सिमलतालको हाल : दुर्घटनास्थलमा सन्नाटा, यात्रु खोजीमा चुम्बकदेखि ड्रोनसम्मको प्रयोग (भिडिओ)
चितवन । सडकमा सामान्य रुपले गाडी चलिरहेका छन् । वरपर पनि मानिसका भीडभाड छैन । मूल सडकको पुल आडैको झोलुङ्गे पुलबाट पनि मानिस सामान्य रुपमा आवत जावत गरिरहेका छन् ।
दुई दिनअघि बिहान झिसमिसे नहुँदै करिब ६० जना त्रिशूलीमा डुबाउने गरि दुईवटा गुडिरहेको बस बगाउने भयावह दुर्घटनाको स्थल जस्तो पनि देखिँदैन । खहरेबाट खसेका गेगरसहितका लेदो अझै पनि सडकमाथि नै छन् । केही थुप्रो सडक छेउमा पनि छ ।
हिजोसम्म कोलाहाल सिमलताल आज शान्त छ । पीडितका आफन्त रोइरहेका छैनन् । सडक मुन्तिर त्रिशूलीमा बस खोजिरहेका उद्धारकर्ता पनि घटनास्थल आसपास छैनन् । न त हराइरहेका यात्रुका आफन्त घटनास्थल वरिपरि नै छन् । उनीहरु कहिले नदी किनार त कहिले एक एक भेटिएका शव आफ्नो मान्छेको हो कि भनेर कुद्न नै हतार छ ।
दुर्घटना आसपासमै गाडी नभेटिएपछि खोजी टोलीले घटनास्थल आसपास प्रयोग गरिएको विभिन्न प्रविधिको प्रयोगबाट पनि दुईवटा बसको खोजीमा कुनै प्रमाण भेटिने संकेत नभएपछि उक्त क्षेत्र छाडेका हुन् ।
दुर्घटनाको चौथो दिन आइतबार साँझसम्म ६ वटा शव घटना भएको ठाउँभन्दा करिब ५० किलोमिटर तल भरतपुर र नवलपुरका नारायणी किनारमा भेटिन थालेपछि बसभन्दा प्राथमिकतामा अहिले बेपत्ता यात्रु परेका छन् ।
घटनास्थल सिमलतालबाट करिब दुई किलोमिटर तल सशस्त्रसहितको टोलीसहित खोजी कार्यमा भेटिएका चितवन प्रहरीका डीएसपी श्रीराम भण्डारी घटनास्थलभन्दा तलतर्फ सातवटा प्वाइन्ट बनाएर खोजी कार्य थालिएको बताउँछन् ।
उनका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले घुमाउनृबाट ८ वटा बोट, ५ वटा कायक र केही निजी वाटर बोट पनि प्रयोग गरेर नदीको सबै भागमा हेर्दै अघि बढेको छ ।
उद्धारमा संलग्न तालिमप्राप्त टोलीले दुर्घटनामा फसेका बसहरु घटनास्थलभन्दा तल घुमाउने, तल सेती दोभान लगायतका फराकिलो क्षेत्रमा पो आइपुगेको छ कि भनेर खोजी गरिरहेका छन् ।
घटनास्थलबाट त्रिवेणीसम्म ६ वटा भागमा विभाजन गरेर खोजी गरिरहेका जनाइएको छ । खोजीमा नेपाल प्रहरीको मात्रै १६२ जना संलग्न छन् । त्यसैगरि, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली पनि सहभागी छन् भने शव भेटिएको अवस्थामा उद्धार गर्न पनि प्रहरी टोली तैनाथ छन् ।
सशस्त्र प्रहरीले घटनास्थलदेखि गोलाघाटसम्म दुईवटा सेक्टर छुट्याएर ४÷४ वटा बोटमा खोजी कार्य गरेको छ । सशस्त्र प्रहरी विपद शिक्षालय कुरिनटारका एसपी जनक पूरीका अनुसार नदी तटीय क्षेत्रमा मानिसको खोजीलाई आजदेखि बढी केन्द्रित गरिएको छ ।
एनका अनुसार घटनास्थलदेखि दासढुङ्गासम्म ४ वटा वाटर बोट र दासढुङ्गादेखि गोलाघाटसम्म चार वटा वाटरबोटमा सशस्त्रको तालिम प्राप्त टोली सहभागी छन् । उनीहरुले नदी तटीय क्षेत्रमा सर्च अभियान चलाएका छन् ।
जसमा रबर बोट, रिभर बक्स, सोनार लगायतका साधन प्रयोग गरिएको छ भने ६ तरिकाबाट खोजी अभियान चलाइएको छ । जसमा बाँस, हुक, चुम्बक, सोलार क्यामरा, अण्डर वाटर ड्रोन लगायतका प्रविधि छन् भने गोताखोरले पानीभित्र पसेर पनि खोजी गरेका छन् ।
चार दिन खोज्दा ६ वटा शव भेटिए, भेटिएका सबै पुरुष
तालिमप्राप्त गोताखोरसहित खोजी कार्यको लागि प्रविधिको प्रयोग गरि चार दिनसम्म खोजी गर्दा दुईवटा बसमा सवार यात्रुहरुमध्ये ६ जनामात्रै भेटिएका छन् । भेटिएका सबै शव पुरुषको मात्रै रहेका छन् ।
उनीहरु घटनास्थलभन्दा ५० किलोमिटर तल नारायणी नदी तटीय क्षेत्रमा भेटिएका हुन् । भेटिएकामध्ये तीन जना भारतीय नागरिक रहेका छन् । भेटिएका ६ जनामध्ये पहिचान खुलेका ५ जनामा भारत बिहारका ऋषि पल साह, बिहारकै चम्पारणका जयप्रकाश ठाकुर र अर्का भारतीय नागरिक सजाद अन्सारी छन् ।
त्यसैगरि पहिचान खुलेका अन्यमा चितवन माडी घर भएका विकास परियार, सर्लाहीका रमित कुसर माझी रहेका छन् । उनीहरुको शव भरतपुर २८ गोलाघाट र नवलपुरको गैँडाकोट ७ गैरी क्षेत्रमा भेटिएको हो । त्यस्तै, भरतपुर २६ सिसुवार पोष्टमा भेटिएका एक पुरुषको भने साँझसम्म ६ बजेसम्म पहिचान खुलेको छैन ।
चौथो दिनमा अनुगमन गर्न पुगे गृह सचिव र भरतपुर महानगर प्रमुख
घटनाको चौथो दिन गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल क्षेत्र अवलोकन गरेका छन् ।
पहिरोले बगाएर हराइरहेका यात्रु तथा बसको अवस्थाबारे बुझि उद्धार तथा खोजी कार्य अझ प्रभावकारी बनाउने उनले निर्देशन दिएका हुन् ।
उनीसँगै अवलोकनमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भूसाल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।
त्यस्तै, घटनाअघि नै काठमाडौँ गएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल पनि आज नै दुईवटा बस हराइरहेको स्थल सिमलताल पुगिन् ।
उनले घटनास्थलको अनुगमनपछि भरतपुर महानगरको वडा नम्बर २९ मा नै दुर्घटना भएको र नारायणी नदीको तटीय क्षेत्रमा ८ वटा महानगरका वडा पर्ने बताइन् । सो क्षेत्रमा पर्ने वडाहरुलाई निर्देशन दिएर नदी तटीय क्षेत्रमा नागरिक तहबाट पनि यात्रुहरुको खोजी गर्न लगाउने उनले बताइन् ।