बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटक बढ्दै
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको रोजाई बढ्दै गएको छ । पछिल्लो ६ महिनाको अवधिमा २ लाखभन्दा बढी बाह्य पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्।
सन २०२४ यता जुन महिनासम्म आन्तरिकबाहेक भारतीय र तेस्रो मुलुकका गरी २ लाख ४ हजार ६९४ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ।
सबैभन्दा बढी भारतबाट १ लाख ५२ हजार ५२० जना लुम्बिनी घुम्न आएका छन्। सन २०२३ को यही अवधिसम्म १ लाख ३३ हजार १७९ भारतीय आएका थिए।
जुनसम्मको तथ्याङ्कलाई आधार मान्दा कोभिड अघिभन्दा अहिले भारतीय पर्यटक ५० प्रतिशतले बढेका छन्।
२०१९ को जुनसम्म १ लाख २ हजार ४५२ भारतीय लुम्बिनी आएको कोषको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो समय भारतीय पर्यटक आगमनले रेकर्ड कायम गर्दै गएको छ।
यस्तै २०२४ को ६ महिनामा भारतबाहेक अन्य तेस्रो मुलुकहरूबाट कुल ५२ हजार १७४ पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष १२ हजारभन्दा बढी विदेशी पर्यटक आएका हुन्।
सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ राहदानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ को जुनसम्म ८३ हजार १५५ विदेशी पर्यटक आएका थिए। ५ वर्ष अघिको तुलनामा अहिले झण्डै ३१ हजार कम विदेशी पर्यटक आएका हुन्।
पछिल्लो ६ महिनामा लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाइल्याण्डबाट १२ हजार २४४ जना रहेका छन्।
श्रीलंकाबाट ९ हजार २६५, म्यानमारबाट ७ हजार २९५, चीनबाट ६ हजार ७३४ पर्यटक आएका छन्। भियतनामबाट ३ हजार ८११, दक्षिण कोरियाबाट २ हजार ७२२ र जर्मनीबाट १ हजार ११९ पर्यटक ६ महिनायता यहाँ आएका छन्। अन्य मुलुकको आगमन दर हजारभन्दा कम छ।
लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन कोभिड अघि भन्दा निकै कम देखिएको छ। सन् २०१९ को जुनसम्म ७ लाख ३३ हजार जना नेपाल भित्रबाटै यहाँ घुम्न आएका थिए।
यो वर्षको ६ महिनामा जम्मा ३ लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक आएका छन्। अघिल्लो वर्षको यही अवधिभन्दा अहिले ११ हजारले कम हो। सन् २०२३ को जुनसम्म ३ लाख ५५ हजार ८५० नेपालभित्रबाटै लुम्बिनी घुम्न आएका थिए।