याक नेपालको कर्मचारी भर्नामा बदमासीः परीक्षा नै नदिएकी राधिका नाथ उत्तीर्ण सूचीमा ! – Nepal Press

याक नेपालको कर्मचारी भर्नामा बदमासीः परीक्षा नै नदिएकी राधिका नाथ उत्तीर्ण सूचीमा !

कैलाली । कैलालीमा परिवर्तनको लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल) नामक एक संस्थाले प्रारम्भिक सूचीमै नभएका एक जनालाई जागिर खुवाउने गरि नाम निकालेको खुलेको छ । केयर नेपाल र आईडीईको संयुक्त साझेदारीमा याक नेपालद्वारा कैलाली जिल्लाका पाँच वटा स्थानीय तहका लागि असार ४ गते ५ जनाको लागि खुल्ला विज्ञापन आह्वान गरेको थियो ।

जिल्लाको कैलारी गाउँपालिका, जानकी गाउँपालिका, गोदावरी नगरपालिका घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा नगरपालिकामा सञ्चालन हुन गइरहेको पोषण परियोजनाका लागि सूचना आह्वान गरिएको हो । उक्त सूचनाअनुसार १३ जनाले आवेदन दिएको असार १९ गते याक नेपालले जानकारी गराएको थियो ।

उक्त सूचनामा २२ गते शनिबार बिहान ९ बजे धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा परीक्षा हुने जानकारी गराइएको थियो । त्यसदिन पनि १३ जनालाई नै परीक्षामा सहभागिता गराइएको थियो । तर, असार २६ गते याक नेपालले सफल उम्मेदवार भन्दै पाँच जनाको नाम र वैकल्पिक उम्मेदवार भन्दै २ जनाको नाम सार्वजनिक गरेको थियो ।

‘आवश्यक कर्मचारी छनोट गर्न असार ४ गते प्रकाशित खुल्ला विज्ञापन अनुसार रितपूर्वक प्राप्त निवेदनमध्ये प्रारम्भिक सूचीमा पर्न सफल वास फेसिलेटर पदका उम्मेदवारहरूको लागि २०८१ असार २२ गते सञ्चालित लिखित र अन्तरवार्ता परीक्षामा सहभागी मध्ये तपसिल बमोजिम कर्मचारी सफल भएको ब्यहोरा जानकारी गराइन्छ’, नतिजा प्रकाश सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

सन्दीप चौधरी, गीता कुमारी चौधरी, महेन्द्र ठकुल्ला, राधिका नाथ र नरेन्द्र शाहलाई कार्यालयमा हाजिर गर्न भनिएको थियो ।

ती पाँच जनामध्ये धनगढी उपमहानगरपालिका ८ कैलाली घर भएकी राधिका नाथको नाम न प्रारम्भिक सूचीमै रहेको थियो न त परीक्षामै सहभागी भएकी थिइन् । परीक्षामै सहभागी नभएकाहरूलाई याक नेपालले पास भएको भन्दै हाजिर हुन सूचना सार्वजनिक गरेको थियो ।

प्रारम्भिक सूचीमा नाम नभएको र परीक्षामा समेत नदिएका व्यक्ति पास हुँदा आफू मारमा परेको वैकल्पिक उम्मेदवार रुकेश विष्टले बताए ।

‘सार्वजनिक विज्ञापन खोलेपछि मैले पनि आवेदन दिएर लिखित र मौखिक परीक्षामा सहभागी भएको थिएँ तर परीक्षा नै नदिएका र प्रारम्भिक सूचीमा पनि नरहेकाको नाम निस्कियो यो गलत हो गैरकानूनी हो’, उनले भने ।

परीक्षा नै नदिएकालाई कर्मचारी राख्न आफूलाई छनोट भएर पनि वैकल्पिकमा राखिएको उनले आरोप लगाए ।

१८ महिना सिभिल इन्जिनियरिङ गरेको, तीन वर्ष सम्बन्धित काम गरेको हुनुपर्ने भन्दै आह्वान गरेको सूचनामा आफूले सबै प्रक्रिया पूरा गर्दा पनि मारमा परेको उनको भनाइ थियो ।

‘१३ जनाको नाम आएको थियो । शनिबार म काठमाडौँ थिए । मलाई बेलाए । १३ जनामध्ये ११ जना मात्रै परीक्षा दिन आएका थिए । तीन प्रश्न थिए । सामान्य प्रश्न थिए । फिल्डतिरको कुनै प्रश्न नै थिएन । लिखित पछि मौखिक पनि भएको थियो मैले त्यसको पनि जवाफ दिएको थिएँ । घोडाघोडीमा म एक्लै थिएँ । सम्बन्धित पालिकालाई बढी प्राथमिकता दिने भनेको थिए । तर, नाम निकाल्दा बदमासी गरियो,’ उनले भने ।

याक नेपालले जारी गरेको विज्ञापन सूचना, प्रारम्भिक उम्मेदवारको नाम, परीक्षामा सहभागी हुनेहरुको नाम हेर्दा उक्त संस्थाले सरासर गलत गरेको देखिन्छ । विज्ञापनमा आएका उम्मेदवारहरूलाई परीक्षा लिएर पनि परीक्षा नै नदिएका व्यक्तिलाई छनोट गर्नु याक नेपालको बदमासी हो ।

यस विषयमा याक नेपालका अध्यक्ष तथा पदपूर्ति समितिका संयोजक बलबहादुर रोकाया प्रारम्भिक सूचीमा नरहेपनि योग्य भएको हुँदा उनलाई छनोट गरिएको भन्दै बचाउ गर्छन् ।

‘हामीले सम्बन्धित पालिकाबाट लिन खोजेको हो तर आधार नै पुगेन भने त हामीले लिने कुरा भएन फेरि जातीय लैंगिक हिसाबले समावेशी पनि बनाउनु पर्छ’, उनले भने, ‘पोषण योजनाको उपयुक्त भएको हुँदा उहाँलाई राखिएको हो ।’

अरू उपयुक्त नभएको भन्दै उनले परीक्षा नै नदिएकालाई योग्यता र क्षमताको आधारमा निर्णय गरेको बताए ।

आवेदन दिएका अन्य कुनै आवेदनकर्ता योग्य नभए फेरि पदपूर्ति गर्न अर्काे विज्ञापन आह्वान गर्नुपर्ने हुन्छ तर उनले पुरानै विज्ञापनमा परीक्षा दिएका उम्मेदवारहरूलाई पाखा लगाएर परीक्षामै सहभागी नभएकालाई छनोट गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *