नेपाल करी सेफ प्रतियोगिता हुने, विजेताले बेलायत जान पाउने
काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रवर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता नेपाल करि शेफ अफ द इयर २०२४ गर्ने भएको छ । विजेताले सन् २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ग्रेट ब्रिटिस करी फेस्टिवलमा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगिता विश्व प्रसिद्ध सेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ ।
नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सीईओ सन्तोष न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पनि सहयोग पुर्याउने न्यौपानेको भनाइ छ ।
नेपाल पर्यटन बोर्डसमेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुपअन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरुमार्फत आवेदन दर्ता गर्न सक्छन् । ईसेवामा नेपाल करी शेफ अफ द इयर सर्च गरी अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए ।
आन्तरिक प्रतियोगितामा छनोट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र विजेता घोषणा अगस्ट २४ मा काठमाडौंमा हुने सिद्धार्थ हस्पिटालिटीले जनाएको छ ।