करिब ३० वर्षको विरासत बाेकेकाे रिलायन्स स्पिनिङ मिल्स : आईपीओमार्फत जनतामाझ जाेडिँदै  – Nepal Press

करिब ३० वर्षको विरासत बाेकेकाे रिलायन्स स्पिनिङ मिल्स : आईपीओमार्फत जनतामाझ जाेडिँदै 

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले असार २७ गते आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले बुक बिल्डिङमार्फत प्रिमियम मूल्य (प्रतिकित्ता ८२०.८० रुपैयाँ) मा आईपीओ ल्याउन लागेको हो ।

करिब ३० वर्षअघि २ करोड ६० लाख अधिकृत पूँजीमा २०५१ चैतमा रिलायन्स स्पिनिङ मिल्सको स्थापना भएको थियो । ३० वर्षको विरासत बोकेको रिलायन्स सर्वसाधारणमा जान लागेपछि मिल्सको चर्चा र आलोचना त्यत्तिकै बढेको छ ।

कम्पनी आईपीओमार्फत सर्वसाधारणमा जाने कुरालाई वित्तीय कोणबाट र पृष्ठभूमिगत कोणबाट चर्चा भइरहेको छ । एकातिर कम्पनीको घट्दो नाफा रहेको छ भने अर्कोतर्फ कम्पनीले आफ्नो उत्पादन र क्षमतालाई बढाउन सर्वसाधारणबाट उठाउन लागेको १ अर्ब ५८ करोड रुपैयाँ छ ।

वार्षिक ४८ हजार ९६० मेट्रिक टन उत्पादन क्षमता रहेको रिलायन्स स्पिनिङ मिल्स देशकै ठूलो निर्यातकर्ता र रोजगारीदाता रहेको रिलायन्स स्पिनिङ मिल्सका उपाध्यक्ष महेश पोखरेल बताउँछन् ।

रिलायन्स स्पिनिङ मिल्सले पोलिस्टर, भिसकोस, एक्रेलिक, कटन र अल्लो जस्ता कच्चा पर्दाथहरु आयात गरेर बजार मागअनुसार सिंगल र डबल धागाहरू उत्पादन गर्दछ ।

४ हजारलाई रोजगारी दिएको देशकै ठूलो धागो उद्योग

नेपालमा माओवादीको भूमिगत युद्ध चलिरहेकै बेला २०५१ सालमा दर्ता भएको स्पिनिङ मिल्सको उत्पादन भने २०५४ सालदेखि सुरु भएको थियो । सुनसरी जिल्लाको इटहरी १२ खनारमा २६ बिगाहा क्षेत्रफलमा रिलायन्स स्पिनिङ मिल्सको उद्योग रहेको छ ।

यस उद्योगको ढाँचा आठ वटा युनिटमा बाँडिएको छ । धागो उत्पादन गर्ने २०५४ सालको पहिलो मेसिन युनिटदेखि अहिले अत्याधुनिक जापानी प्रविधिको मेसिन युनिटसम्म रहेको छ ।

धागो उद्योगको स्थापनामा प्रयोग गरिएको पहिलो मेसिनलाई युनिट १ को नामबाट राखिएको छ । अहिलेको अत्याधुनिक प्रविधियुक्त जापानी प्रविधिमा आधारित धागो उत्पादन गर्ने मेसिनलाई ८ औं युनिटको रूपमा राखिएको छ ।

रिलायन्सले १ हजार ५५० महिलासहित ४ हजार जनालाई रोजगारी दिएको छ । त्यस्तै, मिल्सले २६ बिगाहाको फ्याक्ट्रीबाहेक पनि साढे दुई बिगाहा जमिन लिजमा लिएर श्रमिकहरूका लागि खेलकुदको स्थान बनाइदिएको छ । जहाँ दिनहुँ श्रमिकहरूले खेलहरू खेल्ने गर्दछन् भने  वार्षिक रूपमा पनि उत्सवका रूपमा पुरस्कारसहितको प्रतिस्पर्धा गराइने गरेको छ ।

उद्योगको वित्तीय अवस्थाको पाटो एकतिर होला । तर, उद्योगको वास्तविक अवस्था र उत्पादनको क्षमता तथा कार्यप्रवृतिलाई हेर्न र केलाउन त्यत्तिकै महत्त्वपूर्ण रहेको हुन्छ ।

मिल्सको उत्पादन, क्षमता, कार्यशैली र श्रमिकहरूको अवस्थालाई हेर्दा सूचकहरु सकारात्मक रहेकाे भन्न सकिन्छ । यसको पहिलो कारण हो स्पिनिङ मिल्समा काम गर्ने श्रमिकहरू । कम्पनीले ४ हजारै श्रमिकहरुको सामाजिक सुरक्षा गरिदिएको र न्यूनतम ज्यालाभन्दा बढी नै पारिश्रमिक दिएको रिलायन्सका उपाध्यक्ष महेशले बताउँछन् ।

उनका अनुसार मिल्समा काम गर्ने सबैको सेवा सुविधा र सुरक्षा तथा स्वास्थ्यको कुरामा कम्पनीले विशेष प्राथमिकता दिएको उनी बताउँछन् । जसकारणले उद्योगमा विगत २८ वर्षदेखि काम गर्ने कामदारहरू परिवारसहित पनि उद्योगमै बस्दै आएका छन् ।

रिलायन्स स्पिनिङ मिल्सको अर्को आकर्षक पक्ष भनेको कामदारहरूको वातावरण हो । स्थापना कालदेखि नै काम गरेका श्रमिकहरूदेखि अहिले कक्षा १२ पास गरेका युवासम्म रहेका छन् ।

उद्योगभित्रै २८० परिवार बसोबास गर्ने गर्दछन् । कम्पनीले सबैलाई बसाेबासको व्यवस्था पनि मिलाइदिएको छ । उद्योगभित्रै एक जना डक्टरसहित प्राथमिक उपचार केन्द्र राखिएको छ ।

त्यस्तै, महिला कामदारहरूका लागि ‘महिला आराम गृह’ भवन नै बनाइएको छ । उक्त महिला आराम गृहमा महिलाहरूले आराम तथा बालबालिकाहरूको हेरचाह गर्न सक्छन् ।

उद्योगले कर्मचारीहरूलाई विशेष प्राथमिकता दिएको उपाध्यक्ष पोखरेलले दाबी गरे । ‘हामीसँग काम गर्ने कर्मचारीहरू सबै परिवार सरह नै हुन् । हाम्रा लागि परिवारका सदस्य हुन् । हाम्रै उद्योग परिसरभित्र २८० परिवारहरू बसोबास गर्ने गर्दछन् । ३८ वर्षदेखि परिवारसहित काम गर्दै आएका कामदार पनि रहेका छन्’, पोखरेल भन्छन्, ‘बाहिरी हेर्ने दृष्टिकोण जस्तोसुकै भए पनि उद्योगको उत्पादन र कार्यशैलीका साथै कामको अवस्था हेल्थी अवस्थामा रहेको छ । हामी दाबी गछौं कि हाम्रो उद्योगले कसैका लागि नराम्रो गरेको छैन । त्यसैले तीन दशकसम्म नेपाली बजारमा टिकेका छौँ ।’

विद्युत् प्राधिकरणसँगको बक्यौता विवाद र विकल्पको खोजी

२०७५ मा नेपाल विद्युत् प्राधिकरणले २०७२ सालदेखि २०७५ सालसम्मको डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको बक्यौता महसुल तिर्नका लागि ६१ उद्योगहरुमा पत्र पठायो । उक्त उद्योगहरूमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड पनि रहेको थियो ।

६१ वटा उद्योगहरूले प्राधिकरणलाई करिब ६ अर्ब ६० करोड बढीको बक्यौता तिर्नुपर्ने प्राधिकरणले उल्लेख गरेको थियो । उक्त बक्यौतामा रिलायन्स स्पिजिङ मिल्सको भागमा ७३ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

२०७५ सालमा प्राधिकरणले काटेको पत्रको लामो समयसम्म विवादमै गएपछि अहिले २०८१ आई पुग्दासम्म विद्युत् महसुल बक्यौता ८ अर्ब २५ करोडमाथि पुगिसकेको छ ।

२०७५ सालमा रिलायन्स स्पिनिङ मिल्सलाई प्राधिकरणले तिर्न भनेको ७३ करोडको बक्यौता अहिले १ अर्ब ९४ करोडमाथि पुगिसकेको छ ।

लामो समयसम्म विवादमा रहको विद्युत् बक्यौताले गर्दा कम्पनीलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवैले प्रभाव पारेको रिलायन्सका उपाध्यक्ष महेश पोखरेलले बताउँछन् ।

रिलायन्सले तिर्नुपर्ने बक्यौता अदालतले प्रमाणित गरेमा उक्त जति रकम तिर्नुपर्ने हो त्यो तिर्नका लागि कुनै ठूलो कुरा नरहेको उपाध्यक्ष पोखरेलको भनाइ छ ।

रिलायन्स स्पिनिङ मिल्सले मासिक ६ करोडको विद्युत् खपत गर्दछ । अहिले पनि उद्योगमा निरन्तर लोडसेडिङ भइरहेको कम्पनीले विकल्पको रूपमा सोलर जडानको काम सुरु गरिसकेको उनको भनाइ छ ।

‘प्राधिकरणले रिलायन्समाथि प्रमाणबिना बक्यौता थुपारेको हो । हामीले आफ्नो अधिकार प्रयोग गरेर कागजपत्र माग गरेका छौँ । त्यो प्राधिकरणले दिन सकेन । अन्तिम बाटो अदालत हो । अदालतले नै हामीलाई गलत सावित गरेमा १ अर्ब ९४ करोड रुपैयाँ देशकै सबैभन्दा ठूलो निर्यातकर्ता कम्पनीका लागि तिर्नु ठुलो कुरा होइन’, पाेखरेलले भने, ‘अहिले पनि लोडसेडिङ भइरहेकै हुन्छ । यो झन्झट धेरै भयो । त्यसैले विकल्पको रूपमा सोलार जडानको काम सुरु गरिसकेका छौँ । अबको २ महिनामा सोलारबाटै उद्योग चलाउने छौँ । त्यति बेला नै हामीले बारम्बार विद्युत् प्राधिकरणबाट पनि डेडिकेटेड लाइनका नाममा लोडसेडिङ बाहेक केही पाएका थिएनौँ । यो कुरा हामीले उठाउँदै आएका थियौँ ।’

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय अवस्था कस्ताे छ त ?

बुक बिल्डिङमार्फत आईपीओ निकाल्नका लागि रिलायन्सले देखाएको वित्तीय अवस्था विगतका वर्षभन्दा खस्किँदै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा कम्पनीको नाफा १ अर्ब २ करोड पुगेको देखिन्छ ।  आर्थिक वर्ष २०७९/७८ मा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात् ईपीएस ५३.९१ रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ईपीएस ६१.१२ रुपैयाँ रहेको र आर्थिक वर्ष २०७९/८० मा ईपीएस ५४.१२ रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा आउँदा भने कम्पनीको आम्दानी ओरालोतर्फ गएको देख्न सकिन्छ । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म करिब ९७ प्रतिशतले नाफा घटेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले ९ महिनामा २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा करिब ९७ प्रतिशतले कम हो । गत वर्षसम्म ५४.१२ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २.०८ प्रतिशतमा झरेको छ ।

त्यसैगरी, तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ३९ करोड ९७ लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षमा १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

गत वर्षसम्म राम्रै अवस्थामा मुनाफा गरिरहेको उद्योगको अवस्थामा गिरावट आउनुको एक कारण विद्युत् प्राधिकरण रहेको कम्पनीका उपाध्यक्ष महेश पोखरेल बताउँछन् ।

उनका अनुसार गत पुस महिनादेखि नेपाल विद्युत् प्राधिकरणको बक्यौताको कारणले उत्पादनमा असर गरेको छ । उनी भन्छन्, ‘गत पुस महिनादेखि उद्योगलाई प्राधिकरणले प्रभाव पारेको छ । वित्तीय अवस्थाका धेरै पाटाहरू रहेका छन् । जसमध्ये विद्युत् प्राधिकरण एक हो । तर, त्यसमा हामी अल्झिएर बसेका छैनौ । हामीले विकल्पको खोजी गरिसकेका छौँ । यस वर्षमा हाम्रो उत्पादन पनि निकै घटेको कारणले गर्दा पनि नाफामा असर परेको देखिन्छ । तर, हाम्रा समस्याहरूलाई समाधान गर्दै उद्योगलाई बढाउन गइरहेका छौँ । त्यसैले हामीले आइपीओमा जाने निर्णय गरेका हौँ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर