डा. मुकुल ढकालको साधारण सदस्यता खारेज नगरिएकोमा रमेश प्रसाईँको यस्तो असन्तुष्टि (भिडिओ)
८० प्रतिशत केन्द्रीय सदस्य निष्कासनको विपक्षमा उभिएका थिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने एकमतले निर्णय गरेको छ । तर, अनुशासन आयोगले गरेको कारबाही सिफारिसलाई केन्द्रीय समितिले आफ्नो अधिकार प्रयोग गर्दै अलिकति संशोधन गर्यो ।
ढकालमाथि कारबाही हुनुपर्ने र उनलाई महामन्त्रीबाट बर्खास्त गर्नुपर्नेमा कसैको पनि विमति थिएन । तर आयोगको सिफारिस अनुसार साधारण सदस्यबाटै हटाउनेमा भने अधिकांश केन्द्रीय सदस्य सहमत भएनन् ।
स्रोतका अनुसार ८० प्रतिशत केन्द्रीय सदस्यहरूले साधारण सदस्यता भने कायम राख्नुपर्ने विचार राखेका थिए ।
महामन्त्रीलाई सच्चिने अवसर दिनुपर्ने उनीहरूको रायलाई सभापति रवि लामिछानेले पनि स्वीकार गरे ।
उपसभापति डीपी अर्याल, सह प्रवक्ता रमेश प्रसाईँ, केन्द्रीय सदस्य गणेश कार्की लगायतले ढकाललाई पार्टीबाट निष्कासन नै गर्नुपर्ने धारणा राखेका थिए । तर, केन्द्रीय समितिको बहुमत साधारण सदस्यता कायम राख्नुपर्नेमा उभियो ।
सह प्रवक्ता प्रसाईँले सार्वजनिकरुपमा नै पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । बैठकपछि पत्रकार सम्मेलनमा उनले सभापतिले देखाएको सदाशयताप्रति आश्चर्य प्रकट गरे ।
प्रसाईँको भनाइ यस्तो थियो:
मुकुल ढकाल त्यो व्यक्ति हो जसले पार्टीमा सबैभन्दा बढी शक्तिको अभ्यास गरेको छ । कुन कोठाका कुर्सी कता फर्काउनेदेखि पार्टीले सम्हालेका मन्त्रालयको सचिवालयमा गर्ने नियुक्तिमा पनि उहाँको हस्तक्षेप हुन्थ्यो ।
हरेक सांगठनिक निर्णयमा उहाँको निर्णायक भूमिका हुन्थ्यो । यस्तो व्यक्तिले सस्तो लोकप्रियताका लागि बदनियतपूर्ण किसिमबाट अराजक व्यवहार प्रदर्शन गर्नुभयो ।
यो अराजकताको दण्डस्वरुप उहाँको साधारण सदस्यता खारेज गर्नुपर्ने पक्षमा म लगायत केही केन्द्रीय सदस्यहरू थियौँ । तर, सभापतिजीले आज पनि उहाँप्रति प्रेम दर्साउनुभयो ।
मेरो परिवारको सदस्यजस्तो हो, सुरुदेखि सहयात्रामा हिँडेको एक पटक मौका दिऊँ भन्नुभयो । त्यसलाई केन्द्रीय समितिले स्वीकार गर्यो । यो मलाई आश्चर्यजनक लागेको छ ।
रास्वपाले बाटो बाट टिपेर ल्यएको मान्छेको यति ठुलो कुरा