नयाँ महामन्त्री बनाउन रास्वपाले ३५ दिन पर्खिने, अहिले कार्यवाहकलाई नै निरन्तरता – Nepal Press

नयाँ महामन्त्री बनाउन रास्वपाले ३५ दिन पर्खिने, अहिले कार्यवाहकलाई नै निरन्तरता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालै नयाँ महामन्त्री चयन नगर्ने भएको छ । आज महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने निर्णय मात्रै भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

महामन्त्री बर्खास्त लगत्तै नयाँ महामन्त्री चयन गर्ने तयारी थियो । तर, बैठकमा केही केन्द्रीय सदस्यले कारबाहीमा पुनरावेदन गर्न सक्ने म्यादसम्म पर्खिने सुझाव दिएका थिए । रास्वपाको विधानमा कारबाहीमा पुनरावेदनसम्बन्धी व्यवस्था छ । यसका लागि पुनरावेदन समिति बनाइएको छ ।

कति दिनसम्म पुनरावेदन गर्न पाउने भन्ने विधानमा व्यवस्था छैन । तर, आजको बैठकले ३५ दिन समय दिने निर्णय लिएको झाले बताए ।

‘उहाँले पुनरावेदन गर्नुभयो र यदि त्यसलाई स्वीकार गरियो भने त फेरि महामन्त्रीमा कमब्याक पनि त गर्न सक्नुहुन्छ, त्यसैले अहिले हतार नगरौँ भन्ने कुरा भयो,’ उनले भने ।

रास्वपा केन्द्रीय सदस्य सोभिता गौतमले न्याय निरूपण गर्ने सवालमा विधानलाई र नेपालको कानूनलाई अनुसरण गरेर अघि बढ्ने निर्णय गरिएको बताइन् ।

महामन्त्री चयन नगरिएपछि कार्यवाहकलाई नै निरन्तरता दिइएको छ । यसअघिको बैठकले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र कार्यवाहक प्रवक्तामा मनिष झालाई तोकेको थियो । अर्को महामन्त्री र प्रवक्ता नबन्दासम्म उनीहरूले नै जिम्मेवारी सम्हाल्नेछन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर