गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा सेटिङ मिलाउने गृहका कर्मचारी पक्राउ – Nepal Press

गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा सेटिङ मिलाउने गृहका कर्मचारी पक्राउ

काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै गत शुक्रबार (असार २१) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको स्रोत बताउँछ ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले मन्त्रालयमा सोधखोज गरेपछि विष्टको धन्दा खुलेको बताइएको छ । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए ।

जागिर गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले आज मन्त्रालयबाटै पक्रन लगाएका हुन् । भिजिट भिसामा गैरकानूनी रूपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

विष्टलाई मावन बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । उनी २०७५ सालदेखि कम्प्युटर अपरेटरका रूपमा मन्त्रालयमा कार्यरत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *