२ खर्ब ४६ अर्बले बढ्यो कर्जा प्रवाह, कतिले लिए सहुलियत कर्जा ? – Nepal Press

२ खर्ब ४६ अर्बले बढ्यो कर्जा प्रवाह, कतिले लिए सहुलियत कर्जा ?

काठमाडौं । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट २ खर्ब ४६ अर्बले कर्जा प्रवाह वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट ११ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ४६ अर्ब ८० करोडले बढेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ५.१ प्रतिशले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कर्जा १ खर्ब ५७ अर्ब ३६ करोडले बढेको थियो ।

त्यस्तै, वार्षिक बिन्दुगत आधारमा जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ  प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह कर्जा ६३.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह कर्जा ३६.५ प्रतिशत रहेको छ ।

जहाँ निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ ।

जेठ मसान्तमा १२.० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षण र ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षणमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी गरेका छन् ।

११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रतर्फ ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले कर्जा प्रवाह बढेको छ ।

यता बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ८.० प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको छ भने, अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको छ ।

सहुलियतपूर्ण कर्जा प्रवाह

राष्ट्र बैंकका अनुसार जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई सहुलियतपूर्ण कजा प्रदान गरिएको छ । ११ महिनामा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ ।

उक्त कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४८ हजार १ सय ४२ ऋणीलाई ९२ अर्ब ६ करोड प्रवाह भएको छ । त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७३ हजार ३ सय ८५ महिला उद्यमीलाई ४० अर्ब ९२ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ ।

त्यसैगरी, २ हजार १ सय २९ ऋणीको १ अर्ब ७७ करोड सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत प्रवाह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर