सिमराका वडाध्यक्षको दादागिरी : मापसे गरी उद्योगभित्र पसी कर्मचारीलाई गाली गर्दै गरे तालाबन्दी (भिडिओ) – Nepal Press

सिमराका वडाध्यक्षको दादागिरी : मापसे गरी उद्योगभित्र पसी कर्मचारीलाई गाली गर्दै गरे तालाबन्दी (भिडिओ)

काठमाडौं । बारा जिल्लामा रहेको एक उद्योगमा वडाध्यक्षले उद्योगभित्र पसेर उद्योगको कर्मचारीलाई गाली गर्दै उद्योगमा ताला लगाएका छन् ।

बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका ११ मा रहेको ब्राईट मेटल इण्डष्ट्रिज प्रालीमा सोही वडाका वडाध्यक्ष दिंदालाल साहले उद्योगभित्र पसेर उद्योगमा काम गर्ने कर्मचारीलाई गाली गर्दै उद्योगमा ताला लगाएर हिँडेका हुन् ।

उद्योगले खाना पकाउने एलपीजी ग्यास सिलिण्डर र सिलिण्डरमा लाग्ने पितलको भल्ब बनाउने गरेको छ । उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले वडाध्यक्षले उद्योगभित्र पसेर कर्मचारीलाई गाली गरी उद्योग नै बन्द गराउने धम्की दिदै उद्योगमा ताला लगाएको बताए ।

‘ब्राईट मेटल इण्डष्ट्रिजमा हिजो जितपुर सिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ का वडा अध्यक्षले आएर ताला लगाएर हिँडेछन् । वडाध्यक्षले आएर ताला लगाएर गएपछि के गर्ने भनेर मलाई उद्योगबाट फोन आयो । मैले प्रहरीलाई खबर गर्नु भने । उद्योगको म्यानेजरले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली आएर हेरेपछि वडा अध्यक्ष चाबी बढाए छन् । प्रहरीले वडा अध्यक्ष मदिरा सेवन गरेको र भोली छलफल गर्ने भनेर गए’, उनले भने, ‘हिजो साँझ ५ बजे वडा अध्यक्ष साह र उनका सहयोगी रुपनारायण चौधरीले उधोगको मुल गेटमा आएर सुरक्षा गार्डलाई धम्क्याई म यस वडाको मुख्य मान्छे हँु चिन्दैनस् भन्दै जबरजस्ती गेट खुलाई उधोग भित्र गएका थिए । अध्यक्षले यो उद्योगमा यस गाउँ बाहिरका मानिसले काम गर्न पाउदैन् भने । बाइकमा आएका वडा अध्यक्षले मजदुर र कर्मचारीहरुलाई बाहिर निकाली उद्योगमा ताला लगाएर यो ताला कसैले खोल्यो भने हात खुट्टा भाचिदिन्छु भनेर हिडेका थिए ।’

इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी आएपछि वडाध्यक्ष मदिरा सेवा गरेको र भोलि छलफल गर्ने भन्दै चाबी ल्याएर उद्योग खोलिदिएको घिमिरेले बताए । उद्योग स्थापना गर्दा स्थानीय जनप्रतिनिधिहरुले दुख दिँदा उद्योग स्थापना गर्न असहज हुने उनले बताए ।

जितपुर सिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ वडा अध्यक्ष दिंदालाल साहले हिजो गएर उद्योगमा ताल्चा लगाएको बताए ।

उनले भने, ‘स्थानीयले हामीलाई हाम्रो गाउँमा स्थपना भएको उद्योगमा काम दिएन भनेपछि मैले गएर उद्योगमा ताल्चा लगाएको हुँ । उद्योग स्थापना गर्ने बेलामा नै स्थानीयलाई रोजगारी दिने सहमति भएको थियो । तर, अहिले सबै स्थानियलाई निकालेर भारतीयलाई रोजगारी दिएपछि समस्या भएको हो ।’

तर, घिमिरेले भने उद्योगमा स्थानियलाई रोजगारी दिने कुनै सहमति नभएको बताए । एलपीजी ग्यास सिलिण्डर र सिलिण्डरमा लाग्ने पितलको भल्ब बनाउने काम पुरै टेक्निकल भएकोले ज्ञान र सीप भएकाले मात्रै गर्न सक्ने बताए । उद्योग स्थापनाका बेला उद्योगको भौतिक संरचना निर्माण गर्दा २ सयभन्दा धेरै स्थानियलाई रोजगारी उद्योगले दिएको उनले बताए ।

ब्राईट मेटल इण्डष्ट्रिजले उत्पादन गरेको बस्तु बजारमा पुर्याउने तयारी गरेको छ । अबको केही दिनमा उद्योगले उत्पादन गरेको बस्तु बजारमा जाने छ । यो उद्योगमा करिब १ अर्ब लगानी रहेको छ ।

भिडिओ

जितपुर सिमरा उप–महानगरपालिकाका इलाका प्रहरी कार्यालयका डिएसपी चिञ्जिबी दाहालेले हिजो साँझ ५ बजे वडाध्यक्ष दिंदलाल साहले उद्योगमा ताला लगाएको बताए । उनले भने, ‘हामी गएपछि वडा अध्यक्षले चाबी पठाउनु भयो । अनि उद्योगको लगाएको ताल्चा खोल्यौं । वडाध्यक्षले मदिरा सेवा गरेको भन्ने कुरा पनि थियो । तर, परीक्षण भने भएको होइन ।’

जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जितपुर सिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ मा रहेको ब्राईट मेटल इण्डष्ट्रिजमा सोही वडाका वडाध्यक्ष साहले उद्योग भित्र दादागिरी दिखाउदै कर्मचारीलाई गाली गरेर उद्योगमा ताल्चा लागाउनु आपत्ति छ ।

उनले भने, ‘देशका उद्योगहरु राम्रोसँग नचलेको बेलामा बस्तु उत्पादन गरेर बिक्री गर्ने तयारीमा रहेको उद्योगमा आएर वडाध्यक्षले झगडा गर्नु राम्रो होइन । यो देशभरको नै समस्या हो । हामीले वडाध्यक्षलाई बोलाएर छलफल गर्ने छौं । नेपालमा उद्योग स्थापनालाई वृद्धि गर्नु पर्ने ठाउँमा सरकारी निकायबाट नै लफडा गर्नु राम्रो होइन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *