पाँचौं पटक विष्णु पौडेलको हातमा अर्थको चाबी, यस्ताे छ ट्र्याक रेकर्ड – Nepal Press

पाँचौं पटक विष्णु पौडेलको हातमा अर्थको चाबी, यस्ताे छ ट्र्याक रेकर्ड

पदभार ग्रहण गर्दै भनेः बजेटका कारण सरकारको सोच र दृष्टिकोण कार्यान्वयन रोकिन्न

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णु पौडेल पुनः उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । सोमबार पदभार सम्हालेसँगै अर्थमन्त्रालयमा उनको पाँचौं पटकको प्रवेश हो ।

पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्थायी सरकार गठन भएसँगै समाधान हुँदै जाने विश्वास व्यक्त गरे । सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले प्रष्ट पारे । यदि बाधा देखिए कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने पनि उनले सुनाए ।

अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा रहेकाले यो क्षेत्र सन्तुलित ढङ्गले अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताए । पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिनेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

पौडेलको ट्र्याक रेकर्ड

यसअघि पार्टी अध्यक्ष केपी ओलीसँगै उनी तीनपटक अर्थमन्त्री बनेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पनि उनी अर्थमन्त्री बने । २०७२ मा ओली प्रधानमन्त्री बन्दा पहिलोपटक अर्थमन्त्री बनेका थिए थिए पौडेल । ओलीको दोस्रो कार्यकालमा सुरूमा युवराज खतिवडा थिए । खतिवडा बाहिरिएपछि बाहिरिएपछि २०७७ मा पौडेलले नै अर्थ मन्त्रालय सम्हालेका थिए ।

२०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए । सोही कार्यकालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए । ०७९ पुसमा उनी प्रचण्डसँग अर्थमन्त्री भएका थिए । पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए ।

हुन त पौडेल अर्थतन्त्रका विषय विज्ञ होइनन तर पनि उनले दिने अभिव्यक्तिले नै निजी क्षेत्रलाई र लगानीकर्तालाई आत्मविश्वास दिने गरेको लगानीकर्ताहरू बताउँछन् ।

यो पटक पनि कांग्रेस-एमाले गठबन्धनपछि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने सम्भावनाको चर्चासँग पहिले झैँ सबैभन्दा बढी खुसी शेयर लगानीकर्तामा देखिएको छ ।

नेपालको राजनीतिक परिवर्तन, सरकारको नेतृत्व परिवर्तन र त्यसमा पनि विशेषगरी कसले अर्थमन्त्रालय सम्हाल्छ भन्ने विषयको सीधा असर शेयर बजारमा देख्न सकिन्छ ।

शपथमा हस्ताक्षर गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ।

२०७२ सालमा पनि सेयर बजारले उच्च बिन्दु चुम्दा त्यतिबेला विष्णु पौडेलले नै अर्थमन्त्रालयको नेतृत्व सम्हालेका थिए । सरकारको नेतृत्व केपी ओलीले गरेका थिए । शेयर बजारप्रति सकारात्मक मानिएका विष्णु पौडेलकै पालामा बजारले पनि नयाँ रेकर्ड बनाइरह्यो । त्यतिबेलै बजारले १८८१ को उच्च विन्दु चुम्न सकेको हो ।

लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए । प्रचण्ड २०६५ मा पहिलोपटक प्रधानमन्त्री बन्दा सोही मन्त्रिपरिषद्को सदस्य थिए पौडेल । उनी त्यतिबेला जलस्रोत मन्त्री भएका थिए ।

६४ वर्षीय पौडेल एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा महासचिव थिए । ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरू गरेका पौडेल २०४७ मै एमालेको केन्द्रीय सदस्य बनेका थिए । थोरै नेताहरू निरन्तर एकै क्षेत्रबाट जितिरहँदा रुपन्देहीबाट लगातार चौथोपटक जितेर उनले रेकर्ड कायम राखेका छन् ।

पौडेल २०५१ को प्रतिनिधिसभा निर्वाचनमा पाल्पा ३ बाट निर्वाचित भएका थिए । त्यस्तै, २०६४ र २०७० को संविधानसभा निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट निर्वाचित भएका थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ मा पराजित भएका थिए । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १०, राङखोला, डिहिकुना जन्मिएका पौडेल बुटवल हुँदै अहिले ललितपुर महानगरपालिका २५, सैवु आवासमा बसोबास गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर