इटाली, जर्मनी र फ्रान्सलाई हराएर फाइनल पुगेको स्पेनलाई हराउनुपर्ने छ इङ्गल्यान्डले खडेरी तोड्न – Nepal Press

इटाली, जर्मनी र फ्रान्सलाई हराएर फाइनल पुगेको स्पेनलाई हराउनुपर्ने छ इङ्गल्यान्डले खडेरी तोड्न

काठमाडौं। जर्मनीमा जारी युरो कप फुटबलको उपाधिका लागि आइतबार राती पूर्व विजेता स्पेन र साबिक उपविजेता इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ।

नेपाली समयअनुसार पौने १ बजे सुरु हुने यो खेलमा तुलानात्मक रुपमा स्पेन बढी आत्मविश्वासी देखिन्छ। स्पेनले साबिक विजेता इटालीसहित पूर्व विजेता फ्रान्स र जर्मनीलाई हराएर फाइनलको यात्रा तय गरेको हो।

इटाली पहिलो चरणमा १-० गोलले पराजित भएको थियो भने क्वाटर फाइनलमा जर्मनीलाई २-१ र सेमिफाइनलमा फ्रान्सलाई २-१ गोलले हराएर उसले उपाधि नजिकको यात्रा तय गरेको हो।

यता इङ्गल्यान्डले अहिलेसम्म यो प्रतियोगिता जित्न सकेको छैन। चार वर्षअघि ऐतिहासिक यात्रा तय गर्दै फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको थिएन।

यस पटक उसले स्पेनसँग उपाधि भिडन्त तय गर्नेक्रममा पहिलो चरणमा एक जित र दुई बराबरीको नतिजा निकालेको थियो।

प्रिक्वाटरफाइनलमा स्लोभाकिया, क्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई हराएको इङ्गल्यान्डले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पाखा लगाएको थियो।

स्पेनले सन् २००८ र २०१२ मा लगातार युरो कप जितेर विश्व फुटबलमै दबाब बनाएको थियो। त्यसबीचमा उसले सन् २०१० मा विश्वकप पनि हात पारेको थियो।

टिकिटाका शैलीबाट खेल्दै अनुभवी पुस्ताले लेखेको उक्त इतिहासयता केही समय स्पेनले गतिलो प्रभाव पार्न नसके पनि नयाँ पुस्ताको आगमनले फेरी प्रतिद्वनद्वीहरुमाथी हाबी बढाउँदै लगेको छ।

शनिवार मात्र १७ वर्ष लागेका स्पेनका लेमिन यमालले जारी युरो कपमा कमाल गरिरहेका छन्। दुई हेभिवेट भिडन्त क्वाटर फाइनलमा जर्मनी र सेमिफाइनलमा फ्रान्सविरुद्ध यमालले उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले जर्मनीविरुद्ध गोल असिस्ट गरेका थिए भने फ्रान्सविरुद्ध गोल गर्दै खेललाई बराबरीमा ल्याइपुर्‍याएका थिए।

जारी युरो कपमा स्पेनका डानी ओल्मो ३ गोल र २ असिस्टसहित सर्वाधिक गोलकर्ता रहेका छन्। स्पेनकै फाबियान रुइजले २ गोल र २ असिस्ट गरेका छन् भने यमालको नाममा एक गोल र ३ असिस्ट छ।

इङ्गल्यान्डका हेरि केनले ३ र जुड बेलिङ्घमले पनि २ गोल गरेका छन्। इङ्गल्यान्डले सन् १९६६ पछि ठुलो प्रतियोगिता जित्न सकेको छैन। त्यति बेला इङ्गल्यान्डले विश्वकप जितेको थियो।

इङ्गल्यान्ड र स्पेन अन्तिम पटक सन् २०१८ मा आमनेसामने भएका थिए जुन खेल इङ्गल्यान्डले ३-१ गोलले जितेको थियो।

यी दुई टोलीबीच भएका ६ भिडन्तमा स्पेनले ३ जित, इङ्गल्यान्डले २ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो।

स्पेन र इङ्गल्यान्ड ठुलो प्रतियोगिताका रूपमा अन्तिम पटक सन् १९९६ को युरो कपमा भिडेका थिए। क्वाटरफाइनलको त्यस भिडन्त इङ्गल्यान्डले १-० गोलले जितेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर