चितवनको अरोमाका दुई अब्बल विद्यार्थी, अन्तर्राष्ट्रिय प्रतियोगितामा हुँदैछन् सहभागी – Nepal Press

चितवनको अरोमाका दुई अब्बल विद्यार्थी, अन्तर्राष्ट्रिय प्रतियोगितामा हुँदैछन् सहभागी

चितवन । नेपालको शिक्षा र बौद्धिक ज्ञानको बहस हुनेबित्तिकै काठमाडौ‌ केन्द्रित हुने गर्छ । तर, पछिल्लो समय काठमाडौ‌का शैक्षिक संस्थाहरुभन्दा उत्कृष्ट नतिजा र विद्यार्थीका वौद्धिक विकासमा राजधानी बाहिरका शैक्षिक संस्थाहरु अब्बल बन्दै गएका छन् ।

अब्बल विद्यार्थी र विद्यालय राजधानी बाहिर पनि छन् भन्ने पछिल्लो उदाहरण हो, चितवनका दुई विद्यार्थी द्रोण चौधरी र योगेन्द्र शर्मा उपाध्याय । चौधरी र उपाध्यायले बौद्धिक सीपमा अब्बल भएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदैछन् ।

चितवनको भरतपुरस्थित अरोमा माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ को परीक्षा दिएका उपाध्याय फिजिक्स ओलम्पियार्ड र कक्षा १२ मा अध्ययनरत चौधरी म्याथम्याटिक्स ओलम्पियार्डमा सहभागी हुँदैछन् ।

यी दुबै बौद्धिक खेल हुन् । नेपालका तीन हजार जना १९ वर्षमुनिका विद्यार्थीमा चौधरीसहित ६ जना म्याथम्याटिक्स ओलम्पियार्डमा उत्कृष्ट भएका थिए । तीमध्ये राजधानी बाहिरको विद्यालयमा अध्ययन गर्ने १७ वर्षका चौधरीमात्रै हुन् ।

उनको घर बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका- १ मा पर्छ । कक्षा ११ देखि भरतपुरको अरोमा माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययनरत चौधरी सामान्य परिवारका हुन् ।

तर, कलेजको अध्ययन वातावरण र आफ्नो सानैदेखिको गणित विषयमा भएको रुचिका कारण देशभरबाट उत्कृष्ट ६ मा पर्न सफल भएको उनले बताए ।

चौधरी यही जुलाई १६ र १७ मा बेलायतमा हुने अन्तर्राष्ट्रिय म्याथम्याटिक्स ओलम्पियार्डमा सहभागी हुँदैछन् । उनले विश्वका १०० भन्दा बढी देशका ६०० भन्दा बढी विद्यार्थीसँग आफ्नो प्रतिस्पर्धा हुने बताए ।

म्याथम्याटिक्स ओलम्पियार्डको प्रतिस्पर्धा दुई दिन हुनेछ । जसमा ३ वटा गणितसँग सम्बन्धित प्रश्न सोधिन्छ । साढे ४ घण्टाको प्रतियोगितामा जसले प्रश्नको उत्तर दिनसक्छ, उसैले उपाधि हासिल गर्ने उनले बताए ।

१७ वर्षीय उपाध्यायको भने अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियार्ड हो । उनी जुलाई २१ देखि २९ सम्म इरानमा हुने प्रतियोगितामा सहभागी हुँदैछन्, जसमा २० वर्षमुनिका विद्यार्थीहरुमात्र सहभागी हुँदैछन् । प्रतियोगितामा नेपालबाट उपाध्यायसहित ५ जना छानिएका छन्, जसमा काठमाडौं बाहिरका विद्यालयबाट छानिने उनीमात्रै हुन् ।

उनले भौतिक विज्ञानसँग सम्बन्धित विषयमा प्रश्न आउने बताए । ५० भन्दा बढी देशबाट प्रतिनिधित्व हुने प्रतियोगिता दुई दिन गरेर १० घण्टाको हुने बताइएको छ । प्रतियोगितामा तीन सैद्धान्तिक र दुई वटा नयाँ आविष्कारसँग सम्बन्धित प्रयोगात्मक प्रतियोगिता हुने उनले जानकारी दिए ।

उपाध्यायले आफूले फिजिक्स ओलम्पियार्डबारे कलेज अध्ययनकै क्रममा जानकारी पाएको बताए ।

‘मैले पढ्ने बेला नै यसबारे थाहा पाएको हुँ’, उनले भने, ‘कलेजका सरहरुबाट समेत हौसला पाएकोले प्रतियोगितामा सहभागी भएर अन्तर्राष्ट्रियस्तरमा भाग लिने मौका पाएँ ।’

फिजिक्स ओलम्पियार्डको नेपालमा नेपाल फिजिकल सोसाइटीले संयोजन गरेको छ । म्याथम्याटिक्स ओलम्पियार्डको संयोजन भने म्याथम्याटिकल एसोसियसन अफ नेपालले गरेको हो । दुई विद्यार्थीले आफ्नै खर्चमा खेलमा सहभागी हुँदैछन् । उनीहरुलाई अरोमा माध्यमिक विद्यालयले ५०-५० हजार रुपैयाँसमेत सहयोग गरेको विद्यालयका प्राचार्य शेरबहादुर क्षेत्रीले जानकारी दिए ।

यसैबीच दुई विद्यार्थीलाई भरतपुर महानगरले समेत बिदाई गरेको छ । मेयर रेनु दाहालले चौधरी र उपाध्यायलाई सम्मानसहित बिदाई गरेकी हुन् ।

उनले विद्यार्थीको अन्तर्राष्ट्रिय खेलमा सहभागी हुँदा लाग्ने खर्चमा केही सहयोग महानगरपालिकाले समेत गर्ने प्रतिबद्धता जनाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *