्ट एण्ड रोड (बीआरआई)को कार्यान्वयन योजना अगाडि बढाउन आनाकानी गरिरहे । चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपतिसँग पनि कार्यान्वयन योजनामा छिट्टै सम्झौता हुने प्रतिबद्धता व्यक्त गरे, तर ढिलाइ गरिरहे । ढिलाइ हुनुमा सत्ता साझेदार कांग्रेसलाई देखाइरहे, जसले गर्दा भारत वा पश्चिमाको बीआरआई नेपालमा कार्यान्वयन नहोस् भन्ने चाहनालाई प्रश्रय मिल्यो ।

एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एमालेलाई रोक्ने बाह्य शक्तिको चाहना पूरा गरिदिए । त्यसपछि विदेश भ्रमण पनि दक्षिणी छिमेक भारतबाट गर्ने भनेर चीनमा भएको बोआओ फोरमको कार्यक्रममा गएनन् ।

यसैको पृष्ठभूमिमा विभिन्न आन्तरिक कारणहरु देखाउँदै २०८० फागुनमा फेरि एमालेसँग कुम जोड्न पुगे । कांग्रेससँग सरकार साझेदारी आफूलाई सहज नभएको बताए पनि उनलाई कुन चुम्बकले आकर्षण गरेर एमालेसँग टाँसिए ? अहिलेसम्म चित्तबुझ्दो जवाफ पाइएको छैन । कांग्रेससँगको गठबन्धन छुटाउन पाउँदा प्रचण्डलाई एमाले र रास्वपालगायत दलले समर्थन गरे र सरकारमा पनि धेरै बार्गेनिङ नगरी सहभागी भए, तर प्रचण्डले गठबन्धन गरेर सरकार चलाएको भारत र पश्चिमा शक्तिहरुलाई मन परेको थिएन । किनभने उनीहरु नेपालमा कम्युनिष्ट एक भए चीनसँग नजिक हुन्छन् भन्ने ठान्छन् ।

प्रचण्डले एमालेलगायत दलसँग मिलेर सरकार सञ्चालन गरेको तीन महिना भर्खर पुगेको थियो । त्यसैबीचमा उनी भारतको तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन पुगे । त्यहाँ पुगेर उनले ‘नेपालको सत्ता साझेदारी सहज ढंगले चल्न नसकेको र विभिन्न दबाब आउने गरेको’ बताएको खबरहरु आएका छन् । समाचार र कांग्रेस-एमालेका नेताहरुका अनुसार त्यस क्रममा उनलाई भारतीय नेताहरुले कांग्रेससँग मिलेर सरकार चलाउन सल्लाह दिए । भारतको उक्त सल्लाहले उनलाई आफ्नो सत्ता धेरै नटिक्ने लागेको हुनुपर्छ र नेपाल आएर राष्ट्रिय सहमतिको सरकार बनाउने, आफूँसँग म्याजिक नम्बर रहेको भन्दै भाषण गर्न थाले ।

प्रचण्डको भारतबाट फर्केपछिको गतिविधि र कांग्रेससँग सल्लाह गर्न थालेपछि भर्खरै असन्तुष्टिका बावजुद बजेट पास गरेको एमाले सशंकित भयो । त्यसपछि एमालेले पनि कांग्रेससँग संवाद थाल्यो । यता केही भ्रष्टाचारका काण्डमा सरकारले कांग्रेस सभापति देउवा पत्नी आरजु देउवालगायतमा नेताहरुलाई जोडेको भनेर खबर आइरहेका थिए । त्यसले पनि कांग्रेसलाई एमालेसँग संवादमा पुर्‍याएको देखिन्छ ।

यो पृष्ठभूमिमा हेर्दा कांग्रेस-एमाले मिल्न पुग्नुमा केही आन्तरिक कारण पनि नभएका होइनन्, तर प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि फेरिएको बोली र नेपालस्थित भारतीय प्रतिनिधिहरुको सक्रियता हेर्दा बाह्य कारण प्रधान हो कि भन्ने आँकलन गर्न सकिन्छ ।

चीन भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपतिसँग पनि कार्यान्वयन योजनामा छिट्टै सम्झौता हुने प्रतिबद्धता व्यक्त गरे, तर ढिलाइ गरिरहे । ढिलाइ हुनुमा सत्ता साझेदार कांग्रेसलाई देखाइरहे, जसले गर्दा भारत वा पश्चिमाको बीआरआई नेपालमा कार्यान्वयन नहोस् भन्ने चाहनालाई प्रश्रय मिल्यो ।

नेपालको सत्ता परिवर्तनमा आन्तरिक कारण, संसदीय नम्बरलगायतका विषयसँगै विभिन्न भूराजनीतिक विषय र बाह्य शक्तिको चलखेल तथा इच्छाको प्रभाव पहिले पनि पर्दै आएको हो, तर आफूलाई उत्तर र दक्षिणका छिमेकीको साथ रहेको देखाएर दुई ठूला दललाई दबाबमा राखेर सत्ता चलाउने प्रचण्डको दाउ यस पटक विफल भयो । प्रचण्डलाई अगाडि सारेर कम्युनिष्ट समीकरण तोड्ने बाह्य शक्तिहरुको चाहना पनि पूरा भयो ।

खासगरी नेपालको दक्षिण छिमेक कांग्रेस र एमाले मिलेर शक्तिशाली सरकार बनाओस् भन्ने पक्षमा थिएन र छैन । उसले नेपालमा अस्थिर र कमजोर सरकार हुँदा हावी हुन सकिन्छ भन्ने धारणा राख्छ, तर पछिल्लो समयको कम्युनिष्ट सरकार चीनसँग नजिक हुँदै जाँदा भारतलाई प्रतिकूल हुने उसको बुझाइ थियो । त्यसैले कांग्रेसलाई सत्तामा फर्काउने उसको योजनाअनुसार प्रचण्डको भ्रमणमा उसले कुरा उप्कायो । प्रचण्डले केही समयपछि कांग्रेससँग मिल्ने आश्वासन दिए । त्यहीअनुसार नेपाल फर्किएर उनले राष्ट्रिय सहमति र एमालेलाई सशंकित बनाउने अनेक भाषण गर्न थाले । भारतले प्रचण्डमार्फत त्यो वातवरण बनाउन खोज्यो, तर कांग्रेसले माओवादीसँग नभइ एमालेसँग मिलेर सरकार चलाउने सहमति गर्‍यो र केपी ओलीलाई पहिलो दुई वर्ष प्रधानमन्त्री बनाउन सहमत भयो ।

पछिल्लो समय भारत केपी ओलीप्रति सकारात्मक छैन । ओलीले भारतले लगाएको नाकाबन्दीबारे लिएको अडान र भारतले कब्जा गरेको भूभाग समेटेर देशको राजनीतिक नक्सा जारी गर्दा नेतृत्व गरेकाले पनि उसले ओलीलाई रुचाउँदैन । ओलीको कार्यकालमा चीनसँग भएको पारवहान सम्झौता, चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यस बखतका सम्झौतालाई पनि भारतले सकारात्मक रुपले लिएको छैन । यो अवस्थामा कांग्रेससँग साझेदारी गरेका ओलीलाई भारतसँग संवाद गर्दै दुई देशबीच थाती विवाद समाधान गर्ने चुनौती पनि सामुन्ने छ ।

यता उत्तर छिमेकी चीन पछिल्लो समीकरण निर्माणको भूमिकामा देखिँदैन । चीनका लागि कम्युनिष्ट नेतृत्वको सरकार नै काम गर्न सहज हुने थियो । प्रचण्डको दोहोरो भूमिकाका कारण उनलाई त्यति विश्वास नगरे पनि कम्युनिष्ट सरकारसँग उसले सहज ठान्छ । अहिले एमाले र माओवादीको सरकार भएका बेला लामो समयदेखि रोकिएको बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर हुनेमा विश्वस्त थियो, तर अब कांग्रेस-एमाले सत्ता साझेदारी हुने भएपछि यसबारे के हुन्छ भन्ने चीनको चासो छ । बीआरआई कार्यान्वयनमा लगानी मोडालिटीबाहेक अन्य विषय मिलिसकेको छ । यो अवस्थामा बीआरआईप्रति फरक धारणा भएको कांग्रेसलाई विश्वासमा लिएर पहिलो चरण प्रधानमन्त्री हुने ओलीको भूमिका महत्वपूर्ण रहन्छ ।

अब कांग्रेस-एमाले सत्ता साझेदारी हुने भएपछि यसबारे के हुन्छ भन्ने चीनको चासो छ । बीआरआई कार्यान्वयनमा लगानी मोडालिटीबाहेक अन्य विषय मिलिसकेको छ । यो अवस्थामा बीआरआईप्रति फरक धारणा भएको कांग्रेसलाई विश्वासमा लिएर पहिलो चरण प्रधानमन्त्री हुने ओलीको भूमिका महत्वपूर्ण रहन्छ ।

त्यसैगरी नयाँ गठबन्धन बन्दै गर्दा नेपालमा कम्युनिष्ट पार्टीको मात्रै सरकार टिक्न नदिन पश्चिममा शक्तिहरु पनि आन्तरिक रुपमा सक्रिय नै देखिन्छन् । कम्युनिष्ट सरकार चीनसँग नजिक हुने र आफ्नो उद्देश्य पूरा नहुने उसको बुझाइ छ । पश्चिमा शक्ति गैरकम्युनिष्ट सरकारका पक्षमा भए पनि नेपालमा अहिले गैरकम्युनिष्टको मात्रै सरकार बन्ने संसदमा संख्या नभएकाले कांग्रेस कुनै एक कम्युनिष्टसँग मिलेर सरकारमा रहे पनि उनीहरु केही अनुकूल ठान्छन् । त्यसैगरी नेपालको संविधानलाई अझ लोकतान्त्रिक बनाउने भन्दै केही विषयहरु संशोधन होस् भन्ने पश्चिमाहरुको इच्छा पनि छ । यी कामहरु कांग्रेस र एमाले मिल्दा सम्भव हुने देखेर यो गठबन्धनप्रति उनीहरु सकारात्मक हुनसक्छन् ।

समग्रमा कांग्रेस-एमाले मिलनको मुख्य कारण प्रचण्ड र उनको उथलपुथल शैली नै हो । उनको उथलपुथललाई बाह्य शक्ति, खासगरी भारत प्रयोग गर्न खोज्दा कांग्रेस-एमाले समीकरण बन्न पुग्यो । उसले चार महिना अगाडि मात्रै एमालेसँग मिलेका प्रचण्डलाई नै मैदानमा उतारेर एमालेलाई पुनः सत्ता बाहिर पुर्‍याउने र कांग्रेस-माओवादी मिलाउने योजना कांग्रेस-एमाले मिल्दा पूरा भएन । यसरी ठूला दलहरु एक ठाउँ हुँदा शक्ति केन्द्रहरुको चलखेल रोक्न सकिन्छ । संविधान निर्माण र नाकाबन्दीको सामना पनि उनीहरुको दबाबमा नपरेरै सम्भव भएको हो । यो समीकरण पनि त्यसरी नै आफ्नै बलबुताले बनेको होस् ।

बाह्य सम्बन्ध र साझेदारी देशको अवस्था, आवश्यकता, भूराजनीतिक अवस्थाअनुसार हुने हो । देशको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप हुन दिनुहुँदैन । छिमेकी वा बाह्य शक्तिहरुले पनि नेपालको आवश्यकताअनुसार आफ्नो भूमिका निर्वाह गर्ने र सम्बन्ध राख्ने हो । देशको आन्तरिक राजनीतिमा बढी चासो देखाउँदा त्यसको नतिजा उनीहरुका लागि पनि प्रत्युत्पादक हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *