त्रिशूलीमा खसेको बस र यात्रुको खोज उद्धार तीव्र : २ दिनसम्मको नतिजा ‘शून्य’
वाटर ड्रोनदेखि विभिन्न उपकरणको प्रयोगले पनि भएन प्रगति, धमिलो पानी र नदीको उच्च बहाव बाधक
चितवन । नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा शुक्रबार बिहान साढे ३ बजे दुई बस लेदोसहितको पहिरोले बगाएकामध्ये अहिलेसम्म दुईजनाको शव भेटिएर पहिचान भएको छ । अर्को एक शव भेटिएपनि दुई बसमध्येका यात्रु हुन् वा होइनन् यकिन हुन सकेको छैन ।
दुर्घटना बिहान झिसमिसेमै भएपनि लगातारको पानी र सडकमा खसेको पहिरोका कारण शुक्रबार बिहान साढे ८ बजेपछि मात्रै गोताखोरसहितको टोलीले खोजी थालेको थियो । रात परेपछि हिजो रोकिएको खोजी तथा उद्धार शनिबार बिहानबाट पुन: सुरू गरियो ।
२ दिनको लगातार खोजीमा तीन वटा शव र एउटा बालकले लगाउने सुरुवाल साथै बसको पर्दामात्रै भेटिएको छ । पहिरोले बगाएर त्रिशूलीमा खसेको दुबै बसको यात्रु चलानको आधारमा ५१ जना रहेको चितवन प्रशासनले जनाएको छ ।
जसमा वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा २४ जना र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना थिए ।
तर, तीमध्ये अहिलेसम्म दुईजनाको मात्रै पहिचान हुँदा चौतर्फीरूपमा खोजी कार्य प्रभावकारी हुन नसकेको टिप्पणी तथा प्रतिक्रिया आइरहेका छन् ।
यही बीचमा जिल्ला प्रशासन कार्यालय चितवनले आज प्रेस विज्ञप्ति जारी गरेर त्रिशूली नदीमा खसेको बस तथा यात्रुको उद्धारको लागि सबै सामर्थ्य लगाएर काम गरेको जनाएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जारी गरेको विज्ञप्तिअनुसार जिल्लास्थित सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल नेपाल, विपद् तालिम शिक्षालय, कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गणका तालिमप्राप्त टोली खोज तथा उद्धारमा खटिएको छ । खोजीका क्रममा फलामे हुक (एन्कर), गोताखोर, वाटर ड्रोन, र्याफ्टिङ बोट, बाइनाकुलर टेलिस्कोपलगायत विभिन्न प्रविधि अपनाइएको छ ।
खोजी कार्यालाई भोलि बिहानदेखि अझ प्रभावकारी बनाइने साथै ठूलो म्याग्नेटको प्रयोग तटीय क्षेत्रमा र्याफ्टिङ बोट, पैदल र घटनास्थलदेखि गोलाघाटसम्म एयर ड्रोन प्रयोग गरिने भुसालले बताए ।
जिल्लाका भरतपुर महानगरपालिका, होटल व्यवसायी, तथा स्वस्फूर्त रूपमा नागरिकले पनि खोजउद्धारमा सहयोग गरिरहेको उनले बताए । यद्यपि पानीको बहाब बढी र धमिलो पानी भएका कारण समस्या भइरहेको छ ।
चितवनको प्रहरी प्रशासनले ती दुई बसमा सवार यात्रुहरुको पहिचानका लागि परिवारसँग सम्पर्क गरेर फोटो र परिचय पत्र पनि संकलन गरेको छ । भने, चितवनमा आफन्त खोज्न आएका परिवारजनलाई यहाँका होटल व्यवसायीको समन्वयमा निःशुल्क खान तथा बस्नको समेत व्यवस्था गरिएको जनाइएको छ ।
भेटिएका र बाँचेका यात्रु गणपति डिलक्सको मात्रै
हिजो शुक्रबार सीमलताबाट बगाएका दुवै बसमा भएका यात्रुमध्ये पौडी खेलेर किनारमा आएका तीनजना र आज दिउँसोसम्म भेटिएर पहिचान भएका दुई शव काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्सको भएको बताइएको छ । वीरगञ्जबाट काठमाडौंका छुटेको एञ्जल यातायातको बसमा सवार व्यक्ति र बसको नामो निसानो भेटिएको छैन ।
चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजाल एञ्जल यातायातको कुनै पनि यात्रु तथा बसको प्रमाण नभेटिएको बताउँछन् ।
पछाडि रहेको अर्को बसका चालकले बताएअनुसार काठमाडौँ जान आएको एञ्जल यातायातको बस पहिले त्रिशूली नदीमा खसेको थियो । भने, काठमाडौंबाट गौरतर्फ आएको गणपति यातायातको बस पछि खसेको थियो ।
डीएसपी रिजाल भन्छन्, ‘एञ्जल यातायातको एउटा पनि प्रमाण नभेटिनुले पहिलो बसको माथि गणपति पर्यो कि भन्ने अनुमानमा पनि खोजी गर्नुपर्ने तरिकाबाट हामीले सुरक्षा संयन्त्रको बैठकमा छलफल गरेका छौँ ।’
उनले खोजी कार्यमा संलग्न तालिमप्राप्त व्यक्ति र साधनमा कुनै कमी नभएको दाबी गरे । तर, धमिलो पानी र उच्च बहावमा खोजी कार्य कठिन भएको रिजालले बताए ।