नवगठित सरकारप्रति रास्वपा सांसदहरु आक्रामक, कांग्रेस-एमालेको सम्झौता सार्वजनिक गर्न माग (भिडिओ) – Nepal Press

नवगठित सरकारप्रति रास्वपा सांसदहरु आक्रामक, कांग्रेस-एमालेको सम्झौता सार्वजनिक गर्न माग (भिडिओ)

काठमाडौं । नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारमाथि रास्वपाले प्रश्नै प्रश्न उठाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सोविता गौतमले दुई ठूला दल मिलेर गरेको सम्झौता सार्वजनिक गर्न माग गरिन् ।

उनले भने, ‘दुई ठूला दल मिल्ने सामान्य विषय होइन, यो सम्झौता किन र कसरी भयो ? त्यो सम्झौता पारदर्शी होस्, सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? अहिलेको मन्त्रिपरिषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व देखिएको छैन । दलितको प्रतिनिधित्व शून्य छ । यो सरकारले स्वार्थको द्पन्द्वलाई कसरी हेरेको छ? कतिको संवेदनशील भएको छ ?’

उनले नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र रजगजबारे सरकारको धारणा के छ ? त्यसबारे प्रष्ट पार्न माग गरिन् ।

उनले थपिन्, ‘भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानकिनमा पनि नाम आएका मन्त्रीबाट हामीले सुशासनको अपेक्षा कसरी गर्ने ? मैले भनेका छु हामी सुशासनको मुद्दामा सरकारलाई सहयोग गर्न चाहन्छौं । तर, प्रारम्भ मै मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।’

उनले सुशासनको मुद्दामा आफ्नो पार्टी पहिलाजस्तो नै खरो उत्रिने बताइन् ।

त्यस्तै, सांसद तोषिमा कार्कीले दुई ठूला दल मिलेर गठित सरकारमा महिलाको समावेशिता यथेष्ठ नभएको भन्दै आलोचना गरेकी छन् भने दलित समुदायको प्रतिनिधित्व नभएकोप्रति प्रश्न गरेकी छन् । ‘दुई ठूला दलको सरकारमा समावेशिता, सहभागीताको कुरा नारा मात्रै हो ? नत्र खोइ सहभागिता ?’, भन्दै कार्कीले प्रश्न गरेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर