राहुल द्रविडले अस्वीकार गरे सरकारले दिएको २.५ करोड, अरु कोचिङ स्टाफ बराबर मात्र लिने
काठमाडौं । भारतको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक राहुल द्रविडले सरकारले घोषणा गरेको पुरस्कारलाई आंशिक अस्वीकार गरेका छन् । आफूलाई दिने भनिएको ५ करोड रकम मध्ये २.५ करोड मात्रै स्वीकार्ने उनको भनाइ छ ।
भारतले टि–२० विश्वकप जितेपछि सरकारले एकमुष्ट १२५ करोड करोड पुरस्कार घोषणा गरेको थियो । उक्त रकमलाई बीसीसीआइले भाग लगाउँदै खेलाडीहरुलाई ५ करोड, प्रमुख प्रशिक्षकलाई ५ करोड, कोचिङ स्टाफहरुलाई २.५ करोड र रिजर्भ खेलाडीहरुलाई २.५ करोडका दरले बाँड्ने खाका बनायो ।
त्यसमा द्रविडले असन्तुष्टि जनाएको बीसीसीआई स्रोतलाई उद्वदृत गर्दै भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
‘राहुलले आफ्ना सपोर्ट स्टाफहरु (बलिङ कोच पारस म्हाम्ब्रे, फिल्डिङ कोच टि डिलिप र ब्याटिङ कोच विक्रम राठोर) बराबर बोनस मात्रै स्वीकार्ने बताएका छन् । हामी उनको भावनालाई सम्मान गर्छौं,’ बीसीसीआइ स्रोतलाई उद्वृत गर्दै हिन्दूस्तान टाइम्सले भनेको छ ।
भारतले सन् २०१८ मा यू १९ विश्वकपको उपाधि जित्दा पनि द्रविडले यस्तै गरेका थिए । त्यसबेला यू १९ टोलीका प्रशिक्षक रहेका द्रविडलाई ५० लाख रुपैयाँ दिने घोषणा भएको थियो । तर, खेलाडीलाई ३० लाख र सपोर्ट स्टाफलाई २० लाखका दरले दिने भनेपछि द्रविडले त्यसलाई अस्वीकार गरेका थिए ।
भारतले विश्वकप उपाधि जितेसँगै द्रविड प्रशिक्षकबाट रिटायर्ड भएका छन् । उनले एक दिवसीय विश्वकपमा पनि भारतलाई फाइनलसम्म पुर्याएका थिए । द्रविडपछि प्रशिक्षणको बागडोर गौतम गम्भीरको हातमा पुगेको छ ।