संसदमा गृहमन्त्री लामिछाने र कांग्रेस सांसद खतिवडाको नोकझोक (भिडिओ) – Nepal Press

संसदमा गृहमन्त्री लामिछाने र कांग्रेस सांसद खतिवडाको नोकझोक (भिडिओ)

गृहमन्त्रीको टिप्पणीः सरकार बन्न पाएको छैन, पेल्न थालिसक्नुभयो !

काठमाडौं । प्रधानमन्त्रीलार्ई विश्वासको मत माग्न डाकिएको संसद वैठकमा आज गृहमन्त्री रवि लामिछाने र कांग्रेस सांसद रामहरी खतिवडाबीच तीव्र नोकझोक भएको छ । लामिछानेले बोल्दै गर्दै खतिवडाले नियमापत्तिसमेत गरे ।

आफ्नो सम्बोधनको क्रममा लामिछानेले खतिवडाको नाम नलिइकन उनको आलोचना गरेका थिए । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पूर्जि जारी भएपछि खतिवडा कांग्रेस सांसदहरुको दलबल लिएर उनीप्रति एैक्यवद्धता जनाउन पुगेका थिए ।

उक्त घटना सम्झिँदै गृहमन्त्रीले यस्तो भनेका थिए, ‘कसैको त नाम पनि लिनु हुँदैन, लोकतन्त्र खतरामा परिहाल्छ, प्रेस स्वतन्त्रता खतरामा परिहाल्छ । कति ठाउँबाट विज्ञप्ति आए ? कतिले विज्ञप्ति चढाउन गए ? राजाका पालामा दाम चढाएजस्तो विज्ञप्तिमाथि विज्ञप्ति चढाउन जानुभएको होइन ? सुशासन समितिको सभापति (खतिवडा) सिंगो पार्टीका सांसद बोकेर पक्राउ पूर्जि जारी भएको अभियुक्तलाई भेटेर म तपाईंको साथमा छु भन्नुभयो । अनि सुशासनको अपेक्षा गर्ने ? यति बोलेका कारण मैले कतिवटा सम्पादकीय भोग्नुपर्ने हो ? अब त संसदीय समितिमा पनि तपाईंहरूको बहुमत पुग्छ । मलाई ठग प्रमाणित गर्न कुनै आपत्ति हुँदैन होला । यो देशमा कोही न कोही त जेल जानैपर्छ । सुरुवात मबाट गर्नुस, शुभकामना छ ।’

आफ्नो सम्बोधनको उत्तरार्द्धमा गृहमन्त्रीले आफ्नो पार्टीकी शिक्षामन्त्री सुमना श्रेष्ठको मन्त्रालयबाट हासिल भएका उपलब्धिको चर्चा गर्न खोजेका थिए । यत्तिकैमा रामहरी खतिवडा उठेर नियमापत्ति गरे ।

उनले भने, ‘आज प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा गृहमन्त्रीको हैसियतले बोलाइएको हो कि रास्वपा नेताको हैसियतले ? कुनै एउटा भाषण गृहमन्त्रीका गर्नुभएको हो कि रास्वपा नेताको हैसियतमा हो त्यो जानकारी पाऊँ ।’

उपसभामुख इन्दिरा रानाले गोलमटोल जवाफ दिइन् ।

उनले भनिन्, ‘माननीय रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको नेताको हैसियतले यहाँ समय नदिएको हुनाले म चुप लागेर बसेको हो । नत्र म जहिले पनि टाइम काट्ने मान्छे हुँ । माननियज्यूलाई पनि आफ्नो भनाइ संक्षिप्तमा राख्न अनुरोध गर्छु ।’

जवाफमा लामिछानेले कटाक्ष गर्दै भने, ‘सरकार बन्न पाएको छैन, उताबाट सुरु गर्न थालिसक्नुभो । वाह, मर्निङ सोज द डे । तपाईंहरुको बिहानीका लागि शुभकामना ।’

आफूले संसदको कार्यविधिअनुसारै बोलेको बताए । त्यसपछि उनले आफ्नो भनाइ अन्त्य गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा जाहेर गरेर हिँडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर