एमालेले मन्त्रीको मापदण्ड बनाउने, नेतालाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने – Nepal Press

एमालेले मन्त्रीको मापदण्ड बनाउने, नेतालाई आफ्नै भूगोलको जिम्मेवारीमा फर्काउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिएपछि सोही दिन नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने गरि एमालेले तयारी गरिरहेको छ ।

ठुला दुई दल कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । अहिले ओलीले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुँदा पार्टीका कस्ता नेतालाई मन्त्रीलाई बनाउँछन् भन्ने विषयले पनि चर्चा पाइरहेको छ ।

बिहान ११ बजे बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीका विषयमा मापदण्ड तयार गर्ने बताइएको छ । अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको एमाले अब उनीहरु मध्ये केहीलाई फेरि स्थान दिएर अन्य नयाँ पठाउने वा वरिष्ठताका आधारमा मन्त्री छनौट गर्ने भन्ने विषयमा ठोस कुनै नीति बनाएको छैन ।

आजको बैठकले त्यसलाई मूर्तरूप दिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।‘आजको बैठकमा मन्त्रीहरूको मापदण्ड पनि तयार हुन्छ ?’ प्रश्नमा उनी भन्छन्, ‘त्यस विषयमा पछि छलफल हुन्छ सरकारमा कसरी जाने र सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा केही नीति अवश्य बन्ला ।’

उनले विशेषगरि समसामयिक राजनैतिक विषय ,रिक्त पदपूर्ति र जिम्मेवारीका विषयमा बैठकमा छलफल हुने बताए ।२०८० साल जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले एमालेले नेताहरूलाई अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा कार्यक्षेत्र रहने गरी खटाएको थियो ।

जसअनुसार इन्चार्जहरूलाई अन्तर प्रदेश र जिल्ला इन्चार्जहरूलाई अन्तर जिल्ला इन्चार्जका रूपमा खटाएको थियो । त्यसैगरी केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र हुँदै पालिका तहसम्मको जिम्मेवारी दिइएको थियो ।

पार्टी सचिवलाई फरक– फरक प्रदेश इन्चार्ज तोकेको थियो ।जसअनुसार सचिव रघुवीर महासेठलाई कोशी, योगेश भट्टराईलाई मधेस, गोकर्ण विष्टलाई गण्डकी, पद्मा अर्याललाई लुम्बिनी, लेखराज भट्टलाई कर्णाली र छविलाल विश्वकर्मालाई सुदूरपश्चिमको इन्चार्ज बनाएर एमालेले कार्य विभाजन गरेको थियो ।

नेताहरूको कार्य विभाजन हेरफेरका लागि आजको सचिवालय बैठकमा विषय प्रवेश भएपनि निर्णय नै भइहाल्ने अवस्था नरहेको एक नेताले बताए ।

‘जिम्मेवारी हेरफेरबारे सचिवालय बैठकमा विषय प्रवेश हुन्छ तर निर्णय नै भइहाल्ला भन्ने लाग्दैन’ महासचिव शङ्कर पोख्रेलको भनाइ उद्धृत गर्दै उनले भने ‘महासचिव ज्यूले अहिल्यै सबै तयारी पुगिनसकेको सङ्केत गर्नुभएको छ ।’

यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर