सीमलतालवारि यसअघि पहिरो गएको थिएन, नयाँ ठाउँको पहिरोले बगायो दुई बस
चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको दूरी २९ किलोमिटर छ । यस क्षेत्रमा नियमितजसो पहिरो जाने भएकोले सडक डिभिजन कार्यालय चितवनले चार वटा पहिरोको जोखिमजन्य स्थान पहिचान पनि गरेको छ ।
नारायणगढ-मुग्लिङ सडकको पहिचान गरेको चार स्थान कालीखोला, नाम्सीपुल, मौरीपुल र तुइनखोला हो । तर, हिजो बिहानैदेखि लगातार परेको पानीले ती चार स्थानमा पहिरो झारेन ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार अन्य ससाना पुलेसाहरुबाट पनि ससाना पहिरो झर्ने गरेको छ ।
हिजो पनि ससाना पहिरोले थोरैथोरै समय बाटो रोकिने खुल्ने भइरहेको थियो । तर, राति एक्कासि सिमलतालको पुल वारि मुग्लिङदेखि २३ किलोमिटर ५ सय मिटर नारायणगढतर्फ एक्कासि लेदोसहित आएको पहिरोले दुई यात्रुबाहक बस नै त्रिशूलीमा खसायो ।
जसका कारण दुइटा बसमा सवार ६५ हाराहारीमा यात्रु बेपत्ता छन् । बस पनि त्रिशूली नदीमा डुबेको छ ।
इन्जिनियर साह भन्छन्, ‘हामीले पहिचान नै नगरेको ठाउँमा पहिलो पटक लेदोसहितको पहिरो खसेको हो ।’
घटनास्थल पुगेर फर्किएका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल पनि यसअघि पहिचान नै नभएको ठाउँमा पहिरो खसेर ठूलो दुर्घटना भएको बताउँछन् ।
उनले नेपाल प्रेससँग भने, ‘सडक डिभिजनले पहिचान गरेको २५ वटा पहिरोजन्य जोखिमको क्षेत्रमा नपरेको ठाउँमा नयाँ पहिरो खसेको रहेछ ।’
बस बगाएकोमात्रै होइन लेदोसहितको पहिरोले रातिदेखि नै बाटो अवरुद्ध गराएको कालीखोलाको पहिरो पनि नयाँ भएको इन्जिनियर साहले बताए ।
यसैबीच १ बजेर २० मिनेट जाँदा नारायणगढ मुग्लिङ सडकको पहिरो पूर्ण रुपमा पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार पहिरो पन्छाइ बाटो सञ्चालनमा आएको हो ।