कांग्रेसमा सभापति देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका दाबेदार, कसको छ लबिङ बलियो ? – Nepal Press

कांग्रेसमा सभापति देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका दाबेदार, कसको छ लबिङ बलियो ?

काठमाडौं । नेकपा एमालेसँग मिलेर सरकार गठन गर्ने सहमतिपछि कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने विषयमा आन्तरिक छलफलमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर २८ गतेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने भएकाले देउवाले त्यसअघि नै पार्टीबाट पठाउने मन्त्री टुंगो लगाउनेगरी छलफल थालेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन हुँदैछ । कांग्रेस सांसदहरू सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर मन्त्रीको आकांक्षा व्यक्ति गरिरहेका छन् ।

तर, यसपटक देउवाले गुटभन्दा माथि उठेर नयाँलाई अवसर दिनेगरी सरकारमा मन्त्री पठाउने तयारी गरिरहेको नेताहरु बताउँछन् । कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीबाट सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै छन् ।

उनले भने, ‘मन्त्री हुन आकांक्षी धेरै देखिएका छन् त्यो स्वाभाविक पनि हो । तर, अधिकांश नयाँ पठाउने भन्ने कुरामा भएको छ । यसभन्दा अघिको क्याबिनेटबाट निस्केकाहरू यो पटक पर्दैनन् ।’

उनले मन्त्रीको आकांक्षी धेरै भएकाले अहिले नै को मन्त्री हुन्छन् भन्नेसक्ने अवस्था नरहेको उनको भनाइ छ । कांग्रेसमा सभापति देउवाबाहेक सबै सांसद मन्त्रीका दाबेदार हुन् । यद्यपि महामन्त्री गगन थापाले पटकपटक मन्त्री भएकाहरूलाई यसपटक घरमै आराम गराउने बताएका छन् ।

अर्का सांसद रामहरि खतिवडा पनि पहिले सरकारमा गइसकेका धेरै नेताहरु अहिले सरकारमा नजाने बताए ।

उनले भने, ‘पार्टीले अहिले गरेको निर्णय कार्यान्वयन गराउनसक्ने, प्रधानमन्त्रीसँग स्ट्याण्ड पनि राख्नसक्ने खालका व्यक्तिलाई पठाउने कुरा छ । पुराना एक-दुई जना दोहोरिन्छन् अरु सबै नयाँ पठाउनेछन् । गुटभन्दा पनि योग्यता र क्षमताको आधारमा पठाउनुपर्छ ।’

पार्टीभित्र धेरै विवाद नल्याउनेगरी सबैलाई समेटेर मन्त्री पठाउने मुडमा सभापति देखिएको उनको बुझाइ छ। उनले थपे, ‘दुई-तीनचोटी चुनाव जितेर अवसर नपाएकाहरुलाई सभापतिले यो पटक अवसर दिँदै हुनुहुन्छ ।’

अब बन्ने सरकारमा उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

‘केही पुराना नेताहरूले उपपप्रधामन्त्री पाए सरकारमा जाने इच्छा व्यक्ति गरिराख्नुभएको छ । उपप्रधानमन्त्री राख्दा धेरै भद्दाजस्तो हुने भएकाले अहिले धेरै नराख्ने सम्भावना छ । त्यस विषयमा सभापति र ओलीजीबीच छलफल हुँदैछ’, उनले भने, ‘उपप्रधानमन्त्री पदबाहेक अरु केही होइन । त्यसैले नराख्दा उपयुक्त हुन्छ भन्ने छ । उपप्रधानमन्त्री नराख्दा सिनियर नेतालाई जान रोक्छ नयाँलाई अवसर पनि पाउँछन् ।’

उपप्रधानमन्त्री नराख्ने सहमति भए कांग्रेसबाट गृहमन्त्रालय लिएर प्रमुख सचेतकसमेत रहेका रमेश लेखकको सम्भावना बलियो छ । उपप्रधान पाए प्रकाशमान सिंह, शशांक कोइरालाले पनि सरकारमा जाने इच्छा व्यक्त गरिरहेका छन् ।

कांग्रेस वृत्तमा महामन्त्री गगन थापाको नेतृत्वमा सरकार जाने चर्चा चलेपनि थापा आफैंले भने सरकारमा जान नचाहेको बताइन्छ । उनी १५ औं महाधिवेशनमा सभापति उम्मेदवार बन्ने तयारीमा छन् उनले विश्वप्रकाश शर्मा वा प्रदीप पौडेललाई मन्त्री बनाउन देउवासमक्ष सिफारिस गर्दैछन् ।

कांग्रेसबाट डा. आरजु राणा देउवा यसपटक सरकारमा जाने सम्भावना छ । त्यस्तै उदयशमशेर जबरा पनि प्रमुख दाबेदार हुन् । यीबाहेक संस्थापनबाट विनाेद चाैधरी, किशोरसिंह राठोर, शंकर भण्डारी, रामहरि खतिवडा, अजय चौरसिया, श्याम घिमिरेलगायतको लबिङ बलियो छ ।

शेखर-गगन पक्षबाट अर्जुननरसिंह केसी, जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी, राजेन्द्र बजगाईँ, हृदयराम थानी, सरिता प्रसाईं, मुक्ताकुमारी यादवमध्येबाट मन्त्रीको लिष्टमा छन् । शशांक कोइराला सरकारमा नगएको अवस्थामा उनको कोटाबाट मन्त्री बन्न दीपक गिरी र दीपक खड्का दाबेदार छन् ।

देउवा निकट एक नेताले भने, ‘अहिले यो नयाँ परिस्थिति बनाउन निर्णायक भूमिका खेल्ने रमेशजी नै हुनहुन्छ । सभापतिले उहाँलाई अघि सार्नुभएको छ । त्यसैले उहाँ र आरजु भाउजूको मन्त्री बन्ने निश्चित जसो देखेका छौं ।’

देउवाले सरकारमा मन्त्री पठाउँदा इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित आफूनिकटका प्रकाशमान, कृष्ण सिटौला, विमलेन्द्र निधिलगायतका नेताहरूलाई पनि सन्तुलन मिलाउनुपर्ने बाध्यता छ ।

मन्त्रालय बाँडफाँट

एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ । मन्त्रायल भागबण्डामा दुई दलबीच धेरै विवाद नरहेको ती नेताले दाबी गरे ।

उनले भने, ‘साना दल दलले सबै सरकारमा जान तयार देखिएका छन् । यो डेढ वर्षमा जनमोर्चा र नेमकिपाबाहेक सबै सरकारमा गएका छन्, त्यसैले दुई दलले लिने मन्त्रालय निश्चित भएको छ । बाँकी साना दललाई मिलाएर लैजान्छौं ।’

गृह र परराष्ट्र कांग्रेसले लिने र अर्थ र सञ्चार एमालेले लिने सहमति भइसकेको ती नेताको दाबी छ ।

ती नेताले भने, ‘अरु मन्त्रालय टुंग्याउन रमेश लेखक र शंकर पोखरेलले आज बसेर मन्त्रालयको टुंग्याउने तयारी छ । मन्त्रालयमा विवाद छैन, भौतिक पूर्वाधार र ऊर्जा एउटा, शहरी विकास र स्वास्थ्यमा एउटा हामीले लिन्छौं । त्यहीअनुसार सबै मन्त्रालय मिलाएर बाँडफाँट हुन्छ ।’

प्रवक्ता डा. प्रकाशशरण महतले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने बताए ।

उनले भने, ‘अहिले मन्त्रालयको विषयमा छलफल भइरहेको छ । क-कसलाई समेट्ने र कुन मन्त्रालय लिने भन्ने टुंगिएको छैन । सबैलाई मान्य हुनेगरी समेट्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर