रेडियो नेपालबाट बैतडेली भाषाको समाचार प्रसारण सुरु
डोटी । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र, दिपायलबाट बैतडेली भाषाको समाचार बाचन प्रारम्भ भएको छ ।
बहुभाषिक नीति अनुरुप सबै भाषाहरूको संरक्षण एवं संवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यका साथ रेडियो नेपालले बैतडेली भाषामा समाचार प्रसारण सुरु गरेको प्रदेश प्रसारण केन्द्रका प्रमुख दानसिंह ऐरले जानकारी दिए ।
ऐरका अनुसार प्रत्येक दिन दिउँसो ३ः१५ बजे बैतडेली भाषामा समाचार प्रसारण हुनेछ । समाचार बाचनका लागि दुइ जना समाचार बाचक नियुक्त गरिएको उनले बताए । यसअघिदेखि दिपायलबाट डोटेली र रानाथारु भाषामा समाचार प्रसारण भइरहेका छन् ।
आइतबारै रेडियो नेपालले राजवंशी भाषामा समाचार प्रसारण सुरु गरेको छ । तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरबाट दिउँसो १ः४५ बजे राजवंशी भाषाको समाचार प्रसारण सुरु गरेको रेडियो नेपालले जनाएको छ । योसंगै रेडियो नेपालले प्रसारण गर्ने भाषिक समाचारको सङ्ख्या २४ पुगेको छ ।