इन्सले मनायो भानु जयन्ती – Nepal Press

इन्सले मनायो भानु जयन्ती

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गतको भाषा तथा साहित्य समितिले २११ औँ भानु जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार भर्चुअल माध्यममार्फत आयोजित कार्यक्रममा आचार्यको योगदानको चर्चा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष तथा उपकुलपति एवम् नेपाली भाषा विज्ञ प्रा. डा. सुधा त्रिपाठीले भानुभक्तका बारेमा प्रकाश पारेकी थिइन् ।

उनले रामायण कसरी रचना गरिएको बारे उल्लेख गर्दै भानुभक्तका अन्य रचनाका बारेमा पनि बताएकी थिइन् । त्यस्तै, भानुभक्तले विश्वका नेपालीहरुलाई एक बनाउन भाषाको माध्यमबाट अहम भूमिका खेलेको त्रिपाठीले उल्लेख गरिन् ।

उनले आफ्ना सन्तानहरूलाई आफ्नो भाषा सिकाउने मात्रै नभएर त्यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याइन् । भानुभक्तले हामीलाई अक्षर दिएर गएकाले नै यसरी जयन्ती मनाइएको भन्दै डा. त्रिपाठीले हामीले पनि अक्षर सिर्जना गर्न मूलतः केही कर्म गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै, वरिष्ठ साहित्यकार वैधनाथ श्रमजीवीले भानुका कृतिमाथि आलोचनात्मक टिप्पणी गर्दै समसामयिक गजल वाचन गरे भने साहित्यकार डा. महालक्ष्मी अधिकारीले भानुका कृतिमाथिको सिलसिलेवार सिंहावलोकन प्रस्तुत गरिन् ।

इन्स भाषा साहित्य समितिकी अध्यक्ष एवम् कार्यक्रमका संयोजक एवम् सभाध्यक्ष डा. जानुका पौडेलले सहभागीहरूलाई स्वागत गर्दै भानुभक्तका रचनामाथि प्रकाश पारेकी थिइन् ।

आफूमा भएका कुराहरुलाई सन्देशमुलक ढंगले समाजमा दिन सकिरहेका छौँ कि छैनौ भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै पौडेलले भानुभक्तका सन्देशहरु पछिल्लो पुस्तामा कतिको हस्तान्तरण हुन सकेको छ भन्नेबारे पनि सोच्नुपर्ने बताइन् ।

इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरले भानुभक्तको महिमा गाउँदै आफूले हरेक देशका नेपाली वाटिकामा भानुभक्तको शालिक बनाउन र इन्स भानु सम्मान तथा पुरस्कार स्थापना गर्न चाहेको बताए ।

कार्यक्रममा कविहरू उज्जल भट्टराई (अमेरिका), प्रतिमा केसी (बेलायत) र डा. इन्द्रमणि अधिकारी, शोभा बराल, प्रमोद पाण्डे हेरम्ब (नेपाल)लगायत विभिन्न सर्जकहरुले देश विदेशबाट रचना वाचन गरेका थिए ।

कार्यक्रम समितिका महासचिव डा. चैतन्य अधिकारीले भानुका विभिन्न श्लोक गाउँदै सञ्चालन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *