असुरक्षा देखाउँदै पाइलटले नलिनचोकबाट हेलिकप्टर उडाउन मानेनन्
काठमाडौं । हवाई सुरक्षाको जोखिम कारण देखाएर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान बन्द गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने भन्दै सूर्यविनायक नपा-१० मा ३३ रोपनी क्षेत्र ओगटेको हेलिप्याडको असार ७ गते पर्यटनमन्त्रीले उद्घाटन गरेका थिए ।
करिब ११ करोडको लागतमा यहाँ हेलिप्याड बनाइएको हो । अहिले १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर सञ्चालनमा छन् ।
पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका हुन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले हवाई असुरक्षाको कारण देखाउादै पाइलटहरूले उडान बन्द गरेको बताए ।
उनले भने, ‘हेलिपोर्ट निर्माण हुनुभन्दा पहिले नै यस्ता समस्या देखिने छन् भनेर प्रतिवेदनमा उल्लेख थियो । त्यसको व्यवस्थापन गराएर उडान सुरू गर्नुपर्ने थियो । अहिले त्यही प्रतिवेदनमा भएका समस्याहरू नै देखिएका हुन् । हामीले निर्माणभन्दा पहिले नै सेप्टीएसिसमेन्ट गरेका थियौं । त्यति बेला नै यी समस्या देखिएका थिए ।’
व्यवसायिक उडान गरेपछि मानव निर्मित भौतिक संरचनाले असर परेको उनले सुनाए ।
पाइलटहरूसँग सल्लाह गरेर नै हेलिपोर्ट निर्माण गरिएको भन्दै हवाई सुरक्षाबारे क्यान संवेदनशील रहेको र छलफल भइरहेको पाण्डेले बताए ।