२५ वर्षीया श्रीमतीको हत्या गरी ५ वर्षको छोरा लिएर श्रीमान् फरार
रुपन्देही । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरी ५ वर्षको छोरा लिएर फरार भएका छन् ।
भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षीय दामे भनिने जीवन ओलीले आफ्नै २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डिएसपी माधव खरेलले जानकारी दिए।
खरेलका अनुसार बुवाआमासँग झगडा गरेका ती दम्पती सानो छोरासहित अलग्गै बसेका थिए ।
ओलीले शुक्रवार राति श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा शव फेला परेको खरेलले बताए ।
उनकाअनुसार हत्यामा संलग्न भनिएका मृतकका श्रीमान् जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् ।
उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
मृतक अप्सराको शव भने रुकुम पूर्व अस्पतालमा पोष्टमार्टम गरिएको छ । सामान्य मजदुरी गरेर घर खर्च चलाउने जीवनले कसरी यस्तो गलत काम गरे भन्ने विषयमा स्थानीयले पनि प्रश्न गरेका छन् ।