राष्ट्रपति चुनाव नजिकिँदा मेटाले खोल्यो ट्रम्पको फेसबुक र इन्स्टा आइडी
काठमाडौं । चार वर्ष अगाडि राष्ट्रपति भएर बिदा हुँदा अमेरिकी राजधानीको प्रशासकीय भवनमा भएको तोडफोडपछि बन्द गरिएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका मेटाका खाता खुला भएका छन् । आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवार भएका ट्रम्पको खाता खुला गरिएको हो ।
हिंसा भड्काएको भन्दै चार वर्ष अगाडि बन्द गरिएका खाता फेरि खुलाइएको गार्डियनले उल्लेख गरेको छ । मेटा तथा ट्विटरबाट प्रतिबन्ध लगाइएका ट्रम्पले पनि ट्रूथ सोसल नामको आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । एलन मस्कले स्वामित्व लिनासाथ उनको ट्विटर (हालको एक्स)मा खाता खुला गरिएको थियो ।
मेटाले भने ट्रम्प रिपब्लिकन उम्मेदवार भएर राष्ट्रपति हुने बलियो सम्भावना भएपछि खुला गरेको सार्वजनिक गरेको छ । अमेरिकामा मुख्यालय भएर सञ्चालन भएका सामाजिक सञ्जालहरुले डेमोक्रेटिक दल पक्षधर हुने आरोप रिपब्लिकनहरुले लगाउँदै आएका छन् । चन्दामा मात्रै होइन सामाजिक सञ्जालको फैलावटमा पनि त्यस्तो गरिने उनीहरुको आरोप छ ।