परिवारभित्रै असुरक्षित भइन् किशोरी ! महानगरद्वारा बाबुविरुद्ध मुद्दा दर्ता – Nepal Press

परिवारभित्रै असुरक्षित भइन् किशोरी ! महानगरद्वारा बाबुविरुद्ध मुद्दा दर्ता

आमालाई भन्दा उल्टै गाली गर्ने गरेकाे किशाेरीकाे बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयमा असारको पहिलो साता एउटा सूचना आयो, ‘खुशीबुँमा परिवारसँग बसिरहेकी किशोरीलाई उनका बुबाले लामो समयदेखि याैनशाेषण गरिरहेका छन् र वेश्यावृत्तिमा लगाइरहेका छन् ।’ सचिवालयमा कार्यरत धिरज जोशीले बालअधिकार समितिलाई खबर गरे ।

समितिले नगर प्रहरी र प्रहरी वृत्त लैनचोरको समन्वयमा पीडित भनिएकी १७ वर्षीया किशोरी नविना (नाम परिवर्तन)लाई उद्धार गर्यो । प्रहरीले आरोपी बुबा कमल (नाम परिवर्तन)लाई नियन्त्रणमा लियो ।

नविना बुबा आमा तथा बहिनी र भाइसहित ५ जनाको परिवारमा डेरामा बस्दै आएकी थिइन् । परिवारको जेठी सन्तान उनी प्लस टुको नतिजा कुरिरहेकी विधार्थी हुन् । उनका अनुसार कक्षा ४ मा पढ्दा बाबुले पहिलोपटक उनलाई बलात्कार गरेका थिए ।

‘त्यतिबेला तिमी ठीक छौ कि छैनौँ भनेर मैले चेक गरेको’ भनेर कमलले बताएको नविनाको भनाइ छ । कक्षा ८ मा अध्ययन गर्दा प्लेन चढाउँछु भन्दै स्याङ्जामा लगेर होटलमा राखी बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छन् ।

‘भोलिपल्ट औषधी खान दिनु भयो । साँझ अर्का व्यक्तिलाई मसँग सुताए । पर्सिपल्ट फेरि औषधी खुवाउनु भयो’, किशोरीको बयान छ । कक्षा १० मा अध्ययन गर्दा बाबुले आफुलाई आँखामा पट्टी लगाई ट्याक्सीमा राखेर होटल पुर्याएको र त्यहाँ ५/६ जनाले बलात्कार गरेको पनि उनले प्रहरीलाई बताएकी छन् । ‘त्यहाँ मेरो पालो आयो भन्दै बुबासमेत झम्टिनु भयो’, किशोरी भन्छिन् ।

त्यसयता बुबाले यौन व्यवसाय गर्न विभिन्न स्थानमा लैजाने गरेको किशोरीले भनेकी छन् । ‘एक दिन शौचालयमा रक्ताम्ये अवस्थामा नवजात शिशु देखेपछि म डराउने, एन्जाइटी हुने र निन्द्रा नलाग्नेजस्ता समस्याहरु देखिन थाले’, उनको बयानमा उल्लेख छ ।

त्यही कारण आफुलाई उपचारका लागि भारतसम्म लगिएको र पछिल्लो समय ग्रान्डी अस्पतालमा उपचार गराइराखिएको उनले प्रहरीलाई बताएकी छन् । यहीबीचमा गत फागुनको अन्त्यतिर कमलले आफुलाई मोटरसाइकलमा राखेर गौशालामा लगेर दुई जनालाई जिम्मा लगाएको र उनीहरुले होटलमा लगेर बलात्कार गरेको उनले बयानका क्रममा उल्लेख गरेकी छन् ।

पछिल्लोपटक असारको पहिलो साता कमलले आफु सुतिरहेको ठाउँमा आएर साँझ बलात्कार गरेको किशोरीको भनाइ छ । घटनाबारे आमालाई सबै थाहा हुँदा पनि उल्टै आफुलाई गाली गर्ने गरेको उनको बयान छ ।

किशोरीका बुबा कमलले भने आरोप अस्वीकार गरेका छन् । पछिल्लोपटक घटना भएको भनिएको दिनमा छोरी दिनभर हराएर साँझ मात्र कोठा आएको र त्यसक्रममा आफुले ३/४ झापड हानेको बयान दिएका छन् ।

होहल्ला भएपछि घरबेटीसमेतले आएर सम्झाएको र सोही क्रममा नविनाले आफूमाथि गम्भीर आरोप लगाएको उनको भनाइ छ । केटाहरु फेर्दै हिँड्ने बानीका कारण आफुले बारम्बार सम्झाउने गरेको उनले प्रहरीलाई बताएका छन् । कमलविरुद्ध अदालतमा अभियोगपत्र दायर भइसकेको छ ।

काठमाडौं महानगरले पछिल्लो झन्डै डेढ महिनामा बलात्कारको उजुरीपछि बालिकाको उद्धार गरेको यो तेस्रो घटना हो । यसअघि नेपाल प्रहरीका निरीक्षक विधुर सिवाकोटी घरेलु कामदारका रुपमा राखिएकी बालिकाले महानगरलाई खबर गरेपछि पक्राउ परेका थिए । यस्तै, एक इन्जिनियरमाथि पनि यस्तै आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरले गत वैशाखदेखि बाल अधिकार समिति गठन गरेर काम गरिरहेको छ । उपमेयर सुनिता डंगोलको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिले बाल श्रम र शोषणविरुद्ध आएका उजुरीमा उद्धार र कारबाहीको काम गरिरहेको छ । बालेनका सचिवालय सदस्य जोशीले हालसम्म ४५ जना बालबालिकालाई उद्धार गरिएको बताए ।

उनले बाल अधिकार समितिले महानगरपालिकाभित्र ४० जनाको टीम बनाएर काम गरिरहेको बताए । ‘उनीहरुले बाल श्रम तथा शोषणाबारे स्थानीय क्षेत्रमा गएर बुझ्ने र रिपोर्ट गर्ने काम गर्छन्’, उनले भने

सिंहदरबार भित्रबाट ४ जना बालबालिकाको उद्धार, सांसदकै घरमा बाल श्रमिक

महानगरको बाल अधिकार समितिले मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार भित्रबाट बाल श्रम तथा शोषणको उजुरीपछि ४ जना बालबालिकाको उद्धार गरेको छ । जोशीका अनुसार उनीहरुलाई बाल अधिकारविपरितका गतिविधिमा काम गराइ राखिएको पाइएपछि उद्धार गरिएको हो । यस्तै, एक प्रदेश सांसदको घरमा काम गर्न राखिएकी बालिकाको पनि उद्धार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर