साउदीमा नेपाली साथीको हत्या गर्ने रामआशिष फाँसीबाट जोगिए, ४६ लाख ‘ब्लड मनी’ लेनदेन
ब्लड मनी बुझ्ने सहमति हुँदा दुई पक्षका परिवारसँगै भक्कानिए सीडीओ
रुपन्देही । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको पहलमा साउदी अरबमा फाँसीको सजाय कुरेका एक नेपालीले उन्मुक्ति पाउने भएका छन् ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका धनुषाका रामआशिष यादव मृत्युदण्डबाट छुटकारा पाउने भएका हुन् । रामआशिषले सँगै एउटै कोठामा बस्ने रुपन्देहीको कञ्चन गाउँपालिका- ४ का दुर्गाप्रसाद शर्मालाई विवादको क्रममा छुरा प्रहार गरेका थिए । दुर्गाप्रसादको घटनास्थलमै मृत्यु भएको थियो । सोही हत्यामा रामआशिषलाई ५ वर्षको जेल सजाय तोकियो । ५ वर्षपछि दुवै जनाको परिवारको बीचमा ब्लड मनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसीमा जाने अदालतको फैसला थियो ।
अदालतको निर्णय कन्सुलर विभाग हुँदै त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भयो । रुपन्देहीका सीडीओ गणेश अर्यालले रामआशिषलाई बचाउन सकिन्छ कि भनेर तदारुकता देखाए । रेनुकुमारीका मामा प्रभु यादव पनि भाञ्जा ज्वाइँ रामआशिषलाई माफीको आशासहित रुपन्देही आए । सीडीओ अर्याल र प्रभु मृतक दुर्गाप्रसाद शर्माकी श्रीमती सीता शर्मासित माफीको अपेक्षासहित घर पुगे । सुरुमा सीताले कुरै सुन्न चाहेनन् ।
पटक पटक अनुरोध गर्दा पनि ३ महिनासम्म कुरा मिल्न नसकेको सीडीओ अर्याल बताउँछन् । ‘शुरुमा उहाँले मान्नुभएको थिएन, त्यो स्वाभाविक पनि हो’, उनले भने, ‘हामीले उहाँलाई धेरै प्रकारले आग्रह गर्यौं, मैले व्यक्तिगत रुपमै धेरै अनुनयविनय गरें ।’
पछि कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईंलगायतको लगातारको प्रयासपछि सीता ५० लाख रुपैयाँ ब्लड मनी लिएर माफी दिन तयार भएको सीडीओ अर्यालले बताए ।
के थियो घटना ?
सन् २०१८ मा साउदी अरबमा धनुषाको जनकपुर उपमहानगरपालिका- १७ घर भएका रामआशिष यादव र रुपन्देहीको कञ्चन गाउँपालिका– ४ का दुर्गाप्रसाद शर्मा एउटै कम्पनीमा काम गर्थे । दुवै जनाको कोठा पनि एउटै थियो । खाने रमाउने एउटै थलो थियो । सन् २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै अवस्थामा सामान्य विवादमा रामआशिषले दुर्गालाई छुरा प्रहार गरे । दुर्गाको घटनास्थलमै मृत्यु भयो ।
साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को डिसेम्बर २० मा हत्या गरेको प्रमाणित गर्दै रामआशिषलाई तत्कालको लागि ५ वर्षको कैद सजायको फैसला गर्यो । ५ वर्षपछि दुवै जनाको परिवारको बीचमा ब्लड मनीमा सम्झौता नभए अन्तिम विकल्प फाँसीमा जाने अदालतको फैसला थियो ।
साउदीमा रामआशिषले मान्छे मारेको र जेलमा रहेको कुरा थाहा पाएपछि जनकपुरमा रहेकी उनकी श्रीमती रेनुकुमारीमाथि बज्रपात भयो । विपन्न आर्थिक अवस्थाकी रेनु जेनतेन आफ्ना तीन छोरीसहित जीवन गुजारा गर्दै आइरहेकी थिइन् । उनको आर्थिक अवस्थाले अदालतको फैसलाअनुसार ५० लाख रुपैयाँ ब्लड मनी तिर्न सकिने सम्भावना थिएन ।
यादवको परिवारको सम्पत्तिको नाममा जम्मा १५ धुर खेत, अढाई धुरको घडेरी र फुस (खर)ले छाएको सानो झुपडीमात्र थियो । त्यो सबै बेच्दा मुस्किलले १० लाख जम्मा हुन सक्थ्यो । घरपरिवारको अर्को कुनै आयस्रोत थिएन । कमाउन गएका घरको मूली नै जेलमा छन् ।
यसरी जुट्याे ब्लड मनी
साउदीमा ज्यान गुमाएका शर्माको परिवारबाट एकथरिले ब्लड मनीमा सहमति हुन नसक्ने भएकाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सोहीअनुसार निर्णय गरेर पठाउन दबाब दिएको थियो । तर, सीडीओ अर्यालले त्यसलाई अस्वीकार गरे ।
‘कसैको ज्यान लिने गरी चिठी लेखेर हस्ताक्षर गर्न सक्दिनँ भनेर अडान लिएपछि उहाँहरु जानुभयो, तीन महिनापछि आएर बल्ल ५० लाख दिने भए सहमति गर्छौं भन्नुभयो’, उनले भने ।
प्रजिअ अर्यालले धनुषाका प्रजिअलाई सम्पर्क गरेर रामआशिषका लागि ब्लड मनी जुटाउन जिल्लामै पहल गर्न आग्रह गरे, तर बेवास्ता भयो । धनुषाबाट कुनै पहल नभएपछि रामआशिषका मामा प्रभु यादव रुपन्देही पुगे ।
‘धनुषाका सीडीओ साबले वास्ता गर्नुभएन, हामीले ५० लाख जुटाउने अवस्था पनि थिएन’, प्रभुले भने, ‘हामीहरु रामआशिषलाई मृत्युदण्डबाट जोगाउन सक्छौं भन्ने आशा मारेर फर्केका थियाैं, घर पुग्दा रुपन्देहीका सीडीओले पैसा जुटाउने कोसिस गरेका छौं भन्नुभएपछि आशा पलायो ।’
रुपन्देहीका सीडीओ अर्यालले उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसँग यसबारे कुराकानी गरे । बास्केट फण्ड बनाउने कुरा भयो । तत्काल सीडीओ अर्यालले ५० हजार र दुई जना सहायक प्रजिअले २५-२५ हजार, सुरक्षा निकायका तीन प्रमुखले पनि जनही २५ हजार रुपैयाँ जम्मा गरे । जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत गरी ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो ।
रामआशिषकी श्रीमती रेनुकुमारीले आफ्नो भएभरको सम्पत्ति बेचेर १० लाख जुटाइन् । सबै जोडेर ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गाप्रसादकी श्रीमती सीता शर्मालाई नगदै दिएपछि रामआशिषले मृत्युदण्डको सजायबाट छुटकारा पाई नयाँ जीवन पाउने निश्चित भएको सीडीओ अर्यालले बताए ।
संघीय सरकारका उच्च तहका पदाधिकारी र दुईतीन जना मन्त्रीसँग रकम जुटाउने उपायबारे सहयोग मागे पनि सम्भव नभएपछि उद्योगी व्यवसायी गुहार्न बाध्य भएको र राम्रो साथ पाएको उनी बताउँछन् । उनका अनुसार ४६ लाख २५ हजार रकम जम्मा भएपछि मृतकका परिवारले जुट्न नसकेको ३ लाख ७५ हजार रकममा दाबी विवाद गरेनन् ।
अन्ततः मंगलबार रुपन्देहीका सीडीओको कार्यकक्षमा मृतक शर्मा र रामआशिषका परिवार जम्मा भएर ब्लड मनी जुटाउन खटिएका कृष्णप्रसाद शर्माले ४६ लाख २५ हजार रुपैयाँ मृतककी पत्नी सीता शर्मालाई हस्तान्तरण गरे । त्यसपछि दुबै पक्षबीच सहमति भयो र रामआशिषले मृत्युदण्डबाट छुटकारा पाउने निश्चित भयो ।
ब्लड मनी बुझ्दै मृतककी पत्नी सीता भक्कानिएर रुँदा सीडीओ अर्यालसहित अधिकांशका आँखा रसाए । ‘जागिरे जीवनमा पहिलो पटक भक्कानिएर रोएँ, अर्कोतिर मृत्युदण्डको मुखमा पुगेका युवालाई बचाउन सकेकोमा जीवनमै सबैभन्दा खुशी पनि भएँ’, सीडीओ अर्यालले भने ।
सीडीओ साबकै पहलमा व्यवसायीहरुले आर्थिक मन्दीको मार बिर्सेर गच्छेअनुसार एक लाखदेखि माथि रकम जुटाएर एक जना नेपालीको जीवन रक्षा गर्न सफल भएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
‘साँच्चिकै हामीले उदाहरणीय र राष्ट्रले नै नोटिस गर्नुपर्ने काम गरेका छौं, सम्भवतः नेपालमा यो पहिलो हुनसक्छ’, उनले भने ।
रामआशिषकी पत्नी रेनु आशा मारिइसकेको अवस्थामा रुपन्देहीका सीडीओ र व्यवसायीहरुले आफूले कल्पना नगरेको रकम जुटाएर आफ्नो पतिको जीवन जोगाइदिएको भन्दै खुशीले धर्धरी रोइन् ।
‘तपाईंहरु नभएको भए मेरो श्रीमान् फाँसीको सजायबाट उम्कन सक्ने थिएनन्, हाम्रो परिवारको लागि सीडीओ साब भगवान हो’, रेनुले रुँदै भनिन्, ‘म सीडीओको फोटो लगेर भगवान राख्ने ठाउमा राख्छु र पूजा गर्छु ।’
सीडीओ अर्यालले रामआशिष र मृतक दुर्गाप्रसादको परिवारबीच सम्झौता भएको कागज छिट्टै कन्सुलर विभाग हुँदै साउदी पठाइने बताए ।
मृतक दुर्गाप्रसादका आफन्तले सीडीओ अर्यालको पटक पटकको अनुरोध नकार्न नसकिएपछि ब्लड मनी लिएर सहमति गर्न राजी भएको बताए ।
‘हामी सहमति नगर्ने अडानमा थियौं, तर सीडीओ साबले रामआशिषले फाँसी पाउँदैमा दुर्गाप्रसाद फर्किनु हुँदैन, दुर्गाप्रसादकी पत्नी सीता जस्तै रामआशिषकी पत्नीलाई पनि विधवा बनाएर के फाइदा हुन्छ र भनेर सम्झाएपछि सहमति गर्न तयार भयौं’, दुर्गाप्रसादका आफन्तले भने ।