चालू आर्थिक वर्षमा १४ म्यानपावर कम्पनीले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत कामदार विदेश पठाए
‘फ्री भिसा, फ्री टिकट’का नाममा पैसा लिएको भए उजुरी गर्न वैदेशिक रोजगार विभागको आग्रह
काठमाडौं । चालु आर्थिक वर्षमा १४ वटा म्यानपावर कम्पनीले ‘फ्री भिसा, फ्री टिकट’ मार्फत नेपाली श्रमिक विदेश पठाएका छन् ।
चालू आर्थिक वर्ष २०८०/०८१ मा अहिलेसम्म १४ वटा म्यानपावर कम्पनीले ‘फ्री भिसा, फ्री टिकट’ र शून्य लागतमा नेपाली श्रमिकलाई विदेश पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाएका विभागले जनाएका हुन् ।
विभागले व्यवसायीसँग फ्री भिसा, फ्री टिकटमा कामदार पठाएको विवरण माग गरेकोमा अहिलेसम्म १४ म्यानपावर कम्पनीले मात्रै कामदार पठाएको विवरण पेस गरेको विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार म्यानपावर कम्पनीले मलेसिया तथा खाडीका ६ मुलुकमा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् ।
विभागले त्यस्ता १४ वटा म्यानपावर कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूले पैसा लिएको भए उजुरी गर्न समेत सबैलाई अनुरोध गरेको छ । यदि कुनै म्यानपावर कम्पनीले ‘फ्री भिसा, फ्री टिकट’का नाममा रकम असुलेको भए कानून अनुसार कारबाही गर्ने महानिर्देशक घिमिरेले बताए ।