ओली– देउवा मिलनको सेतु, त्यो ४२ सेकेन्डको संवाद
कैलाली । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिले एमालेसँग रहे कहिले काङ्ग्रेससँग गए ।
एमालेसँगको सत्ता सहकार्यमा पूर्णविराम लगाउँदै कांग्रेसको साथ खोलेका बेला डडेल्धुराबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवासँग गरेको ४२ सेकेन्डको संवाद एमाले कांग्रेस एक ठाउँमा उभिने सेतु बनेको बताइन्छ ।
पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्राका क्रममा डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका थिए । मङ्सिर १५ गते बिहानै डडेल्धुरास्थित रातो गुराँसबाट ओलीले देउवासँग ४२ सेकेन्ड कुरा गरे ।
‘जय नेपाल डडेलधुराबाट, गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुराभन्दा अलि पर्तिर, याँ डडेलधुरा। डडेलधुरा बजारभन्दा अलि तल्तिर बस्या छौँ। राम्रो छ यतातिर। अनि तपाईँ जिल्लामा आएको बेला यसो सम्झिएको नि। अनि त्यता सबै राम्रो छ नि ?’ ओलीले भनेका थिए ।
सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै ओलीले लेखेका थिए, ‘सुन्दर डडेलधुरा१ मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी ?’
त्यो कुराकानी पछि उनीहरुबीच थप कुराकानी भएको एमाले एक पदाधिकारी बताउँछन् । त्यसपछि दुबै पार्टीका दोस्रो तहका नेताहरूबिच पनि भेटघाट बढ्दै गयो ।’
‘त्यो संवादपछि काङ्ग्रेससँग सत्ता सहकार्य सम्मको संवाद गर्ने बाटो खुलेको थियो ’ उनले भने, ‘त्यहि संवादले मूर्तरूप लिएर आज अध्यक्ष कमरेड प्रधानमन्त्री बन्दै हुनुहुन्छ । ’
त्यसपछि एमाले केही नेताहरूले कांग्रेस र एमालेबीच पनि सत्ता सहकार्य हुन सक्ने सङ्केत दिन थालेका थिए ।
डडेल्धुरा शेरबहादुर देउवाको गृहजिल्ला हो। २०४८ सालदेखि देउवा निर्वाचनमा अपराजित रहेका छन् । उक्त फोन संवाद पछि एमाले माओवादी सत्ता सहकार्य भएको थियो ।
तर, त्यो बेला एमालेले मन्त्री पठाउँदा देखाएको छनकलाई धेरैले अर्को राजनैतिक खेल भइरहेको ठम्याएका थिए । अन्ततः त्यसको केही महिना पछि ठुला दुई दल एमाले र कांग्रेस एक ठाउँमा उभिएका छन् ।