रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ? – Nepal Press

रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल कारबाहीमा पर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने स्रोतहरु बताउँछन् ।

रास्वपामा सभापतिपछिको शक्तिशाली पद हो महामन्त्री । पार्टीको नीति निर्माणदेखि जिम्मेवारी बाँडफाँट र संगठनात्मक कामहरुमा महामन्त्रीको अहम् भूमिका हुन्छ । डा. ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

भोलि बस्ने केन्द्रीय समिति बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो । ढकालको पद पुनःस्थापन नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।

अहिले महामन्त्रीका लागि चार जना नेताहरुले आकांक्षा देखाएको स्रोतले जानकारी दियो । स्रोतका अनुसार सबैभन्दा कडा लविङ सन्तोष परियारले गरिरहेका छन् । उनी रास्वपाका समानुपातिक सांसद र प्रमुख सचेतक हुन् । महामन्त्री पाएमा प्रमुख सचेतक त्याग्न उनी तयार रहेको बुझिएको छ । दलित समुदायको भएकाले समावेशीताको सन्देश दिनलाई पनि आफू महामन्त्री बन्नुपर्नेमा उनको जोड छ ।

परियार एमाले पृष्ठभूमिका हुन् । एमाले छाडेपछि उनी जातीय एजेन्डा बोकेर हिँडे । रास्वपा प्रवेश गर्नुअगाडि दलित अभियन्ताको छवि बनाएका थिए । पार्टी स्रोतहरुका अनुसार उनको कार्यक्षमता राम्राे छ, तर जातीय कुन्ठाले ओतप्रोत छन्।

‘यदि आफूलाई महामन्त्रीबाट पन्छाइयो भने जातकै कारणले हो भन्ने निष्कर्ष निकाल्न पनि बेर लगाउँदैनन्,’ एक केन्द्रीय सदस्यले भने ।

हालका कार्यवाहक प्रवक्ता मनिष झाले पनि महामन्त्रीमा आँखा लगाएका छन् । परियारले जस्तै उनले पनि जातीय समावेशीता हुने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेको स्रोत बताउँछ । झा कांग्रेस पृष्ठभूमिका हुन् । उनी कांग्रेसमा गगन थापा निकट थिए । गत आमनिर्वाचनको मुखमा रास्वपा प्रवेश गरे र समानुपातिक सांसद पड्काए ।

काठमाडौंका केही निर्वाचन क्षेत्रमा गगन थापा र रास्वपाबीच अघोषित सहकार्य भएको थियो, जुन तथ्य महामन्त्री मुकुल ढकालले नै सार्वजनिक गरेका छन् । गगनको क्षेत्रमा रास्वपाले उम्मेदवारी नै दिएन भने रास्वपालाई दुई स्थानमा जिताउन गगनले भूमिका खेलेको ढकालको दाबी छ । यो सहकार्य गराउन झाले मध्यस्थताको भूमिका खेलेको बताउने गरिन्छ ।

स्रोतका अनुसार झालाई महामन्त्री बनाइहाल्ने सम्भावना कमजोर छ । बरु महामन्त्री र प्रवक्तालाई अलग गरेर झाले पूर्णकालीन प्रवक्ताको जिम्मेवारी पाउन सक्छन् ।

सोभिता गौतमको नाम पनि भावी महामन्त्रीको लागि चर्चामा छ । उनी काठमाडौं- २ की निर्वाचित सांसद हुन् । संसद र संसदीय समितिमा उनले प्रखर भूमिका निभाइरहेकी छन् । तार्किक क्षमता, कानूनी जानकार तथा बौद्धिकता उनका सबल पक्ष हुन् । संगठनात्मक जिम्मेवारीमा भने उनको अनुभव खासै छैन ।

यसअघि रास्वपाको भागमा उपसभामुख परेपछि सोभिताको नाम चर्चामा ल्याइएको थियो । तर, पार्टीले इन्दिरा रानालाई रोजेपछि उनले सहर्ष स्वीकार गरिन् । महामन्त्रीमा पनि उनको कडा दावेदारी भने छैन । यद्यपि, जननिर्वाचित, क्षमतावान र महिला भएकाले केन्द्रीय सदस्यहरु उनको पक्षमा उभिन पनि सक्छन् ।

महामन्त्रीका अर्का आकांक्षी कविन्द्र बुर्लाकोटी हुन् । हाल कार्यवाहक दिइएपछि उनको महत्वाकांक्षा बढेको छ । तर, उनी महामन्त्रीको जिम्मेवारी थाम्नसक्ने नेता होइनन् भन्ने धेरै केन्द्रीय सदस्यहरुको बुझाइ छ ।

बुर्लाकोटीले पार्टीमा महत्वपूर्ण भूमिका पाइरहे पनि कार्यसम्पादनमा चुकिरहेका छन् । उनी संगठन विभाग प्रमुख पनि हुन्, तर संगठनमा खासै लोकप्रिय छैनन् । रास्वपाले इलामको उपचुनावमा बुर्लाकोटीलाई कमाण्डर बनाएर पठाएको थियो । त्यहाँ पार्टीका उम्मेदवारको जमानत नै जफत भयो । इलाममा जनजाति उम्मेदवार नै चाहिने भनेर बुर्लाकोटीले जोडबल गरेपछि मिलन लिम्बूलाई भित्र्याएर उम्मेदवार बनाइएको थियो ।

एक केन्द्रीय सदस्यले भने, ‘उहाँ अर्को मुकुल ढकाल हो । सबैको चित्त बुझाएर जानेभन्दा पनि आफ्नो कुरा लाद्न खोज्ने प्रवृत्ति छ ।’

रास्वपामा बुर्लाकाेटीबाहेक सुमना श्रेष्ठ र विपीन आचार्य पनि सहमहामन्त्री छन् । पदीय हिसाबले उनीहरूलाइ पनि महामन्त्रीकाे स्वतः दावेदारका रुपमा हेरिएकाे छ । यद्यपि उनीहरु दुवैले आकांक्षा देखाएका छैनन् । हाल शिक्षामन्त्री रहेकी सुमना सरकारबाट हटेसँगै सांसदकै जिम्मेवारीमा केन्द्रित हुन चाहन्छिन् । सांसदका रूपमा उनले प्रभावशाली भूमिका निभाउँदै आएकी थिइन् ।

केन्द्रीय समितिमा छलफल हुने भए पनि महामन्त्री चयनमा सभापतिकै मत निर्णायक हुने पक्का छ । उनले प्रस्ताव गर्ने नामलाई बैठकले अस्वीकृत गर्ने सम्भावना न्यून रहेको बताइन्छ ।


प्रतिक्रिया

3 thoughts on “रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ?

  1. सोविता गौतमलाई महामन्त्री दिदा पार्टीले महिल सहभागिता लाई पनि ध्यान दिए जस्तो देखिन्छ र उहाँ एक असल र कुसल प्रभावशाली नेतृ हो । अन्तराष्ट्रमा समेत नाम कपाउन सफल नेतृ गौतममा पार्टीलाई एक ढिक्का बनाएर लैजाने क्षमता रहेको छ । जातिय नारालाई प्राथमिकतामा राखेर हेर्ने कसैलाई पनि पार्टी काखी च्याप्ने काम गर्नु राम्रो होइन । मुकुल प्रविधि परास्त गर्ने नै हो भनि सोविता गौतम नै निरविकल्प महामन्त्री बनाइनु पर्छ ।

  2. ठिक छ पार्टीले मुकुलको नौटंकीलाई स्विकार्न सकेन र त्यस्ता अराजकलाई कारबाही गरेर जान्छ भनि केही छैन् । तर मुकुलको ठाउँमा अब सोविता गौतम लाई महामन्त्री बनाइनु पर्छ । किनकी रास्वपाले महिला सहभागिता लाई पनि ध्यान दिने रैछ भन्ने सन्देश फैलाउनु पर्छ । र उहाँ चार जना दावेदारहरू मध्ये उत्कृष्ट र अन्तराष्ट्रिय पहिचान बनाउन सफल भई सकेकी नेतृ हुन् । अहिलेको अवश्थामा निरविकल्प महामन्त्रीको दावेदार हो सोविता गौतम मनिष झा लाई प्रवक्ता दिदा अरू दुई जना सहमहामन्त्री र संसदीय दलको प्रवक्ता नै हुनुहुन्छ ।

  3. पार्टी पार्टी जस्तो होस् कुनै क्लब जस्तो नबनोस्। जुन सोचका साथ पार्टीको गठन भएको हो त्यसले सार्थकता प्राप्त गरोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर