इङ्ल्याण्ड र नेदरल्यान्ड : दुबैको आफ्नो-आफ्नो दाउ – Nepal Press

इङ्ल्याण्ड र नेदरल्यान्ड : दुबैको आफ्नो-आफ्नो दाउ

हेटौँडा । सन् १९६६ मा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप फुटबलको उपाधि जितिसकेको इङ्ल्याण्डले त्यसपछिको सबैभन्दा रुचाइएको प्रतियोगिता युरो कपको उपाधि जित्न सकेको छैन ।

गत सिजन अर्थात् सन् २०२१ मा पहिलो पटक फाइनल पुगेर इटालीसँग पराजित इङ्ल्याण्ड यो पटक ब्याक टु ब्याक फाइनल प्रवेशको एक खुड्किला पछाडि छ ।

आज हुने दोस्रो सेमिफाइनलमा नेदरल्यान्डलाई पराजित गर्न सके इङ्ल्याण्डले लगातार फाइनलमा स्थान बनाउने पहिलो देश पनि बन्ने छ ।

तर इङलिस टोलीको लागि यो सहज अवस्था भने पक्कै छैन । उसले पूर्वयुरो च्याम्पियन र हाल लयमा देखिएको नेदरल्यान्डलाई मात खुवाउने सामर्थ्य राख्नुपर्ने हुन्छ ।

नेदरल्यान्डलाई पनि विश्व फुटबलमा उतिसारो भाग्यमानी टिम मानिँदैन । सन् १९८८ मा युरो कप जित्नु बाहेक डच टोलीको लागि त्यो भन्दा ठूलो उपलब्धि हासिल भएको छैन।

महत्त्वपूर्ण तथा निर्णायक खेलमा कमजोर प्रदर्शन गर्ने युरोपेली टिममा बेल्जियमपछि फुटबल पण्डितहरूले नेदरल्यान्डलाई नै सम्झने गर्छन् ।

१९८८ भन्दा अघि या पछि, उ कहिले पनि फाइनल पुगेको छैन । त्यसैले पनि आजको खेल दुवै देशको लागि निकै महत्त्वपूर्ण रहेको छ ।

यो पटक सेमिफाइनलसम्म आइपुग्दा इङ्ल्याण्डले ठूलै संघर्ष गर्नुपरेको थियो। ग्रुप स्टेजमा एउटामा जित र दुई वटामा बराबरी गरेपछि ५ अंक सहित उसले ग्रुप १६ को यात्रा तय गरेको थियो ।

स्लोभाकियाविरुद्धको प्रिक्वाटरफाइनलमा करिब करिब हारको संघारबाट जोगिएको इङ्ल्यण्डको लागि उसको स्टार खेलाडी बेलिङ्घमले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका थिए । क्वाटर फाइनलमा पनि उसले स्विजरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

ग्रुप स्टेजमा त नेदरल्यान्डको अवस्था झनै नाजुक थियो । एक जित र एक बराबरी गरेर चार अंक पाएको डच टोली उत्कृष्ट तेस्रो टिमको रूपमा नकआउट चरणमा पुगेको थियो ।

उसले प्रिक्वाटरमा रोमानियालाई सजह जित्दा क्वाटरफाइनलमा टर्की विरुद्ध पुनरागमन जित त्यो पनि आत्मघाती गोलको सहारामा जितेको थियो ।

इङ्ल्याण्ड जत्तिको उच्च वरियताको टिमको प्रदर्शनलाई लिएर इङलिस टिमको समर्थक खुसी भने पटक्कै छैनन् । उनीहरूले आफ्नो प्रशिक्षक गारेथ साउथगेट विरुद्ध प्रतियोगिता दौरान पानीको बोतल प्रहार गरिरहेका छन् उनीमाथि इङ्ग्ल्यान्डको टिमलाई खुलेर खेल्न नदिएको आरोप छ। नेदरल्यान्ड्ससँग पराजित भएमा साउथगेटको यो नै अन्तिम खेल हुने अनुमान गरिएको छ ।

यता डच प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो टिम फर्ममा फर्किएकोमा विश्वस्त छन् । उनी दोस्रो पटक युरोपेली च्याम्पियन बन्नेमा ढुक्क देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर