कांग्रेस-एमालेकै समर्थनमा मधेशमा मुख्यमन्त्री पाएको जनमत यसकारण ओली सरकारमा गएन
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रको सरकारमा नगए पनि आफ्नो समर्थन कायमै रहेको जनाएको छ । प्रधानमन्त्री ओलीले कांग्रेस, एमाले, जसपा र लोसपालाई समेटेर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिए ।
तर, कांग्रेस एमालेकै समर्थनमा मधेश सरकारको नेतृत्व गरिरहेको जनमत सरकारमा सामेल भएन । मधेशमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्रीमा छन् ।
आफूहरूको प्राथमिकता मधेश सरकार नै भएकाले केन्द्र सरकारमा नगएको प्रवक्ता डा. सरदसिंह यादवले बताए ।
उनले भने, ‘हामीले सुरूदेखि नै मधेश सरकारको नेतृत्वलाई प्राथमिकता दिएका छौं । उहाँहरूकै समर्थनमा हामीले मधेशमा सरकारको नेतृत्व पाएका छौं । त्यसैले हामी केन्द्रमा सहभागी नभएपनि यो गठबन्धनलाई समर्थन जारी राख्छौं ।’
उनले केन्द्रमा सरकारमा आउन आफूहरूलाई प्रस्ताव आएको भएपनि इच्छा नदेखाएको सुनाए । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि जनमत सहभागी भएको थिएन ।