गठबन्धन फेरिएपछि सदनमा घोचपेच : प्रचण्डको बचाउमा रास्वपा, कांग्रेस-एमालेको सहमतिमा आशंका – Nepal Press

गठबन्धन फेरिएपछि सदनमा घोचपेच : प्रचण्डको बचाउमा रास्वपा, कांग्रेस-एमालेको सहमतिमा आशंका

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमतिपछि बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच सवालजवाफ चलिरहेको छ ।

स्पष्ट अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन फेस गर्छु भनेर २८ गते विश्वासको मत लिने तयारी गरिरहेको बेलामा सदनमा सांसदहरुबीच आरोप प्रत्यारोप र सवाल जवाफ चलिरहेको छ ।

कांग्रेस र एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गर्दै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले संविधानको अधिकार प्रयोग गर्ने भन्दै विश्वासकोे मत लिने रणनीतिमा अघि बढेका छन् ।

यद्यपी, यो बीचमा कुनै अर्को उथलपुथल नभए प्रचण्डले विश्वासको मत पाउने सम्भावना छैन । तर, कांग्रेसका नेताहरुसँगको संवाद बढाउँदै विश्वासको मत लिने गृहकार्य थालेकाले कांग्रेस एमालेमा पनि केही अविश्वास देखिन्छ । तर, दुवै दलले सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच भएको सात बुँदे सहमति कार्यान्वयन हुनेमा दृढ रहेको बताउँदै आइरहेका छन् ।

कांग्रेस एमाले सहमति अनुसार सुरुको दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने त्यसपछिको डेढ वर्षको चुुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको आरोप लगाए । उनले राजीनामा गोजीमा बोकेर हिँड्का छौं भन्ने रास्वपाका मन्त्रीहरुलाई पनि प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?’

उनले प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा खुत्रुकेमा जतनसाथ राखेको टिप्पणी गरे ।

बर्तौलाले प्रश्न गरेपछि रास्वपा सांसद मनिष झाले कांग्रेस एमालेका नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिए ।

उनले भने, ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरि ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाईहरुकै संख्या छ ।’

उनले कांग्रेस एमालेको बहुमत हुने सम्भावना भए अझै ४ दिन कर्न आग्रह गरे ।

प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त हुँदा पनि प्रधानमन्त्रीले यही साता विश्वासको मत लिने लाग्दा पनि दुई ठूला दल डराएको टिप्पणी गरे । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन आग्रह गरे। त्यसो त एउटै गठबन्धनमा हुँदा रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोकेको एमालेको अहिले सदनमा आसन फेरिनसाथ आलोचनामा उत्रिएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री संलग्न भएको भन्दै छानबिन समितिको माग राख्दा ओलीले त्यसको प्रतिवादमा उत्रिएका थिए । कांग्रेस एमालेको सहमतिमा आशंका बढिरहेको बेलामा कांग्रेसकी सांसद शान्ती बिकले देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई चेतावनी दिइन् ।

देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताइन् ।

सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको उनका भनाइ छ । प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो? भन्दै प्रश्न गरिन् ।

अहिले कांग्रेस एमालेको मिलनलाई माओवादीका सांसद पूर्णबहादुर घर्तीले दुई पार्टी बीचको सहमति दुई दलीय प्रणालीको लागि हो भने मान्य नहुने चेतावनी दिए । संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘कांग्रेस एमालेबीचको सहमति औपचारिक ढंगले आउन सकेको छैन । त्यो सहमतिको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ । यो पश्चागामी कदम हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर