लमहीको आर्थिक ऐन अधुरो- मेयर, उपमेयरले मनमोजी खर्च गर्न पाउने बजेटले पनि मिलेन कुरो – Nepal Press

लमहीको आर्थिक ऐन अधुरो- मेयर, उपमेयरले मनमोजी खर्च गर्न पाउने बजेटले पनि मिलेन कुरो

रुपन्देही । नेपाली कांग्रेसबाट ९९ प्रतिशत जनप्रतिनिधि निर्वाचित दाङको लमही नगरपालिकामा मेयर-उपमेयरबीचको विवादले आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन रोकिएको छ । नयाँ आर्थिक वर्ष सुरू भएपनि यो ऐन पास हुन नसक्दा सबै सेवा प्रभावित भएको हो ।

दाङका सबै स्थानीय तहमा बजेट कार्यान्वयनमा गएको छ । ऐन पास नहुँदा नगरपालिकाले नयाँ कर लिन र खर्च गर्न नपाएपछि नगरका साथै वडाबाट प्रवाह गरिने धेरै सेवा प्रभावित बनेका हुन् । सेवाग्राहीले काम नभएर फर्कनुपरेको भन्दै सामाजिक सञ्जालबाट आलोचना गर्न थालेका छन् । असार १० गते उपमेयर लक्ष्मी योगी अनुपस्थित भइदिएपछि मेयरले ३ नम्बर वडाका अध्यक्ष मनोज चौधरीलाई बजेट प्रस्तुत गर्न लगाएका थिए ।

नेपाल प्रेससँग कुरा गर्दै उपमेयर लक्ष्मी योगीले बजेट ल्याउने बेलादेखि नै केही असमझदारी भएको स्वीकार गरेकी छन् ।

‘केही समस्या थियो, बजेट ल्याउने बेला पनि यो विवाद मिलाएर जाऔं भनेको हुँ भएन, अहिले केही दिनलाई रोकिएको छ, केही वडाध्यक्षहरु बाहिर जानुभएको छ, उहाँहरू आएपछि हामी समाधानको उपाय निकाल्छौं’, उनले भनिन् ।

असार मसान्तभित्र आर्थिक ऐन पास गरिसक्नुपर्ने भएपनि आन्तरिक विवादका कारण यो ऐन पास हुन नसक्दा समस्या बढेको वडाध्यक्षहरूको भनाइ छ । मेयर जोगराज चौधरी र उपमेयर लक्ष्मी योगी तथा वडाध्यक्षबीच नयाँ बजेट सिलिङका विषयमा विवाद समाधान भएको छैन । नयाँ बजेट ल्याउने समयमा यी तीन वटै समूहलाई मिलाउने गरी जनतासँग मेयर कार्यक्रमका लागि ६५ लाख, जनतासँग उपमेयरका लागि ५५ लाख र सबै वडामा दामासाहीले ७८ लाख रकम विनियोजन गरिएको थियो । तर, यति गर्दा पनि समस्या समाधान भएन ।

मेयर चौधरी नयाँ ऐन तत्कालै पास गर्ने तयारी भइरहेको बताउँछन् ।

‘केही दिनभित्रै ऐन बन्छ । त्यसपछि बैठक बसेर पास गर्छौं, केही समस्या समाधानका क्रममा छन्’, उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले विषयगत समितिको बैठक नबस्दा नयाँ आर्थिक ऐन पास हुन नसकेको बताए ।

‘अहिले तयारी भइरहेको छ । सायद एक-दुई दिनमा यो समस्या समाधान होला,’ उनले भने ।

स्थानीय विश्व अधिकारी जनप्रतिनिधि जन उत्तरदायी नहुने हो भने ९९.९९ प्रतिशत बहुमत लिएको पार्टीले पनि जनताको कुनै काम गर्न नसक्दो रहेछ भन्ने उदाहरण लमही बनेको टिप्पणी गरे । स्थानीय नारायण छम्पालीले नगरपालिकाले कर लिन छाडेको र अन्य सेवा पनि रोकेर समस्या परेको सुनाए ।

‘हिजो पनि नगरपालिका गइयो, कर पनि लिँदैनन् सेवा पनि दिँदैनन्, आर्थिक ऐन पास नभएकाले सबै सफ्टवेयरले काम गरेको छैन भन्छन् कर्मचारी’, उनले भने ।

नगर र वडामा धेरै काम रोकिएपछि अहिले धेरै वडाका अध्यक्ष अहिले घुम्न निस्किएका छन् । उपमेयर लक्ष्मी योगीले आफू अहिले नगरपालिकामा रहेको र ४ वटा वडाका वडाध्यक्ष बाहिर गएकाले बैठक बस्न नसकेको बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर