मुकुल ढकालमाथिको कारबाहीबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक जारी – Nepal Press

मुकुल ढकालमाथिको कारबाहीबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको हो ।

अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालकाे विषयमा पार्टीको अनुशासन आयोगले बुझाएकाे प्रतिवेदनमाथि छलफल भइरहेकाे रास्वपाले जनाएको छ । प्रतिवेदन अनुसार  थप निर्णय लिने तयारी भइरहेकाे  एक केन्द्रीय सदस्यले बताए ।

महामन्त्री ढकालमाथि आजै कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने स्रोतहरु बताउँछन् ।

डा.ढकालले स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको दोहोरो भूमिका निभाइरहेका थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।

बैठकले ढकाललाई पदमुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो । यस विषयमा पार्टीको अनुशासन आयोगले नेतृत्वलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा गरिएको सिफारिसअनुसार नै कारबाही गर्ने वा त्यसमा तलमाथि गर्ने अधिकार केन्द्रीय समितिलाई रहन्छ ।

ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको थियो ।

ढकालको पद पुनःस्थापना नहुने भएपछि स्थायी महामन्त्री चयन गर्ने तयारी भएको हो । महामन्त्री चयनको अधिकार सभापतिलाई हुने भए पनि सभापति रवि लामिछानेले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर