२८ खेलदेखि अपराजित कोलम्बियासँग अर्जेन्टिनाको उपाधि भिडन्त – Nepal Press

२८ खेलदेखि अपराजित कोलम्बियासँग अर्जेन्टिनाको उपाधि भिडन्त

काठमाडौं । कोपा अमेरिकाको उपाधिका लागि सोमबार बिहान साविक विजेता अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकामा बिहान पौने ६ बजे सुरु हुने खेलमा दुवै टोली उच्च मनोबलमा छन् ।

जारी प्रतियोगितामा कोलम्बियाले उरुग्वेलाई सेमिफाइनलमा हराएको थियो भने पहिलो चरणमा ब्राजिलसँग बराबरी खेलेको थियो । कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्ने प्रयासमा छ । अन्तिमपटक सन् २००१ को फाइनल खेलेको कोलम्बियाले त्यतिबेला उपाधि पनि हात पारेको थियो ।

पछिल्लो समय कोलम्बिया शानदार लयमा छ । उसले २८ खेलयता हार व्यहोरेको छैन । उसले अन्तिमपटक सन् २०२२ को फेब्रुअरीमा विश्वकप २०२२ का लागि भएको छनोटमा हार व्यहोरेको थियो, अर्जेन्टिना नै सँग ।

उक्त खेलमा लौतारो मार्टिनेजको गोलमा अर्जेन्टिना १–० गोलले विजयी भएको थियो । त्यसयता कोलम्बियाले खेलेका २२ खेल जितेको छ भने ६ खेलमा बराबरी खेलेको छ । सन् २०२३ को जुलाईमा जर्मनीलाई २–० र नोभेम्बरमा ब्राजिललाई २–१ गोलले हराएको थियो ।

उल्लेखनीय के छ भने कोलम्बियाले अर्जेन्टिनालाई अन्तिमपटक कोपा अमेरिकामै हराएको थियो । सन् २०१९ को जुलाईमा भएको प्रतियोगितामा कोलम्बियाले २–० गोलको जित हात पारेको थियो । त्यसयता यी दुई टोलीबीच तीनपटक प्रतिस्पर्धा भएकामा अर्जेन्टिनाले दुई जित र एक बराबरीको नतिजा निकालेको छ ।

अर्जेन्टिना पनि पछिल्ला १० खेलयता अपराजित छ । अर्जेन्टिनाले यी सबै खेल जितेका हुन् । अन्तिमपटक गत नोभेम्बरमा पराजित भएको थियो, विश्वकप छनोटको खेलमा उरुग्वेसँग २–० गोलले ।

यसबीचमा उसले ब्राजिल र चिलीजस्ता टोलीलाई हराएको छ । सोमबार बिहान हुने खेलमा जित हात पार्ने सके अर्जेन्टिना कोपा अमेरिका सर्वाधिक जित्ने एक्लो टोली बन्ने छ । हाल उरुग्वे र अर्जेन्टिना दुवैले १५/१५ पटक जितेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर