स्पेनविरुद्ध भिड्दै फ्रान्स : एमबाप्पेलाई यमाल र ओल्मोको त्रास – Nepal Press

स्पेनविरुद्ध भिड्दै फ्रान्स : एमबाप्पेलाई यमाल र ओल्मोको त्रास

काठमाडौं। युरो कप २०२४ को पहिलो सेमिफाइनलमा मङ्गलवार राती दुई पूर्व विजेता स्पेन र फ्रान्स भिड्दैछन्। यो खेल नेपाली समयअनुसार राती पौने १ बजे सुरु हुने छ।

स्पेन अन्तिम पटक सन् २०१२ र फ्रान्स अन्तिम पटक सन् २०१६ मा युरो कपको फाइनल पुगेको थियो। यी दुई टोली अन्तिम पटक सन् २०२१ मा भिडेका थिए जसमा फ्रान्स २-१ गोलले विजयी भएको थियो।

सन् २०१२ को युरो कपमा स्पेनले फ्रान्सलाई क्वाटरफाइनलमा हराएर पछि उपाधिसम्मको यात्रा तय गरेको थियो। त्यसयता यी दुई टोलीबीच ५ भिडन्तमा स्पेनले २ जित, फ्रान्सले २ जित निकालेको छ भने एक खेल बराबरीमा सकिएको छ।

अन्तिम पटक स्पेनले सन् २०१७ मा फ्रान्सलाई हराएको थियो। जारी युरो कपमा पहिलो चरणमा दुई बराबरी र एक जित निकालेको फ्रान्सले प्रिक्वाटरफाइनलमा बेल्जियमलाई १-० ले हराएको थियो भने क्वाटरफाइनलमा पोर्चुगलमाथि टाइब्रेकरमा जित हात पारेको थियो।

यता स्पेनले पहिलो चरणमा तीनवटै खेल जितेको थियो भने प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ र क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराएको थियो।

फ्रान्सलाई गोल उपहार, गोल गर्न मुस्किल

फ्रान्स विश्वकपका पछिल्ला दुई संस्करणको फाइनलिस्ट हो। सन् २०१८ मा उपाधि जितेको थियो भने दुई वर्षअघि उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेको थियो। यी दुवै संस्करणमा चम्किएका केलियन एमबाप्पे जारी युरो कपमा लय समाउन संघर्षरत छन्।

उनी चुकिरहँदा फ्रान्सलाई गोल गर्न मुस्किल भइरहेको छ। फ्रान्सले समूहगत चरणमा खेलेका तीन खेलमा केवल एक गोल गरेको थियो। अस्ट्रियालाई १-० गोलले हराउँदा आत्मघाती गोल उपहार पाएको थियो।

नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेलेको थियो भने अन्तिम खेलमा पोल्यान्डसँग १-१ गोलको बराबरी हुँदा एमबाप्पेले गोल गरेका थिए।

प्रिक्वाटरफाइनलमा फ्रान्सले आत्मघाती गोल उपहारमा बेल्जियममाथि १-० गोलको जित निकालेको हो। क्वाटरफाइनलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

स्पेनका ओल्मो र यमाल उच्च लयमा, बेन्चबाट आएर गोल

जारी युरो कपमा स्पेन आत्मविश्वासी देखिन्छ। उसले पहिलो चरणमा क्रोएसियालाई ३-०, इटालीलाई १-० र अल्बानियालाई १-० गोलले हराएको थियो।

क्रोएसियाविरुद्ध अल्बारो मोराटा, फाबियान रुइज र डानी कार्भाहालले गोल गरेका थिए। इटालीलाई भने आत्मघाती गोल उपहारमा हराएको थियो। तेस्रो खेलमा अल्बानियाविरुद्ध फेरान टोरेसले डानी ओल्मोको पासमा गोल गरेका थिए।

प्रिक्वाटरफाइनलमा जर्जियालाई ४-१ गोलले हराउँदा स्पेनका रुइज, ओल्मो, निको विलियम्स र रोड्रीले गोल गरेका थिए। यो खेलमा ‌ओल्मो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

रुइज र विलियम्सले गोलमा असिस्ट पनि गरे। क्वाटरफाइनलमा स्पेनले अतिरिक्त समयसम्म पुगेर जर्मनीलाई २-१ गोलले हरायो। स्पेनका दुवै गोल सस्टिच्युट खेलाडीले गरेका थिए।

पेड्री घाइते भएपछ ८ औँ मिनेटमा मैदान प्रवेश गरेका ओल्मोले ५१ औँ मिनेटमा यमालको क्रसमा गोल गरेका थिए। त्यसपछि एक सय १९ औँ मिनेटमा मिकेल मेरिनोले ओल्मोको पासमा गोल गरे। मेरिनो ८० औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।

विश्व फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको जस्तै उचाई बनाउन खोजिरहेका एमबाप्पे युरो कप जित्न चाहन्छन्। फ्रान्सले अन्तिम पटक सन् २००० मा युरो कप जितेको थियो। तर यसपटक स्पेनको लयले एमबाप्पे र फ्रान्सलाई सजिलो हुने देखिँदैन।

१६ वर्षीय यमालले कमाल गरिरहेका छन्। उनी विपक्षी रक्षापंक्तिका लागि टाउको दुखाई बन्नेछन्। जारी प्रतियोगितामा उनले तीनवटा असिस्ट गरेका छन्।

महत्वपूर्ण तीन खेलाडी स्पेनको टोलीमा नहुनुको फाइदा भने फ्रान्सलाई केही हुन सक्छ। अनुभवी डिफेन्डर कार्भाहाल रातो कार्डका कारण फ्रान्सविरुद्ध खेल्न पाउने छैनन्।

अर्का डिफेन्डर रोबिन ले नरमन्ड पनि स्पेनले गुमाउने छ। घाइते भएका कारण पेड्री खेल्न सक्ने छैनन्। यता फ्रान्सको टोलीमा भने सबै महत्वपूर्ण खेलाडीहरू उपलब्ध हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर