सुनकोशी गाउँपालिकाद्वारा आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित – Nepal Press

सुनकोशी गाउँपालिकाद्वारा आगामी वर्षको नीति कार्यक्रम र बजेट पारित

५५ करोड ५२ लाख कूल बजेट विनियोजन

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । संविधानमा असार १० गते स्थानीय सरकारले बार्षिक बजेट र नीति तथा कार्यक्रम पेश गर्नुपर्ने उल्लेख छ । गाउँपालिकाको चौथो अधिवेशनमा बजेट र नीति कार्यक्रम सर्वसम्मत पारीत समेत भएको छ ।

सुनकोशी गाउँपालिकाले निर्धारीत समय असार १० मा नै नीति कार्यक्रम र बजेट पेश गरिएको र आइतबार भएको गाउँ सभाबाट पारीत भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष तिमिल्सिनाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्राथामीकता कृषि क्षेत्रलाई दिइएको छ । कृषि मार्फत सम्वृद्ध गाउँपालिका बनाउने उदेश्यले कृषि र पशुपालनमा २ करोड बजेट समेत विनियोजन गरिएको छ ।

गाउँपालिकाले पुर्वाधारको क्षेत्रमा वडा र पालिका बिच समपुरक योजना राखेर प्रभावकारी काम गर्न सुरुवात गरेको र त्यसलाई यो वर्ष थप प्राथामीकतामा राखेको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले पेश गरेको नीति तथा कार्यक्रममा रहेको छ ।

त्यस्तै, स्वास्थ्य तर्फ जिरो होम डेलिभरी लाई निरुत्साहीत गर्ने उदेश्यले सुत्केरी आमा र शिशुसँग गाउँपालिका भन्ने नयाँ कार्यक्रम अगाढी सारेको छ । त्यस्तै विद्यार्थीलाई सिप सिकाउने उदेश्यले विद्यालयमा विद्यार्थीसँग तरकारी खेती कार्यक्रम समेत सुरुवात गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

गाउँपालिका उपाध्यक्ष कान्छी लामाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ५२ लाख ३२ हजार ६५० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । पेश गरिएको बजेटमा संघीय सरकारको सर्शत र विशेष गरी २५ करोड २३ लाख ४१ हजार रहेको छ । गाउँपालिकाले सात वडामा वडास्तरीय योजनाका लाथि ५ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले पालिका गौरवको आयोजना भनेर यो वर्षदेखि नयाँ कार्यक्रम समेत सुरु गरेको र त्यसका लागि ४ करोड ८१ लख रुपैयाँको बजेट पेश गरिएको छ । गाउँपालिकाको गौरवको योजनाका लागि प्रत्येक वडामा ५० लाख रुपैयाँ बजेट उपलब्ध हुने र त्यो काम ठेक्का मार्फत गराउने गरी बजेट विनियोजन भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

गाउँसभामा लेखा समिति संयोजक जालबहादुर लामाले लेखा समितिको प्रतिवेदन, महालेखा परिक्षकको प्रतिवेदन सुशासन समितिका संयोजक कुमार शाही र रोजगार रणनीति आर्थिक विकास समितिका संयोजक इश्वर तामाङ ले पेश गरेका थिए । गाउँ सभामा गाउँपालिकाबाट सेवा निवृत्त भएका प्रशासन शाखा प्रमुख रामबहादुर न्यौपानेलाई सम्मान सँगै बिदाई गरिएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर