ठमेलको होटलबाट ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ (भिडिओ) – Nepal Press

ठमेलको होटलबाट ६ किलो कोकिनसहित मलेसियन महिला पक्राउ (भिडिओ)

काठमाडौं । प्रहरीले झन्डै ६ किलो कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौं सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुम भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले ती महिलाको साथबाट ५ किलो ८२० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागुऔषधसहित महिलालाई सार्वजनिक गरेको हो ।

ती महिलाले ६ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैंकक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख हुने प्रहरीको भनाइ छ ।

उक्त होटलमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति ११:२५ बजे काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौंबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्यान्डबाट कोकिन ल्याएको प्रहरीको आशंका छ । कोकिन पठाउने लाओस वा थाइल्यान्डमा रहेको र पाउने भारतमा रहेको अनुमान गरिएको छ । ती महिलाले ‘मेडियटर’ को काम गरेको अर्को व्यक्ति भारतबाट काठमाडौं लिन आएको हुनसक्ने प्रहरीको भनाइ छ ।

‘ती महिला पाँच/छ पटक नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले भन्नुभयो, ‘काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएको देखिएको छ, यसबारेमा अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकी महिला मलेसियाको भाषामात्र बोल्ने भएकाले थप अनुसन्धानमा जटिलता थपिएको उनले बताए ।

ती महिलाले कोकिन काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको आशंका छ । कोकिन लिन आउने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *