विपद्‍मा परेर एक महिनामै ७४ जनाको मृत्यु – Nepal Press

विपद्‍मा परेर एक महिनामै ७४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाले आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी पछिल्लो एक महिनामा ७४ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म ७४ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी, पहिरोलगायतका विपद्‍मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा २२, कोशी र लुम्बिनीमा १८-१८, बागमती, कर्णाली र सुदूरपश्चिममा ४-४, मधेशमा ३ र काठमाडौं उपत्यकामा १ जना गरेर ७४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गण्डकीमा २६, कोशीमा २१, कर्णालीमा १५, सुदूरपश्‍चिममा १०, मधेशमा ५, बागमती र लुम्बिनीमा ४-४ र काठमाडौं उपत्यकामा ३ जना गरी ८८ जना घाइते भएका छन् ।

घाइतेलाई उपचार गर्न स्थानीय अस्पताल पुर्‍याउनुका साथै कोशीमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको प्रहरी प्रवक्ता डीआईजीपी कार्कीले बताए । उनका अनुसार बाढी पहिरोमा परी कोशी र बागमतीमा २-२ तथा सुदूरपश्‍चिममा १ गरी ५ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ घर, ५३ गोठ, ४१ पुल, २ सरकारी कार्यालय र एउटा विद्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपाया परेका छन् । उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार २९६ घरपरिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *