१६ वर्षे यमाल चम्किएपछि भाइरल भइरहेको मेस्सीसँगको त्यो फोटो – Nepal Press

१६ वर्षे यमाल चम्किएपछि भाइरल भइरहेको मेस्सीसँगको त्यो फोटो

काठमाडौं । युरो कपमा स्पेनका १६ वर्षे प्ले मेकर लेमिन यमाल चम्किएपछि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ, जसमा लियोनल मेस्सीले सानो बच्चालाई नुहाइरहेको देखिन्छ । प्लास्टिकको बकेटमा यमाललाई उनकी आमाले नुहाइदिइरहेका बेला मेस्सी उनलाई समाउँदै मुस्कुराउँदै गरेको तस्वीरमा देखिन्छ ।

यो तस्विर सामाजिक सञ्जालमा अरु कसैले नराखेर यमालका बुबा आफैंले पोष्ट गरेका हुन्, जसको क्याप्सन लेखिएको छ, ‘दुई लिजेन्ड्सको सुरुवात ।’ यमालले आफ्नो आइडल मेस्सीलाई मान्दै आएका छन् ।

जारी युरो कपमा उनले तीन असिस्ट गरेका छन् भने स्पेन सेमिफाइनल पुगिसकेको छ । क्वाटरफाइनलमा उनले जर्मनीविरुद्ध डानी ओल्मोलाई शानदार पास उपलब्ध गराएका थिए । यमालका बुबाले उक्त तस्वीर राखेपछि बार्सा बजले सोही बेला खिचिएका अन्य तस्वीरहरु पनि सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो तस्वीर यमाल ६ महिनाको हुँदा लिइएको हो । स्पेनस्थित बार्सिलोनाको मुख्यालयमा सन् २००७ को डिसेम्बरमा यो तस्वीर युनिसेफको सन् २००८ क्यालेन्डरका लागि लिइएको दाबी गरिएको छ । मेस्सी बार्सिलोनाको एकेडेमी ला मासियामा ७ वर्षको उमेरमा प्रवेश गरेका थिए । उनी सन् २००४ देखि २०२१ सम्म बार्सिलोनाका लागि प्रिमियर लिग खेल्दै त्यसपछि त्यहाँबाट बाहिरिएका थिए ।

पछिल्ला तीन वर्ष मेस्सी स्वर्णिम समय बाँचिरहेका छन् । सन् २०२१ मा मेस्सीले कोपा अमेरिका जित्दा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको २८ वर्ष लामो उपाधि खडेरी तोडिएको थियो । त्यसको एक वर्षपछि मेस्सीले विश्वकप जितेका थिए, जुन अर्जेन्टिनाले ३६ वर्षपछि प्राप्त गरेको सफलता थियो । हाल मेस्सीको कप्तानीमा कोपा अमेरिका खेलिरहेको अर्जेन्टिना सेमिफाइनल पुगिसकेको छ ।

यमाल, मेस्सी जस्तै ला मासियाकै उत्पादन हुन् । उनी सन् २०१३ देखि ला मासिया बसेका थिए । उनले सन् २०२३ मा स्पेन र बार्सिलोना दुवै टोलीका लागि सिनियर टोलीमा डेब्यु गरेका हुन् । उनलाई नयाँ मेस्सीका रुपमा पनि चित्रण गर्ने गरिएको छ, तर यमाल आफूलाई मेस्सीसँग तुलना गरिएको मन पराउँदैनन् ।

‘मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट हुन् । उनीसँग तुलना हुनु अहोभाग्य हो, तर उनीसँग कोही पनि तुलना हुन सक्दैन । मेस्सीले आफ्नो करियरमा प्राप्त गरेको आधा प्राप्त गर्ने मेरो अपेक्षा छ’, यमाल भन्छन् ।

स्पेन सन् २०१२ यता पहिलो पटक युरो कप जित्ने दौडमा छ । स्पेनले सन् २००८ देखि २०१२ सम्म दुई पटक युरो कप र विश्वकप जितेर तहल्का मच्चाएको थियो ।

स्पेनको टिकीटाका शैलीले विश्व फुटबललाई हैरान बनाएको थियो । त्यसयता भने स्पेन मुख्य प्रतियोगिताको फाइनल पुग्न सकेको छैन । स्पेनलाई फाइनल पुग्न यस पटक सजिलो छैन किनभने सन् २०१८ को विश्व विजेता र सन् २०२२ को विश्वकप उपविजेता फ्रान्ससँग स्पेनले सेमिफाइनलमा खेल्नुपर्नेछ ।

यो भिडन्तमा फ्रान्सका केलियन एमबाप्पेसँग यमाल आमनेसामने हुनेछन् । फ्रान्स सन् २००० पछि पहिलो पटक युरो कप जित्ने प्रयासमा छ। सन् २०१६ को संस्करणमा फाइनलसम्म पुगे पनि पोर्चुगलसँग पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *