गृहमन्त्री लामिछाने जोडिएका सहकारीबाट गोरखा मिडियामा दिइएको ऋणको विवरण माग (भिडिओ) – Nepal Press
सहकारी छानबिन संसदीय समिति

गृहमन्त्री लामिछाने जोडिएका सहकारीबाट गोरखा मिडियामा दिइएको ऋणको विवरण माग (भिडिओ)

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी र गोरखा मिडियालगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ।

आज बसेको छानबिन समितिले शिव शिखर, हाम्रो कृषि अभियान, तुल्सी, सुमेरू, सूर्य दर्शन, सुप्रिम, सहारा, सानो पाइला, स्वर्णलक्ष्मी लगायतबाट गोरखा मिडियालगायतका कम्पनीमा प्रवाह भएको रकम सम्बन्धमा कारोबारको तथ्य विवरण उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाले बताए।

बैठकमा छलफलका क्रममा सहकारीमा भएका कानूनी सुधार र संस्थागत परिचालन र संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न सुझाव आएको बताए। सहकारी नियमनकारी निकाय कमजोर भएको अवस्थामा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको देखिएको समेत बताए।

सहकारीहरूले नाम मात्रैको सञ्चालक राख्ने, आफू र आफ्ना नातागोतालाई सहकारीको ऋण प्रवाह गर्ने गरेको र बचत परिचालनबाट व्यक्तिगत सम्पत्ति आर्जन गर्ने, निजीकरण गर्ने,निजी सम्पत्ति बैंकमा राखेर धितो लिने,संस्थागत संलग्नता नहुने, धितो लिलाम गर्दा बाफिया कानून अन्तर्गत गर्ने र बचतकर्ता बेखबर हुने र ठगिएर बचत संकटमा पर्ने गरेको विभिन्न छलफलबाट जानकारी पाएको उनको भनाई छ।

उनले भने, ‘सहकारी क्षेत्रका समस्याहरूलाई अर्थ मन्त्रालय भन्दा बाहिर अर्को मन्त्रालयमा मात्रै सीमित गरेर वित्तीय दायराबाट पर राखेर मात्रै समाधान हुँदैन । भनेर अर्थ मन्त्रालयलाई भनेका छौँ । समितिले अहिलेसम्म आइपुग्दा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने,कानूनले निर्धारण गरेका संरचनाहरू नबनाउने,नियमनकारी निकायहरू कमजोर हुने। नियमनकारी निकाय छलफलमा मात्रै सीमित हुने, बजेट भाषणमा आउने तर कार्यान्वयनमा नआउने समस्या अहिलेकै अवस्थाबाट सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको देखिन्छ।’

नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गरेपछि छानबिन समिति बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *