सरकारी कमजोरीले जनधनको क्षति भएको यातायात मजदुर संगठनहरूको आरोप
सडक सुरक्षा संयन्त्र बनाउन माग
काठमाडौं । विपद् सम्भाव्यताबारे सरकारी तयारी कमजोर भएका कारण सवारी दुर्घटना र जनधनको क्षति भएको यातायात मजदुर संगठनले आरोप लगाएका छन् । उद्धार कार्यमा समेत सरकारले ढिलासुस्ती गरेको तीन यातायात मजदुर संगठनको जिकिर छ ।
लामो समय वर्षा हुने पूर्वानुमानपछि पनि सम्भावित विपद् बारे सरकारले व्यवस्थापनको तयारी नगरेको भन्दै उनीहरूले आलोचना गरेका छन् । शुक्रबार विज्ञप्ती जारी ती संगठनले शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोको ढुङ्गाले लागेर मृत्यु भएका वुटवल-काठमाडौं बसका चालक मेघनाथ विकको परिवारलाई राहत उपलब्ध गराउँदै, यात्रुहरूको ज्यान जोगाउने चालकलाई सरकारको तर्फबाट मरणोपरान्त विशेष सम्मान प्रदान गर्न पनि माग गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले जारी गरेको विज्ञप्तिमा त्रिशूली नदीमा हराइरहेका बसका यात्रुहरूको खोजीमा विशेष एक्सन र राहत प्याकेज घोषणाको माग गरेका छन् ।
सरकारले तत्काल ‘सडक सुरक्षा संयन्त्र’ गठन गरी जोखिमयुक्त सडकहरूको मर्मतसम्भार, विपद्मा परेकालाई उद्धार, पीडितहरूको उपचार, जोखिमयुक्त सडक र स्थलहरूको पहिचान र व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ ।
विज्ञप्तिमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले हस्ताक्षर गरेका छन् ।